बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रको निर्णय कार्यान्वयन हुन्छ : महेन्द्रबहादुर शाही

बुधबार, २१ चैत २०८०, ११ : ३१
बुधबार, २१ चैत २०८०

सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले केन्द्रको निर्णय कार्यान्वयन हुने बताएका छन् । उनले एमालेसँगको छलफल सकारात्मक रूपमा अघि बढेको पनि बताए । उनले रातोपाटीसँग भने, ‘अरू नबोलौँ कुरा सकारात्मकतर्फ बढेको छ, केन्द्रको निर्णय कार्यान्वयन हुन्छ ।’ 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर कर्णाली प्रदेश आएका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेसँग पटक पटक छलफल गर्दै आएका छन् । तर, हालसम्म ठोस सहमति हुन सकेको छैन । केन्द्रमा भएको सहमतिअनुसार एमालेले कर्णालीमा भाग पाएको छ । यद्यपि माओवादीको एक समूहले निर्णय कार्यान्वयनमा आनाकानी गर्दा अन्यौलता कायमै छ । 

यस्तो पृष्ठभूमिमा शाहीले सुर्खेत आएसँगै आफ्नै दलका नेताहरूका साथसाथै  एमाले संसदीय दलका नेता यामलाल कँडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरूसँग संयुक्त र छुट्टाछुट्टै छलफल गरेका थिए ।  तर, पनि मुख्यमन्त्री राजकुमार शर्मा र कँडेलले आ–आफ्ना अडान छाडेका छैनन् । 

मंगलबार बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले आज विश्वासको मत लिएर जाने निर्णय गरिसकेको छ । तर, पूर्व मुख्यमन्त्री शाही केन्द्रको निर्णयलाई कार्यान्वयन गरेर लैजाने कुरामा सहमति जुटाउने प्रयास गरिरहेका हुन् ।

सोहीअनुसार बुधवार बिहान पनि शाहीले मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र  प्रदेश अध्यक्ष विमला केसीबिच छलफल गरेका छन् । यसैबिच प्रदेशसभा बैठकअघि माओवादीको संसदीय दलको बैठक समेत बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने र एमालेले साथ नदिएको खण्डमा सरकार ढल्नेछ भने ठुलो दलको हैसियतले कांग्रेसको सरकार बनाउनेछ । त्यस्तो अवस्था आउन नदिन पनि नेताहरूको दौडधुप तीव्र बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप