बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

‘इलामबाट रास्वपाको एक सिट थपेर २२ पुग्छ’

२०८४ मा १५० सिट जित्ने लक्ष्य छ : स्वर्णिम वाग्ले
शनिबार, १७ चैत २०८०, १४ : ५७
शनिबार, १७ चैत २०८०

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ सालको चुनावमा १५० सिट जित्ने लक्ष्य लिएको बताएका छन् । शनिबार इलाम क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामबाट रास्वपाले एक सिट थपेर २२ पुग्ने बताएका हुन् । 

उनले इलाममा आएको कम्पनले सिङ्गो नेपाल र विश्वभरि छरिएका नेपालीमा उत्साहको कम्पन आउने दाबी गरे । वाग्लेले इलाममा उत्पादन हुने अलैँची लगायतका कृषि उत्पादन वृद्धि र व्यापार बढाउनका लागि धेरै काम गर्ने उल्लेख गरे । 

उनले पार्टीले उदार अर्थनीति अँगालेको बताउँदै शक्ति पृथकीकरणको सिद्धान्तमा पार्टीले विश्वास गर्ने र पार्टी सङ्घीयता विरोधी नरहेको बताए । वाग्लेले उम्मेदवार मिलन लिम्बु स्थानीयबासी भएकोले सो ठाउँ बुझेको मान्छे भएकोले पार्टीले सहर्ष रूपमा उम्मेदवार स्वीकार गरेको बताए । स्थानीयको मन जितेर मतमा रूपान्तर गर्न सिङ्गो पार्टी नै होमिने वाग्लेले बताए । 

उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभ्यास गरिरहेको बताउँदै  चौतारोमा बसेर विपक्षी पार्टीहरूलाई धारे हात लगाउने राजनीति नगर्ने बताए । 

उनले भने–‘मङ्सिरमा रवि लामिछानेले ५ महिनाभन्दा कम समयको तयारीमा २० जना सांसदहरूलाई जिताएर सङ्घीय संसद्मा लैजानुभयो । प्राय हाम्रा निर्वाचित धेरै सदस्य बागमती प्रदेशबाट हुनुहुन्थ्यो । तनहुँमा निर्वाचित भएर हामीले गण्डकी प्रदेशमा खाता खोलेका थियौँ । अब पूर्वबाट पनि मिलन योङहाङ लिम्बुलाई जिताएर हामी खाता खोल्दै अगाडि बढ्छौँ ।’

उनले रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी भएको र लोकतान्त्रिक शक्ति रहेको उल्लेख गरे । वाग्लेले रास्वपाले कहिले पनि निषेधको राजनीति नगर्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप