आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
बाबुरामलाई बाह्र प्रश्न

महराबारे बाबुराम : आफूले पालेको खसी काट्नु कुन ठुलो कुरा भयो ?

‘रविको ठाउँमा म भएको भए खुला रूपमा छानबिन गरियोस् भनेर भन्थेँ’
बुधबार, ०७ चैत २०८०, १८ : ४१
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीमा जान चाहेकाहरूलाई आफूले कारबाही नगर्ने बताएका छन् । अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरूले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टराईले त्यसबारे जानकारी गराएका हुन् । 

माओवादीसँग सहमति गरेपछि भट्टराई पक्षले बैठक राखेर राय पक्षलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । त्यही बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ७० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्य आफूहरूसँग रहेको दाबी गरे ।

‘केही समययता हाम्रा केही साथीहरू आन्दोलनमा थाक्नुभयो जस्तो छ । त्यसले गर्दा यात्रामा हिँड्नुभन्दा चौतारामा बसौँ, छिमेकीको घरमा गएर मिठो खाना खाऔँ भन्ने जस्तो यात्रीलाई अनुभूत हुन्छ,’ उनले भने, ‘त्यस्तै भएर साथीहरूले माओवादी प्रवेश गर्न खोज्नु भयो । त्यसलाई हामीले अन्यथा मान्ने कुरा भएन । त्यो त निरन्तर चल्छ ।’

नेता भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा केही मान्छे पार्टी प्रवेश भएको कुरालाई पार्टी मर्ज भएको ढङ्गले वक्तव्य आएकोमा भने आफू आश्चर्यचकित भएको बताए । ‘७० प्रतिशत केन्द्रीय समिति र दुई तिहाइ कार्यकारिणी समितिले माओवादीसँग पार्टी एकता नगर्ने निर्णय गरेका छौँ । पार्टी एकता भनेर भ्रमपूर्ण र जाली प्रचार गरियो,’ भट्टराईले भने, ‘कोही साथी कुनै पार्टीमा जान चाहनुहुन्छ भने फूलमाला लगाएर पठाउने नयाँ संस्कार बसाउन चाहन्छौँ । यसलाई हामीले ठुलो विषय मानेका होइनौँ ।’

भट्टराईले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने भन्दै त्यसका लागि व्यापक जनदबाब सिर्जना गरेर संविधान संशोधन गर्नुपर्नेमा समेत जोड दिए ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले नेता भट्टराईसँग पार्टी विभाजन र पछिल्लो राजनीतिक घटनाक्रमबारे थप प्रश्न गरेका छन् । प्रस्तुत छ सञ्चारकर्मीको प्रश्न र भट्टराईले दिएको उत्तर :

baburam

१. माओवादी केन्द्रका नेता महरा समातिएको विषयमा तपाईंको धारणा के छ ?

–व्यक्तिमा केन्द्रित हुनेभन्दा पनि मेरो आग्रह के हो भने एउटा उच्चस्तरीय यस्तो अङ्ग बन्नुपर्छ जसले सबैमाथि छानबिन गरेर स्वतन्त्र निष्पक्ष ढङ्गले कारबाही गर्ने हैसियत राख्नुपर्छ । यहाँ त एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ । आफ्नालाई चोख्याउने अरूलाई फसाउने हो वा के हो थाहा छैन । फेरि साना माछा र ठुला माछा भन्ने कुरा पनि छन् । ठुला माछाको संरक्षणमा साना माछालाई फसाएको मात्रै पनि हुनसक्छ । 

राजनीतिक रूपमा हामीले आफ्ना मित्र र सहयात्रीहरूको संरक्षण गर्नु एउटा पक्ष हो।  तर कानुनी विषयहरू उठिसकेपछि त्यस्ता विषयमा विधिसम्मत ढङ्गले अगाडि बढ्न दिनुपर्छ ।

मलाई यतिबेला के सम्झना आउँछ भने पञ्चायतकालमा एकपटक राजाका एडीसी र तत्कालीन प्रहरी प्रमुख समातिएका थिए । त्यसबेला म पत्रकारितामा पनि रुचि राख्थेँ । त्यसबेला राजेश्वर देवकोटा पञ्चायतको ठुलै नेता हुनुहुन्थ्यो । उहाँको अन्तरवार्ता लिने क्रममा मैले त्यसबारे सोधेको पनि थिएँ । हामी एउटै गाउँका भएकाले पनि मलाई यो कुरा सोध्न सहज थियो । 

त्यसबारे उहाँले भन्नुभयो, ‘बाबु आफूले पालेको खसी काट्नु कुन ठुलो कुरा भयो ?’ राजाको शासनकालमा त्यो भन्दा धेरै बोल्ने कुरा त भएन । त्यसो भएकाले अहिले यी सबै प्रकरणमा पनि आफैँले पालेको खसी काटेर जोगिन खोजेका त होइन्न भन्ने आशङ्का जनतामा जन्माएको छ ।

२. अहिलेका गृहमन्त्रीले ठुला माछा छाड्दिनँ भनेर भनिरहनुभएको छ, । सुशासनमा उहाँबाट केही अपेक्षा गर्ने ठाउँ छ ?

–उहाँहरू (रवि लामिछानेहरू) पनि वैकल्पिक नयाँ शक्तिका रूपमा उदय भइरहनुभएको छ । सुशासनको नारा दिइरहनुभएको छ, अपेक्षा निश्चितै गरिएको छ । रविजी निजी रूपमा मेरा मित्र पनि हुन् । त्यसले उहाँले गर्न सक्नुहोस् भन्ने चाहना त छ । तर मेरो सुझाव छ - फोहोरको थुप्रोमाथि बसेर त्यसैलाई सफा गर्छुभन्दा आफैँ फोहोरमा फस्ने खतरा पनि हुन्छ । त्यसबाट सतर्क रहनुपर्‍यो भन्ने मेरो शुभेच्छा छ ।

यो उपलब्धिको रक्षा गर्न, शान्ति प्रक्रियालगायतका विषय टुङ्ग्याउनका निम्ति दलहरूकाबिचमा बेलाबखतमा सहकार्य गर्नुपर्छ भनेर उहाँहरूलाई सघाएको मात्रै हो । तर उहाँहरूसँगै फर्केर मर्ज गर्ने र एकता गर्ने हाम्रो मनसाय पनि छैन ।

३.तपाईं अहिले संसद्मा नभए पनि जिम्मेवार दलको अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत हुनुहुन्छ । संसद्मा अहिले प्रतिपक्षले गृहमन्त्रीको राजीनामा र उहाँमाथि छानबिनको माग गरिरहेको छ । उहाँमाथि थुप्रै प्रश्न पनि उठेका छन् । तिनै विषय मिलाउन लामिछाने गृहमन्त्री भएको भन्ने पनि छ । यस्तो अवस्थामा गृहमन्त्री र प्रतिपक्षलाई के भन्न चाहनुहुन्छ ?

–विधिको शासन सबैले पालना गर्नुपर्छ । कानुन र नियम बनाउने अनि अरूलाई लागु गर्ने मलाई लागु नहुने भन्ने हुँदैन । जहाँसम्म संसदीय छानबिन आदिको कुरा छ, यो त्यति ठुलो विषय नहुनुपर्ने हो, संसद्ले नै छानबिन गर्न चाहन्छ भने । यदि म भएको भए खुला रूपमा छानबिन गरियोस् भनेर भन्थेँ जस्तो मलाई लाग्छ ।

४. प्रधानमन्त्रीले रवि लामिछानेलाई क्लिनचिट दिनुभयो । सत्ता बचाऊ गर्नु एउटा पाटो होला तर कानुनी र नैतिक रूपमा अनुसन्धान प्रभावित हुन्छ कि हुँदैन ?

–राजनीतिक रूपमा हामीले आफ्ना मित्र र सहयात्रीहरूको संरक्षण गर्नु एउटा पक्ष हो।  तर कानुनी विषयहरू उठिसकेपछि त्यस्ता विषयमा विधिसम्मत ढङ्गले अगाडि बढ्न दिनुपर्छ । जिम्मेवारी बोकेका मानिसहरूले यस्ता विषयमा नबोल्नु नै बढी राम्रो होला ।

५. तपाईंकै पार्टीको कुरा गरौँ । नयाँ शक्ति गठन गर्दा जुन उत्साह थियो, अहिले त्यो भएन र अब त्यसैगरी अघि बढ्ने पनि भन्नुभयो । त्यसका लागि आगामी योजना केके छन् र दलहरूसँगको सहकार्य कसरी गर्नुहुन्छ ?

–हामी नयाँ अग्रगामी वैकल्पिक शक्ति बन्न चाहन्छु । कतिपयले त नयाँका नाममा पुरानो यात्रामै फर्कने कुरा गर्छन्, त्यो त नयाँ हुन सक्दैन । त्यसैले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर नेपालको संविधानले जो निर्देशित गरेको छ – लोकतन्त्रमा आधारित समाजवाद र समाजवादउन्मुख स्वतन्त्र र उन्नत अर्थतन्त्र भन्ने वाक्यलाई नै आत्मसात् गर्दै कार्यान्वयन गर्ने शक्ति निर्माण गर्न खोजेको हो । त्यो युगको आवश्यकता पनि हो । हामी त्यही दिशामा जान्छौँ । 

यो उपलब्धिको रक्षा गर्न, शान्ति प्रक्रियालगायतका विषय टुङ्ग्याउनका निम्ति दलहरूकाबिचमा बेलाबखतमा सहकार्य गर्नुपर्छ भनेर उहाँहरूलाई सघाएको मात्रै हो । तर उहाँहरूसँगै फर्केर मर्ज गर्ने र एकता गर्ने हाम्रो मनसाय पनि छैन । त्यसबारे न लिखत छ न केही छ त्यो सत्य थिएन । तर जनतामा त भ्रम पर्‍यो । बोल्नेकै पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेजस्तै भएको मात्र हो । किनभने उहाँहरू ठुला दलले भनेको सबै कुरा क्षम्य हुने र हाम्रा कुरा लुक्ने जुन भयो, त्यसले भ्रम पर्न गयो । त्यसकारण अब हामी उहाँहरूको संसर्गबाट अलग रहनुपर्छ र आफ्नै बाटोमा अघि बढ्नुपर्छ । जो वैकल्पिक नयाँ उदयमान शक्तिहरू छन् तिनीहरूलाई पनि वैचारिक ढङ्गले दिशाबोध र सहकार्य गर्न कोसिस गर्नुपर्छ । उहाँहरूका कतिपय अस्पष्टताहरू देखिन्छन् सँगसँगै हामी आफै चुम्बकीय केन्द्र बन्नुपर्छ र देशलाई विकसित बनाउनुपर्छ ।

६. यहाँले अगाडि भन्नुभयो नि प्रचण्डबाट धोका पाएँ ?

–मैले धोका पाएँ भनेको छैन । उहाँले आफ्नो काम गरेर धर्म निर्वाह गर्नुभएको छ । हामीले हाम्रो काम गरेर धर्म निर्वाह गरिरहेका छौँ ।

वैकल्पिक शक्ति भनेको पुराना शक्तिसँग जोडिएर बन्ने होइन । यो ठुलो भ्रम छ ।

७. आफ्नै निर्वाचन क्षेत्र (गोरखा-२) दिनुभयो । पार्टी एकताका लागि वार्ता कमिटी बनाउनु भएको थियो । त्यो किन गर्नुभएको थियो ? माओवादीको चुनाव चिन्हमा लड्दा पछि माओवादीकै सांसदका रूपमा रहन्छ भन्ने तपाईंलाई थाहा थिएन ? वा एकता भइहाल्छ भन्ने आत्मविश्वासले त्यो गर्नु भएको ?

–माओवादीसँग मात्र एकता भनेर हामीले कहीँ पनि भनेको छैन । वृहत् समाजवादी ध्रुवीकरण भनेका छौँ । उहाँ (प्रचण्ड) कम्युनिस्ट पार्टी विघटन गरेर नयाँ ढङ्गको समाजवादी ध्रुवीकरण गर्न तयार हुनुहुन्छ भने त्यो बेला सोच्न सकिन्छ भन्ने हो । हामीले दस्ताबेजमा समाजवादी ध्रुवीकरण भनेका छौँ । पार्टी एकता भनेका छैनौँ । जहाँसम्म साझा चुनाव चिह्नको कुरा छ । त्यो दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर लड्न सक्छ भन्ने प्रावधान छ । हाम्रो स्वतन्त्र अस्तित्व छ । त्यहाँ संविधान र कानुनका कतिपय प्रावधान बाझिएको बुझिन्छ । त्यसबारे न्याय निरूपण पनि होला । माओवादीको चुनाव चिह्न लिएर मर्ज भएको भन्ने नै होइन । हामी स्वतन्त्र छौँ, स्वतन्त्र रहनेछौँ । हामी वैकल्पिक बाटोमा अगाडि बढ्छौँ ।

८. नेसपालाई वैकल्पिक शक्तिका रूपमा अगाडि बढाउँछौँ भन्नुभएको छ । तपाईं माओवादी छोडेर ८ वर्ष अगाडि जुन ठाउँमा हुनुहुन्थ्यो । त्यही ठाउँमा फर्किनु भएको छ । वैकल्पिक शक्तिका लागि संसद्मा हस्तक्षेपकारी भूमिका चाहिन्छ, त्यो तपाईहरूसँग छैन । वैकल्पिक शक्ति बनाउन ठुलो जनमत चाहिन्छ । तपाईंसँग आधार के छ ?

–वैकल्पिक शक्ति भनेको पुराना शक्तिसँग जोडिएर बन्ने होइन । यो ठुलो भ्रम छ । जनताको बिचमा गएर, जनतालाई सङ्गठित गरेर हाम्रो एजेण्डामा उहाँहरूलाई ल्याएर जनताको अभिमत लिएर कार्यान्वयन गर्ने हाम्रो कार्यदिशा हो । पुराना शक्तिसँग भागबण्डा गर्ने हामीले कहिल्यै भनेका छैनौँ । हामीले बेलाबखत गरेको चुनावी तालमेलले हामी वैकल्पिक हौ कि होइनौँ भन्ने भ्रम पर्न गयो । त्यसको समीक्षा गरेर हामी पुराना शक्तिसँग संसर्ग गर्ने होइन । कांग्रेस र कम्युनिस्टभन्दा अगाडि बढेको समुन्नत समाजवादी भनेर भनिराखेका छौँ । तेस्रो धारको आधारमा वैचारिक ढङ्गले अगाडि बढ्छौँ । व्यवहारिक ढङ्गले आम जनताका मुद्दा केही  हल भएका छैनन् । कृषि प्रधान देशमा वैज्ञानिक भूमिसुधार केही पनि भएको छैन । साना व्यवसायी र मिटरब्याजीका वर्षौँदेखिका समस्या छन् । उद्योग धन्दा चौपट भए । अहिले कृषिजन्य पदार्थ समेत हामीले आयात गर्नु परिराखेको छ । प्रत्येक वर्ष रोजगारीका लागि विदेश जना मान्छे बाध्य भएका छन् । यो समस्या हल गर्नका लागि हामीले संस्थागत ढङ्गले परिवर्तन गर्नुपर्छ ।

मैले साथीहरू तपाईं जानुहोस् । तपाईंहरूको सांसद पद खोस्ने मामिलामा हामी लाग्दैनौँ । मैले प्रचण्डजीलाई पनि म्यासेज गरेको छु । लौन उहाँहरूले मरिहत्ते गरिराख्नु भएको छ । भित्र्याउनुहोस् उहाँलाई भनेर ।

मान्छे मात्रै परिवर्तन गरेर हुँदैन, दल मात्र परिवर्तन गरेर हुँदैन । राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानैपर्छ । त्यसका लागि व्यापक जनदबाब सिर्जना गरेर संविधान संशोधन गर्नुपर्छ । अर्को भ्रष्टाचारलाई अंश अंश गरेर होइन । संस्थागत ढङ्गले नै भ्रष्टाचार निर्मूल गर्नुपर्छ । हाम्रो अर्थतन्त्रको रक्षाका लागि स्वदेशी पुजी परिचालन र बजार सुरक्षाका लागि भारतसँगको खुला सीमाका समस्या छन् । ईपीजीमार्फत त्यसको सम्बोधन गरेर राष्ट्रिय अर्थतन्त्र विकास गरेर जानुपर्छ । यी आधारभूत कुरा हामीले भनिराखेका छौँ । कुनै पनि पार्टीले गरेर देखाएका छैनन् । यसै आधारमा हामी अरूभन्दा फरक छौँ । यी मुद्दा लिएर जनताको माझमा जान्छु । स्थापित हुन्छौँ । वैकल्पिक शक्ति बन्छ भन्ने पुरा विश्वास छ ।

९. तपाईंहरूबाट छुट्टिएर (महेन्द्र यादव पक्ष) माओवादी केन्द्रमा समाहित हुन लागेको छ । उहाँहरूले तपाईंलाई अध्यक्षबाट हटाउने भनेर हस्ताक्षर अभियान चलाइराखेको अवस्था छ । यो विषयमा तपाईं के भन्नुहुन्छ ?

–उहाँहरूलाई जान हामीले रोकेकै छैन । उहाँहरू सिधै अर्काको पार्टीमा जाने भन्दै हुनुहुन्छ । सम्झौता पनि गरिसक्नुभएको छ । यहाँ हस्तक्षेप किन गर्नु ? यो पार्टीलाई नै किन लानुपर्‍यो उहाँहरूले ? उहाँहरू आफू गए त भइहाल्यो नि । हिसाब गर्दा त ७० प्रतिशत कार्यकारिणी सदस्य हामीसँग छन् । उहाँलाई ४० प्रतिशतको समस्या परेको हो । अहिले त्यो कानुन पनि छैन । उहाँले लिङ्गरिङ गरेर थकाउने, गलाउने काम गर्न खोज्नुभएको छ । त्यसो नगर्नुहोस् भन्न चाहन्छु । मैले साथीहरू तपाईं जानुहोस् । तपाईंहरूको सांसद पद खोस्ने मामिलामा हामी लाग्दैनौँ । मैले प्रचण्डजीलाई पनि म्यासेज गरेको छु । लौन उहाँहरूले मरिहत्ते गरिराख्नु भएको छ । भित्र्याउनुहोस् उहाँलाई भनेर । किन यस्तो रडाको गरेको भनेर भनेको छु । सक्नुहुन्छ हामीलाई साथ दिनुहोस् भन्ने आग्रह हो । सक्नुहुन्न स–सम्मान जानुहोस् । राजनीतिमा रडाको गर्नुहुन्न । हामी उहाँहरूसँग दन्तबझान गरेर मुद्दा मामिला गरेर बस्ने पक्षमा छैनौँ ।

१०. त्यसो भए (महेन्द्र यादव पक्ष) उहाँहरू पार्टी प्रवेश गर्न लाग्नु भएको हो । एकता गर्नु लाग्नुभएको होइन ?

–पार्टी प्रवेश गर्दा सांसद पद जान्छ कि भन्ने डर लागेको होला । हामी खोस्दैनौँ भनिराखेका छौँ । उहाँहरू गए भयो त ।

११. तपाईंले पटक–पटक पार्टी पुनर्जागरण गर्दै नयाँ नयाँ मान्छे सँग जोडिने, एकता गर्ने गर्दा पटक पटक धोका पाउनु भयो फेरि पनि एक्लिनु भयो हैन ?

–एक्लिनु, दोक्लिनु भन्दा पनि सत्य र न्यायको पक्षधरता हो कि होइन भन्ने कुरा प्रमुख हो । कहिले कहाँ सत्य र न्याय सानो सङ्ख्यामा देखिन्छ । अन्ततः जित त्यसैको हुन्छ । हामीले जुन राष्ट्रिय मुद्दा उठाएका छौँ, जनताका मुद्दा उठाएका छौँ । ती सही छन् । तीनको पक्षमा दृढतापूर्वक उभिएर जनताको सेवा गर्ने बाहेकको उद्देश्य छैन । हामी कति पनि निरुत्साहित छैनौँ ।

१२. तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिकोत्सवमा गएर नयाँ पार्टीबाट प्रधानमन्त्री बन्छ भन्नु भएको थियो । २०८४ सालमा प्रधानमन्त्री देख्न सक्नुहुन्छ ?

–८४ सालसम्म जान अझै तीन वर्ष बाँकी छ । पुराना शक्तिहरू यस्तै भ्रष्टाचार काण्डमा मुछिराख्ने, पुराना गल्तीबाट नसिक्ने, देशबाट युवा पलायन हुँदै जाने, आर्थिक अवस्था जन जर्जर हुने भइराख्यो भने जनताले विकल्प खोज्छ । त्यो भनेको नयाँ शक्ति नै हो । यो हुन्छ त मैले भनेको छैन । तर, पुराना शक्ति चाहिँ हुँदैनन् । नयाँ शक्तिको उदय हुन्छ । त्यो ठाउँ लिने प्रयास स्वतः हाम्रो हुन्छ । किनभने हाम्रो वैचारिक नीति र कार्यक्रम छ । त्यसको वरिपरि अरू शक्तिलाई गोलबद्ध गरेर वृहत् वैकल्पिक मोर्चा बनाएर जान सक्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप