शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

‘गण्डकीमा नयाँ गठबन्धनकै सरकार बन्छ’

मङ्गलबार, २० चैत २०८०, १३ : ४४
मङ्गलबार, २० चैत २०८०

केन्द्रीय सत्ता गठबन्धनको पराकम्प गण्डकीमा पनि छ । चैत २२ भित्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनुपर्ने बाध्यता छ। तर बहुमत पुर्‍याउन सहज देखिँदैन । यसैगरी  एमालेसहितको नयाँ गठबन्धनको पनि बहुमत छैन । यस्तो अवस्थामा अब गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छ भन्नेबारे टुंगो  लागिसकेको छैन । कसैको पक्षमा पनि नखुलेको राप्रपाको निर्णयमा नयाँ सरकार बन्ने देखिन्छ । 

गण्डकीमा नयाँ गठबन्धनबाट एमालेले मुख्यमन्त्रीमा  दावी गरेको छ भने माओवादीले अहिलेसम्म सरकारको नेतृत्व नपाएकोले आफ्नो पालो भएको बताएको छ ।  केन्द्रमा एमालेले नै मुख्यमन्त्री लिने सहमति भएको भन्ने चर्चाका बिच रातोपाटीले माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानसँग संक्षिप्त कुराकानी गरेको छ-

गण्डकीमा नयाँ सरकार कि यही सरकारको निरन्तरता ?

यो सरकारको आयु सकियो । अब नयाँ सरकार बन्छ । केन्द्रको गठबन्धन अनुसार नै यहाँको सरकार गठन हुन्छ । हामी आन्तरिक रूपमा तयार छौँ ।

राप्रपा विना सरकार बन्दैन, राप्रपाले निर्णय नै नगरी तपाईंहरुको सरकार कसरी बन्छ ?

निर्णय त केन्द्रीय समितिले गरिसकेको छ नि । प्रदेशको परिस्थिति अनुसार निर्णय लिने कुरा गरेकै छ । हाम्रो यहाँ नयाँ गठबन्धनलाई राप्रपाले सघाउँछ । सरकार बन्छ ।

२७ गतेसम्म समर्थन नगर्ने भनेको छ नि !

राप्रपाले अहिले नै समर्थन गर्छ । बागमतीबाटै बुझियो नि राप्रपाको कुरा । एकीकृत समाजवादी तयार नभएको भए राप्रपाले साथ दिने कुरा थियो । यहाँ पनि त्यस्तै हो । (३) मा जाने भनेको त मध्यावधि तिर सोझिने हो । त्यसमा जान त दिनै भएन । राप्रपाले यो कुरा बुझेको छ ।

पद बाँडफाँट पनि भैसकेको हो ?  

पद बाँडफाँट भैसकेको छैन । तर समर्थन गर्ने कुरा त भएकै छ । अहिले सरकार बनाउनेमा नै बढी जोड दिएका छौँ । पद भनेको आन्तरिक विषय भयो ।

उपसभामुख र मन्त्री दिने कुरा बाहिरिएको छ त !

खै कसले भन्यो थाहा छैन । अहिले त्यो खालको छलफल भैसकेको होइन ।

सरकारको नेतृत्व अब कसले लिन्छ ?

नेतृत्व त टुंगिसकेको छैन । मिडियाले हल्ला गर्ने एउटा कुरा हो । तर परिस्थिति अनुसार निर्णय हुन्छ । साथीहरूको भनाई अनुसार अहिले गण्डकीमा माओवादीलाई सजिलो हुन्छ । दीपक मनाङेको भोट पनि माओवादीले सजिलोसँग पाउन सक्छ । अरुको पनि विश्वास जोगाउन सक्छ ।

तपाईंकै दलभित्रका फडिन्द्र देवकोटा जोगाउन हम्मे परेको छ !

त्यस्तो होइन । फरक दल बन्ने कुरा सजिलो छैन । गर्न त निकै मेहनत गरेका हुन् । तर छुट्टै अभिलेख रहँदैन भन्ने निष्कर्ष भएको छ । उहाँ अहिले माओवादीकै संसदीय दलको सदस्य हो । अरु कुरा गर्नुभएको पनि छैन ।

बैठकमा आउनुभएको छ ?

पहिले त बैठकमा आइरहनुभएको हो । तर पछिल्लो समय औपचारिक बैठक बसेको पनि छैन । अनौपचारिक छलफल भैरहेको छ । संवाद निरन्तर छ ।

मुख्यमन्त्री एमालेको हुने कुरा पो सुनिन्छ नि ?

लविङ गर्ने कुरा स्वाभाविक नै हो । तर सहज के हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । अहिले गण्डकीमा माओवादीले नेतृत्व गर्दा सरकारलाई सहज हुन्छ । सङ्ख्याका कुरा पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप