शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी

डिभिजन वन कार्यालय भन्छ– फर्जी कागजपत्र बनाएर वनको जग्गामा दाबी
शुक्रबार, १६ चैत २०८०, १६ : ३८
शुक्रबार, १६ चैत २०८०

बारा । कोल्हवी नगरपालिका वडा नं २, वसन्त चौरीमा नेपाली सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिले दाबी गरेपछि विवाद भएको छ ।

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणका क्रममा कटान भएका रुखहरूको सट्टाभर्ना स्वरुप सेनाले सो क्षेत्रमा वृक्षरोपण गरेको हो । साविक सपही गाविस वडा नं १ (घ) हाल कोल्हवी नगरपालिका वडा नं २ को कित्ता नं १०, १२, १३, १४, १५, र १६ को ४४ बिघा १ कट्ठा ७ धुर जग्गा आफ्नो भएको गर्दै दोलखा निवासी लीलादेवी बुढाथोकीले नेपाली सेनाको जङ्गी अड्डा काठमाडौँमा निवेदन दिएकी छन् । राष्ट्रिय वनको जग्गामा व्यक्तिले दाबी गरेपछि वन कार्यालयले अनुसन्धान अधिकृत खटाएरै छानबिन सुरु गरेको थियो ।

वन कार्यालयले नापी र मालपोत कार्यालय कलैया, वडा कार्यालय र कोल्हवी नगरपालिकालाई पत्राचार गरेर जग्गाको विवरण माग गरेको थियो । २०८० वैशाख ६ गते कोल्हवी नगरपालिकाले पठाएको जवाफमा साविक सपही गाविस वडा नं १ र हाल कोल्हवी नगरपालिका वडा नं २ को कित्ता नं १०, १२, १३, १४, १५ र १६ को जग्गा व्यक्तिको नाममा के कसरी कायम भएको हो, सोसँग सम्बन्धित कुनै पनि कागजपत्र र उक्त जग्गाको तिरो लिएको रेकर्ड नगरपालिका र वडा  कार्यालयको अभिलेखमा नरहेको जनाइएको छ ।

नेपाली सेनाले वृक्षरोपण गरेको सो जग्गा राष्ट्रिय वन क्षेत्र भएको र उक्त जग्गामा सेनाले टिक, खमारी, रिठा, कपुर, तेजपात, बडहर, अजुर्ना लगायतका वन प्रजाति र फलफूल प्रजातिको बिरुवा वृक्षरोपण गरिसकेको पत्रमा उल्लेख छ ।

‘सो जग्गा जग्गाधनी प्रमाण पुर्जा, नक्साभित्रको जग्गा नभई राष्ट्रिय वन क्षेत्र रहेको हुँदा यसमा संग्लन दोषी उपर प्रचलित कानुन बमोजिम कारबाही गर्नुहुन अनुरोध छ, उक्त जग्गाको तिरो र कर यस कार्यालयबाट नलिएको व्यहोरासमेत अनुरोध छ,’ वडा कार्यालयले पठाएको पत्रमा उल्लेख छ ।

kk8 (1)

सेनाले सो जग्गामा आर्थिक वर्ष २०७८/०७९ मा सो क्षेत्रमा वृक्षरोपण गरेको हो । सो ठाउँ बिस्तारै घना जङ्गलको रुपमा परिणत हुँदै गएको छ । यता वनले पठाएको पत्रको जवाफमा मालपोत कार्यालय कलैयाले पनि साविक सपही गाविस वडा नं १, हाल कोल्हवी नगरपालिका वडा नं २ (घ) को कित्ता नं १०, १२, १३, १४, १५ र १६ को जग्गा दर्ता सम्बन्धी निर्णय लगायतका अन्य प्रमाण विवरण नरहेको जनाएको छ ।

साथै सोही जग्गाको सम्बन्धमा नापी कार्यालयमा रेकर्ड भिडाएर हेर्दा कुनै प्रमाण नभेटिएको डिभिजन वन कार्यालय बाराबाट अनुसन्धानमा खटिएका अधिकृत ललन राउत कुर्मीले जनाएका छन् ।

‘हामीले सरोकारवाला सबै निकायलाई पत्र पठाएर जवाफ माग्दा यो जग्गा व्यक्तिको नाममा दर्ता भएको कहीँ भेटिएको छैन,’ राउतले भने ‘यो विषयमा सरकारी वकिलसँग राय सुझाव लिएर हामी छिटै अदालतमा मुद्दा दर्ता गर्दैछौैँ ।’

राष्ट्रिय वनको जग्गा व्यक्तिले दाबी गर्दै जङ्गी अड्डामा निवेदन परेपछि  बाराका स्थानीय प्रशासन प्रमुखहरूको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो । नेपाली सेनाका प्रवक्ता नवराज गुरुङले कानुनी प्रक्रिया पुर्‍याएर राष्ट्रिय वनको जग्गामा वृक्षारोपण गरेकाले सो विषयमा सेनाको भूमिका नहुने बताएका छन् ।

‘सेनाले वृक्षारोपण गरेको जग्गा दाबी गर्दै हामीकहाँ निवेदन आएको थियो, तर त्यो हाम्रो सरोकारको विषय नभएकाले पत्र जस्ताको तस्तै वन कार्यालयलाई पठायौँ,’ नेपाली सेनाका प्रवक्ता गुरुङले भने ।

यता डिभिजन वन कार्यालय बाराले फर्जी कागजपत्रको सहारामा वनको जग्गामा केही भूमाफियाहरू लागेर व्यक्तिको बनाउन लागेको र वनले अनुसन्धान सुरु गरेपछि भागाभाग भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप