शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

अस्ट्रेलियामा जागिरे म

शनिबार, १० चैत २०८०, १३ : ००
शनिबार, १० चैत २०८०

सिधा प्रश्न के काम गर्छौ त अस्ट्रेलियामा ?
स्कुले साथी होस् या कलेजको मित्र, आफन्त या नातेदार
पटक पटक सुनेकै प्रश्न , सहजै  उत्तर दिन्छु  नर्सिङ
थपियो अर्को प्रश्न कुन अस्पताल अनि वार्डमा ?

उत्तरमा हतारिँदै म भन्छु हैन हैन एज्ड केयर नर्सिङ
प्रश्नकर्ता अकमक्क म नि एक छिन मौनतामा घोतल्छु
पेशागत रूपले नर्सिङ, अध्ययनको उपलब्धि को हिसाबले
ब्याचलर अफ नर्सिङ, अस्ट्रेलियन रजिस्टर्ड नर्स

उत्तर बुझाउन भूमिका बाँध्नु पर्ने गहन परिस्थिति
खाँटी कुरा बेजोडको छ, एज्डकेयर नर्सिङ ? प्रश्नकर्ता उत्तरको पर्खाइमा
यो प्रश्न कति सजिलो अनि हलुको तर उत्तर गह्रुङ्गो
आम भाषामा भन्दा विदेशमा अरूको बा आमा स्याहार्ने  काम गर्छु

या भनौँ अस्ट्रेलियन बाआमा स्याहार्ने कम गर्छु चौतर्फी रूपमा

म भूमिका बाँध्दै अघि बढ्छु ,परिस्थिति बेग्लै छ नि बेदेशमा यार
बाल्यकालमा चाइल्डकेयर बुढेसकालमा एज्डकेयर
पारिवारिक आत्मीयता अनि सङ्गठनात्मक व्यवस्थापनको
पश्चिमेली जीवनयापनमा माया अनि आत्मीयताको  विकराल जोड घटाऊ

साथीको उत्तरमा ठट्यौली थियो “डलर छापेकै छौ मोज छ नि यार
पश्चिमेली समाजको गहन कुरा साथीले बुझेन डलर को भाषा मात्र बुझ्यो 
हामी दुवै जोडले हाँस्यौ , थप्न खोजेका मेरा धेरै  कुरा मनभित्रै लुक्यो  
एक छिन बोल्ने सकिन गम्भीर भए , एउटा ठुलो प्रश्न आफैतिर उठ्यो

विदेशमा अरूको बा आमा हेर्दै गर्दा मलाई जन्म दिने
मेरा बा आमालाई मेरै देश मा कसले हेरिदिन्छ बिरामी पर्दा ?
यता अरूको बाआमालाई समयमा ओखतीमुलो गर्दा
आफ्नै  बिरामी आमालाई खुवाउन बुढो हुन लागेको बा अघि सर्नुपर्दा

कामका बाआमालाई हाउ आर यू ? इज एभ्रिथिङ ओके ?
भनेर स्नेह भावले हात समाउँदा, आफ्नो बाआमालाई
नदेखेको अनि अँगालो नहालेको वर्षौँ बितेको कुरा महसुस गर्दा
भाँचिएकै मनले औला भाँचेरै गने ७ बर्सै नाघेछ, यता आफ्नो खल्ती डलरले भर्दा   

गणितमा कमजोर म त्यही नि हिसाब लाउन मन लाग्यो
बा आमा ६० का १०० वर्ष बेचैनी ७ वर्षे अन्तरालले
लगभग ६ पटक भेट्ने संयोग, रसायो आँखा अनि गाला अवरुद्ध
कमाएको डलरको महत्त्व फितलै भयो , नेपाल फर्किहालूँ जस्तो मनमा
ससाना छोराछोरीको भविष्य सोचे ५/१० वर्ष यतिकै गयो

गफिँदै २० वर्षको अन्तरालमा नेपाल फर्किने योजना अलमलिँदै सुनाए
साथी यसै व्यङ्ग्यात्मक बने अनि नमज्जाले भने , जवानी विदेश रमायो
बुढेसकालमा नेपाल आयो अनि लौरो समायो- बुढेसकालमा देशलाई तिम्रो के आवश्यकता
 झापड नहानी गतिलो झापड हाने, बुढेसकालमा देश फर्किने पनि सपना तुहिएरै गयो

भावुक बन्दै भने यता बागमती आर्यघाट छैन , उतै बागमती किनारमा
मेरो लास जलाइदिनु , म मरे पनि मेरो देश विकसित बनाइदिनु
आउने पीढीलाई  बिदेसिन नपरोस् देशमै बस्ने वातावरण मिलाइदिनु
बाल्यकाल , यौवन अनि बुढेसकाल देशमै बितोस्
देशमै बच्न पाउने  अनि देशकै लागि मर्ने राष्ट्रियताले जितोस्

नेपाली रुपैयाँको मूल्य यति होस् की डलर पनि फिक्का लागोस्
आफ्नै देश प्राण भन्दा प्यारो यस्तो गहिरो राष्ट्रियता जागोस्
परिवार भेट्न वर्षौँ कुर्दाको सकस मेटिएर
आफ्नै देशमा सँगै बस्ने हर्षोल्लासले यो जीवन ढाकोस्

सुन साथी  डलर टिप्दा सधैँ फूलैफूल कहाँ हुन्छ, तिखो काँडाले नि बिझाउँछ
असल अनि खराब व्यक्ति हरेक देश, सहर अनि गाउँमा पाउँछ
कुनै ज्ञानी कुरा बुझ्ने बाआमा कोही मै हु ठुला हुने कुरै नबुझ्ने बाआमा
बुढेसकालमा वृद्ध नि बालक जस्तै हुने होला, मन पराएको खेलौना नपाउँदा खुट्टा बजार्दै रुने होला

भन्छ्यौ सजिलै छ यता घर किन्दा नि बैंकबाट नै ऋण तिर्न पाइन्छ
नेपालमा असाध्यै महँगो रु २०० मा आउने यता कति सस्तो २० डलरमै पाइन्छ
यता केही आफ्नी जस्तो लाग्दैन कसरी बुझाऊँ मित्र, घर नि लोनको कर नि लोनको
केवल बैंकको लोन मात्र आफ्नो लाग्छ , आफ्नै सम्झी सम्झी तिरिरहनु पर्ने

न आफन्त न साथीभाइ सबैको आफ्नै सुखको सानो चुटी र दुखको पहाड छ
फेसबुकका पानामा  हँसिला मुहार घरभित्र छिर्दा थकान अनि दिनरात कामकै पेलान छ
बस्न घर किन्यो अनि चलाउन कार, घरको मोर्गेज तिर्न कार अनि काममै लम्पसार
घर रितै रितै प्राय न बालबच्चालाई समय न परिवारलाई, कुनै कविको पङ्क्ति झैँ

‘जब म घर भित्र पस्छु , मेरो घर फुत्त बाहिर निस्किन्छ’ यस्तै छ यताको जीवन को सार

घर नि रिसायेरै होला, घरलाई घर बनाउने समयको अभाव छ
होटेल जस्तै सुत्न आयो , खायो के गर्नु काम कै रफ्तार छ
ज्यान थाकेर  गलित , यो मन एक्लो एक्लो मसानघाट  जस्तो
अनिन्द्रा कयौँ रातको जिन्दगी बैंकलोनमै गिरफ्तार छ

जता फर्केनी थाकेको अनुहार काला धब्बा आँखाको बेहाल छ
अब त दैनिक स्किन केयर ले नि नभ्याउने भयो
अनुहार को चमक, मन को खुसी अनि शरीरको फुर्ती सबै चुसेको आँप जस्तो
सोसल मिडिया मा चम्किला अनुहार फिल्टर हटाएपछि अनिकालमा छटपटाए जस्तो

हुन त सबैका सङ्घर्ष फरक होला कसैका धेरै कसैका थोरै 
बोक्नै नसक्ने गह्रुङ्गो  जिम्मेवारी यो काँधमा लादिदिँदा, 
हिँडेर संघर्ष गर्दा नभ्याएपछि , दगुर्दा  गलेर स्या-स्या भएको दिनरात याद छ
पीएचडी गर्ने सपना बोकेका यी आँखा, 
युनिभर्सिटीमा करोडौँ तिरी, नर्सिङ पढ्ने रहर हैन बाध्यताको बात छ

हो म अस्ट्रेलियामा नर्सिङ काम गर्ने नेपाली छोरी, अस्ट्रेलियाका बा आमालाई हेर्ने मेरो नि ठुलै हात छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जना कार्की
अञ्जना कार्की
लेखकबाट थप