सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलारीको एम्बुलेन्स बिग्रियो, मर्मत नहुँदा स्थानीय मर्कामा

बिहीबार, ०८ चैत २०८०, १२ : १९
बिहीबार, ०८ चैत २०८०

धनगढी  । कैलालीको कैलारी गाउँपालिकामा सञ्चालित एम्बुलेन्स बिग्रिएकोले करिब एक महिनादेखि थन्किएको छ । पालिकाको हसुलिया स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्स बिग्रिँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । सो स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउने महिलाहरू झनै समस्या परेका हुन् ।

केही दिन अगाडि मात्रै गाउँपालिकाको वडा नं १ की एक महिलाले समयमा एम्बुलेन्स नपाउँदा बाटोमै बच्चा जन्माइन् । एम्बुलेन्सको लागि खबर गर्दा एम्बुलेन्स नपुग्दा अन्य सवारी प्रयोग गरी स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै बच्चा जन्माएपछि स्वास्थ्य चौकी लगिएको जनाइएको छ ।

स्वास्थ्य चौकी प्रमुख पुष्पराज उपाध्यायका अनुसार सो स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टरको रूपमा लिइन्छ । जहाँ वडा नं. १, ३ र ४ का महिलाहरू सुत्केरी गराउँछन् । तर समयमा एम्बुलेन्स सेवा नपाउँदा बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता आइलागेको बताए ।

एम्बुलेन्स ८ वर्ष पुरानो भएको तर मर्मत सम्भार गर्न स्वास्थ्य चौकीसँग आर्थिक स्रोतको अभाव भएकोले मर्मत गराउन नसकेको स्वास्थ्य चौकी प्रमुख उपाध्यायले बताए । तर मर्मत सम्भारको लागि गाउँपालिकासँग समन्वय गरे पनि काम हुन नसकेको उनको भनाइ छ ।

स्वास्थ्य चौकी प्रमुख उपाध्यायले फागुन १२ गतेदेखि एम्बुलेन्स चल्न नसकेको बताउँदै फागुन १३ गते नै पालिकालाई मर्मतको लागि पत्राचार गरेको र पटक–पटक पालिका प्रमुखसँग पनि समन्वय गर्दै आएको भए पनि कुनै सुनुवाइ नभएको रातोपाटीलाई बताए ।

कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले एम्बुलेन्स बिग्रेको जानकारी आफूहरू कहाँ आएको बताउँदै संघीय सरकारले पालिकाको ४५ प्रतिशत बजेट कटौती गर्दा मर्मत सम्भारमा समस्या भएको बताए । एम्बुलेन्स सञ्चालक समितिले पनि सुरुदेखि व्यवस्थित ढङ्गले सञ्चालन नगर्दा त्यसबाट आउने राजश्वको लेखाजोखा नभएकोले हाल समस्या आए पनि आफूले सञ्चालनको लागि छलफल गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप