सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने अर्थमन्त्री पुनको आश्वासन

मङ्गलबार, २० चैत २०८०, १९ : २२
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने आश्वासन दिएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटवार्तामा अर्थमन्त्री पुनले सो कुरा व्यक्त गरेका थिए । 

भेटका क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरूबाट गुनासो आइरहेको जानकारी गराएका थिए । सरकारको राजस्व सङ्कलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रूपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए ।

अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे । उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए । लगानी सम्मेलन चाडैनै हुन गइरहेकोले अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई स्वदेशी लगानीकर्ताहरूलाई सम्मान गर्नुपर्ने र सरकारले व्यवसायीहरुको मनोबल बढाउनुपर्ने धारणा व्यक्त गरे ।

आफ्नो कुरा राख्दै अर्थमन्त्री पुनले उठेको विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिए । उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सधैँ तत्पर रहेको बताए । मन्त्री पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने आश्वासन पनि दिए ।

अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच थप सहकार्य आवश्यक रहेको बताए । मन्त्री पुनले वर्तमान सरकारको अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार गर्नु रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप