सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपा भन्छ - राजेन्द्र महतोको बारेमा कुनै निर्णय गरिरहन परेन

बिहीबार, ०८ चैत २०८०, १२ : ५१
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समिति बैठकबाट वरिष्ठ नेता राजेन्द्र महतोको बारेमा कुनै निर्णय गरेन । महोत्तरीमा दुई दिनसम्म चलेको बैठकमा यसबारे छलफल भए पनि महतो आफैँ पार्टी छाडेर गइसकेका कारण यसबारे थप निर्णय गरिरहन नपर्ने ठहर गरिएको सहभागी स्रोतले बतायो ।

महतोले लोसपाबाट विद्रोह गरेर बहुल राष्ट्र निर्माणका लागि राष्ट्रिय मुक्ति क्रान्ति सुरु गरिसकेका छन् । केही अघि महतोले पत्रकार सम्मेलन गर्दै आफू लोसपामा नरहेको घोषणा पनि गरिसकेका थिए । यद्यपि पार्टीबाट उनले राजीनामा दिएका छैनन् ।

लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलका अनुसार महतोले पार्टी छाडेर गइसकेका कारण उनको बारेमा पार्टीका तर्फबाट कुनै निर्णय गरिरहन आवश्यक नरहेको हो । उनले भने, ‘पार्टी छाडेर गइसकेका व्यक्तिको बारेमा पार्टीले के निर्णय गर्नु ? उहाँ स्वयंले नै आफू पार्टीमा नरहेको भनिसकेपछि पार्टीले केही निर्णय गर्नु परेन । उहाँ जुन अभियानमा हिँड्नु भएको छ, त्यो सफल होस् भन्ने कामना गर्छौँ । त्यसबाहेक अरू केही भन्दैनौँ ।’

महतोको साथमा लोसपाबाट को–को गएका छन् भन्नेबारे नामावली तयार गर्न जिल्ला कमिटीलाई बैठकले निर्देशन दिइसकेको छ । जिल्ला जिल्लाबाट आएको रिपोर्टका आधारमा उनीहरूलाई पार्टीबाट कारबाही गर्ने निर्णय भएको उपाध्यक्ष सोनलले बताए ।

दुई दिनसम्म चलेको बैठकमा लोसपाका नेताहरूले विभिन्न पाँच वटा प्रतिवेदन पेस गरेका थिए । वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पार्टीको राजनीतिक कार्यदिशा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले संगठन सुदृढीकरणको विषयमा तयार गरेको प्रतिवेदन पेस गरेका थिए भने वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णले पार्टीको अन्तरिम विधान संशोधनको बारेमा प्रतिवेदन पेस गरेका थिए ।

अर्का वरिष्ठ उपाध्यक्ष प्रदीपनारायण यादवले भ्रातृ संगठन तथा विभागहरूको सङ्ख्या निर्धारणको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । सुझावका आधारमा संशोधनसहित सबै प्रतिवेदन पारित भएका छन् । पार्टीलाई क्रियाशील बनाउन पालिकादेखि प्रदेश तहसम्म पार्टीको अधिवेशन गर्ने लगायतका विषयमा छलफल भएको छ । पार्टीले विधान अधिवेशन गरेर महाधिवेशनको तयारीमा जुट्ने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष सोनलले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप