बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एमाले जिल्ला अधिवेशन

सल्यानमा नेतृत्व चयनका विषयमा विवाद, कार्यकर्ता उत्रिए विरोधमा

सोमबार, १९ चैत २०८०, १६ : ००
सोमबार, १९ चैत २०८०

सुर्खेत । नेकपा एमाले सल्यानमा नेतृत्व चयनबारे विवाद भएको छ । एमाले जिल्ला अधिवेशनमा विधान विपरीत कार्य गर्न लागिएको भन्दै कार्यकर्ताले चर्को नाराबाजी गरिरहेका छन् ।

आइतबारदेखि सुरु भएको दशौँ अधिवेशन अन्तर्गत सोमबार बिहान बन्द सत्र सुरु भएको थियो । बन्द सत्रमा पार्टीको विधान विपरीत एमाले पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ र प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाहको निर्देशनमा जिल्ला कमिटी सचिव पदमा महिला मात्रै हुनुपर्ने गरी प्रस्ताव ल्याएपछि विवाद उत्पन्न भएको हो ।

एमाले विधान अनुसार पदाधिकारीमा एक महिला अनिवार्य हुने व्यवस्था छ । तर श्रेष्ठ र शाहले सचिवमै महिला अनिवार्य हुने गरी प्रस्ताव ल्याए । सल्यान शाहको गृहजिल्ला हो । यहाँ शाहले आफ्ना पक्षधरलाई मात्रै पदाधिकारीमा ल्याउन चाहिरहेको अर्को पक्षको भनाइ छ ।

श्रेष्ठ र शाहले आफू निकट मानिएकी पुष्पा कुमारी बोहरालाई सचिवमा सर्वसम्मत गर्न खोजेको असन्तुष्ट पक्षको दाबी छ । एमाले सल्यानमा दुई धार देखिएका छन् ।

आन्दाेलन फाेटाे

अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट कुल बहादुर गिरी र महासचिव शंकर पोखरेल पक्षबाट भीम बहादुर सेनले दाबी प्रस्तुत गरेका छन् । गुलाबजङ्ग शाह पनि शंकर पोखरेल पक्षकै हुन् । यो पक्षबाट अध्यक्षमा बहालवाला उपाध्यक्ष सेन प्रतिस्पर्धी छन् भने अर्को पक्षबाट पूर्व प्रदेश सचिवालय सदस्य गिरीको उम्मेदवारी पर्ने करिब निश्चित जस्तै रहेको जिल्लास्थित नेताहरूको भनाइ छ ।

त्यस्तै उपाध्यक्षमा सेनको प्यानलबाट ओजबहादुर बुढाथोकी, सचिवमा पुष्पा बोहरा, उपसचिवमा गणेशमान सिंह र सहनशीलता ओलीको चर्चा छ । उता अर्को पक्षबाट उपाध्यक्षमा दान बहादुर केसी, सचिवमा दिपेन्द्र प्रकाश डिसी, उपसचिवमा गुन्जमान बुढा तथा घनश्याम पुन र बुद्धा केसीको चर्चा छ । यो पक्ष पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छ ।

एमाले महासचिव शंकर पोखरेल पक्षले सचिवमा महिला अनिवार्य गर्न खोजेपछि ओली पक्षका नेता–कार्यकर्ताले विधान विपरीत कार्य भएको भन्दै नाराबाजी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप