बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको मिसन ८४ लाई सफल बनाउन नयाँ सत्ता समीकरण बनाएका हौँ : पोखरेल

‘मुलुकको ओरालो यात्रा रोक्नका लागि मात्रै सहकार्य गरेका छौँ’
शनिबार, १० चैत २०८०, १७ : ४६
शनिबार, १० चैत २०८०

कास्की । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समीकरण निर्माण गर्नुपरेको बताएका छन् ।  महासचिव पोखरेलले मिसन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको सङ्कल्प भएको उल्लेख गर्दै त्यसबाट विचलित नहुने बताएका हुन् । 

शनिबार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समीकरणको यात्रा सुरु गरिएको पनि स्पष्ट पारे । महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य सुरु भएकाले त्यसले पार्टीको मिसन २०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्क समेत गरे । 

उनले भने, ‘अब सकारात्मक दिशातर्फ मुलुकलाई लैजानुपर्दछ भन्ने मान्यताको आधारमा हामीले यो यात्रा आरम्भ गरेका छौँ । कतिपयले भन्ने गर्नुभएको छ–होइन हाम्रो उद्देश्य मिसन २०८४ भनेर भनिरहेको एमाले आज सरकारमा सामेल भयो । कतै एमालेको मिसन २०८४ रोकिएको हो कि भनेर प्रश्न गर्ने गर्नुहुन्छ । म तपाईँहरुको बिचमा के भन्न चाहन्छु भन्दा खेरी मिसन २०८४ मुलुकको भविष्य निर्माणको एउटा सङ्कल्प हो । त्यसबाट नेकपा एमाले विचलित हुने प्रश्नै उठ्दैन । हामीले त भनिरहेका छौँ–यो सहकार्यले मिसन २०८४ लाई बलियो बनाउँदछ भन्ने मान्यता र विश्वासको जगमा हामीले नयाँ सहकार्यको यात्रा आरम्भ गरेका छौँ । किनकि हाम्रो यात्रामा हाम्रा विरुद्धको घेराबन्दी तोड्नु आवश्यक थियो । चक्रब्युहलाई तोड्न आवश्यक थियो । हामीले हाम्रा विरुद्धको घेराबन्दीलाई, हाम्रा विरुद्धको चक्रब्युहलाई तोडेर हामी बाहिर आएका छौँ । सहकार्यको एउटा नयाँ आधार तयार गरेका छौँ । जसका  आधारमा हामी मिसन २०८४ लाई सफल पार्न चाहन्छौँ । र मुलुकको भाग्य र भविष्यलाई उज्यालो दिशातर्फ अगाडि बढाउन चाहन्छौँ । निराश बनेका जनतामा आशा जगाउन चाहन्छौँ ।

पोखरेलले एमालेको अर्जुन दृष्टि मिसन २०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताए । मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने, ‘नेकपा एमाले मुलुकलाई सही बाटो देखाउनका लागि जस्तोसुकै त्याग गर्नका लागि तयार छ । आजभोलि कतिपयले भन्ने गर्नुहुन्छ–एमाले सरकार त गयो । तर महत्त्वपूर्ण मन्त्रालय त लिएन नि । हामीलाई थाहा छ । अहिलेको संसद् भित्र हामीले चाहेजस्तो नीतिगत नेतृत्व सम्भव छैन । हामीले त मुलुकको ओरालो यात्रा रोक्नका लागि मात्रै सहकार्य गरेका छौँ । मुलुकलाई विकास र समृद्धिको यात्रामा नयाँ युगमा प्रवेश गराउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यस अर्थमा मिसन २०८४ नेकपा एमालेको अर्जुन दृष्टि हो भन्ने कुरालाई बुझ्न सक्नुपर्दछ । त्यो मान्यताको आधारमा हामी अगाडि बढ्न खोजिरहेको कुरा म तपाईंहरुको बिचमा राख्न चाहन्छु । हामी कुन उद्देश्यका साथ कसरी अगाडि बढ्न खोजिरहेका छौँ भन्ने कुरालाई हामीले गम्भीरतापूर्वक लिन जरुरी छ भन्ने कुरा म तपाईंहरुको बिचमा राख्न चाहन्छु ।’

त्यस अवसरमा महासचिव पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने काममा एमालेको प्रयास हुने पनि बताए । उनले एमाले सरकारमा नहुँदा सो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउन नसकेको जिकिर समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप