मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बहस

निजी विद्यालयले किन नेपालीपन झल्किने नाम राख्नुपर्ने ?

विद्यार्थीहरूलाई थप दुःख दिने काम नगरौँ : प्याब्सन
बुधबार, २१ चैत २०८०, २१ : १६
बुधबार, २१ चैत २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरूलाई (संस्थागत) नेपालीपन झल्किने नाम राख्न भनेको छ । एक महिने अल्टिमेटम दिएर महानगरले अङ्ग्रेजी तथा विदेशी नाम राखेका निजी विद्यालयहरूलाई नेपालीपन झल्किने नाम राख्न भनेको हो । 

महानगर शिक्षा विभागले २०८०/१२/१५ गते संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको थियो । शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नामकरण गर्नुपर्ने सूचनामा उल्लेख छ ।

शिक्षा विभागकी निमित्त प्रमुख सरस्वती पोखरेलले ऐनमा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको बताइन् । काठमाडौँ महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएको उनको भनाई छ । नियमावलीमा व्यवस्था भए बमोजिम नामकरण गर्नका लागि प्रक्रिया अगाडि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित विभागमा निवेदन पेश गर्न महानगरले अनुरोध गरेको छ । 

महानगरको उक्त ताकेता यसअघि पनि पटक–पटक भएको थियो । तर, त्यसलाई कार्यान्वयन गर्न सकिएको थिएन । मेयरमा बालेन शाह निर्वाचित भएपछि निजी विद्यालयप्रति आक्रामक हुँदै आएका छन् । सोही आधारमा उनले बुधबार सूचना प्रकाशित गर्दै भर्ना प्रक्रिया रोक्नेसहित कानुन बमोजिम कारबाही अघि बढाउने चेतावनी दिएका हुन् ।

तर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँ जिल्ला अध्यक्ष प्रेम राईले नेपालीपन झल्किने नाम राख्न विभिन्न कठिनाइ देखिएको बताए । विगत लामो समयदेखि त्यही नामबाट सञ्चालनमा रहेका विद्यालयहरू एकाएक नाम परिवर्तन गराउन अव्यवहारिक र असान्दर्भिक देखिएको बताए । 

‘ग्लोबलाइजेशनको दुनियाँमा विश्व नै एउटा भिलेज हो भनिरहेको बेला नाममा के राखिएको हुन्छ ? अङ्ग्रेजीको कुरा गर्दा केही समस्या देखिँदैन । यद्यपि हामीले यसको विरोध चाही गरेका होइनौँ । तर, व्यवहारिक रूपमा कठिनाइ छ’

‘राष्ट्रियता झल्किने नेपाली भाषामा संस्थाको नाम राख्नुपर्छ भन्ने कुरामा हाम्रो विमति त होइन । तर, लामो समयदेखि त्यही नाममा चलेका छन् । विद्यालयको ब्रान्डिङ तथा पहिचान त्यही नाममा छ । उनीहरूले गुडविल त्यही नाममा राखेका छन् । नयाँ नाम राख्दा सबै हराउँछ,’ अध्यक्ष राईले भने । 

‘एउटा चर्चित साहित्यकार वा व्यक्तित्वलाई जीवनको अन्तिम समयमा नाम परिवर्तन गर्न लगायो भने के हुन्छ ?’ भन्दै उनले प्रश्न गरे । 

नाम परिवर्तन गर्दा दोस्रो समस्याको रूपमा विद्यार्थीहरूको प्रमाणपत्रमा हुने उनको भनाइ छ । ‘विद्यार्थीहरूले त्यही नामले प्रमाणपत्र लिएका हुन्छन् । नाम परिवर्तन गराउँदा सर्टिफिकेट पुनः भेरिफिकेसन गर्नुपर्ने हुन्छ,’ अध्यक्ष राईले भने, ‘पुरानो नाममा सर्टिफिकेट लिएका विद्यार्थीले पुरानो नाम र नयाँ नाम एउटै हो भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । विद्यार्थीलाई अनावश्यक झन्झट तथा दुःख हुन्छ ।’

पुरै संसार नै एउटा गाउँ हो भन्ने अभियान संसारभर चलिरहेका बेला काठमाडौँमा अङ्ग्रेजी नाममा लफडा भइरहेको उनको भनाइ छ । ‘ग्लोबलाइजेशनको दुनियाँमा विश्व नै एउटा भिलेज हो भनिरहेको बेला नाममा के राखिएको हुन्छ ? अङ्ग्रेजीको कुरा गर्दा केही समस्या देखिँदैन । यद्यपि हामीले यसको विरोध चाही गरेका होइनौँ । तर, व्यवहारिक रूपमा कठिनाइ छ’ उनले भने । 

‘नेपालीपन झल्कने नाम राख्नु आफैँमा राख्नु राम्रो हो । तर, ढिलो भइसकेको छ । त्यही विद्यालयबाट पढेका विद्यार्थी विभिन्न ठाउँमा पुगिसकेका छन् । उनीहरू विभिन्न पेसामा आबद्ध छन् । यदि उनीहरूको सर्टिफिकेट हरायो भने नाम परिवर्तन गरेपछि अर्को बनाउन सकिँदैन’

यो विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे सरोकारवाला निकायबिच छलफल भइरहेको अध्यक्ष राईले बताए । 

विद्यार्थीहरूले स–साना समस्याले दुःख पाउने गरेको भन्दै यसले थप दुःख पाउने उनको भनाइ छ । ‘विद्यार्थीहरू पढेर देश विदेशमा हुन्छन् । सर्टिफिकेटमा स–सानो त्रुटिले दुःख पाइरहेका हुन्छन् । नाम परिवर्तन गर्न थालियो भने थप दुःख पाउँछन्,’ अध्यक्ष राईले भने । 

यसअघि नै विद्यालय खोल्दा नै अङ्ग्रेजी नाम राख्न नदिनुपर्ने भन्दै अब नयाँ आउनेको हकमा यस्तो व्यवस्था गर्न सकिने बताए । यो विषयमा अदालतमा समेत मुद्दा परेको र अझै पनि विचाराधीन अवस्थामा रहेको उनको भनाई छ । 

प्याब्सन केन्द्रीय महासचिव आरबी कटुवालले नामका कारण गुणस्तरीय शिक्षामा कमी आउन नसक्ने बताए । आफूहरू पनि राष्ट्रियता झल्किने खालका नाम हुनुपर्छ भन्नेमा सचेत रहेको भन्दै विगतमा अङ्ग्रेजी नाम राखिएका विद्यालयको हकमा परिवर्तन गर्न कठिनाइ हुने बताए । 

‘नेपालीपन झल्कने नाम राख्नु आफैँमा राख्नु राम्रो हो । तर, ढिलो भइसकेको छ । त्यही विद्यालयबाट पढेका विद्यार्थी विभिन्न ठाउँमा पुगिसकेका छन् । उनीहरू विभिन्न पेसामा आबद्ध छन् । यदि उनीहरूको सर्टिफिकेट हरायो भने नाम परिवर्तन गरेपछि अर्को बनाउन सकिँदैन,’ महासचिव कटुवालले भने । 

  • नाममा के राखेको छ ? 

शिक्षाविद् डाक्टर विष्णु कार्कीले नाममा के राखेको रहेछ भन्दै प्रश्न गरेका छन् । उनले काठमाडौँ महानगरले अहिले नामको लफडामा नपरेको भए हुन्थ्यो भन्ने सुझाव दिए । 

‘नामको विषय अहिले नै नगरेको भए हुन्थ्यो । नाममा केही राखेको हुँदैन । गुणस्तरीय शिक्षा दिने सवालमा नाममा के नै राखेको हुन्छ र ?’ उनले प्रश्न गरे । 

हिजोको दिनमा गुणस्तरीय शिक्षा दिने सवालमा अङ्ग्रेजी माध्यमबाट पढाएर मात्रै नहुने नाम पनि अङ्ग्रेजी नै राख्नुपर्छ भन्ने मनसायले त्यस्तो नामहरू राखिएको उनको भनाइ छ । 

शिक्षाको सुधारका लागि महानगरले राम्रो काम गर्दै आएको भन्दै शिक्षाविद् कार्कीले अहिले राष्ट्रियताको नामको पछि लाग्नु भनेको प्रोपोगाण्डा मात्रै भएको बताए । 

अहिलेको आवश्यक नाम भन्दा पनि रोजगारसँग जोडेर शिक्षा दिनुपर्नेमा रहेको उनको भनाइ छ । 

‘यस्तो प्रोपोगाण्डाको पछि लागेर भएन । गुणस्तर सुधारतिर लाग्नुपर्छ । महानगरले अहिले शिक्षामा धेरै राम्रो काम गरिरहेको छ । राम्रो काम गरिरहेको बेला नामको पछि दौडिनु राम्रो भएन,’ शिक्षाविद् कार्कीले भने । 

यसरी नाम परिवर्तन गर्दा धेरै आर्थिक भार पनि पर्ने भन्दै त्यो आर्थिक भार अभिभावक तथा विद्यार्थीकै टाउकोमा आउने उनको भनाइ छ ।

  • ऐन नियम कार्यान्वयन गर्न लागिएको हो: महानगर 

काठमाडौँ महानगरले ऐन तथा नियमको भएको व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको बताए । महानगर शिक्षा विभाग निमित्त प्रमुख पोखरेलले सङ्घीय शिक्षा ऐन तथा नियमावली र महानगरको शिक्षा ऐन तथा नियमावलीमा समेत नेपालीपन झल्किने खालको नाम राख्नुपर्ने भन्ने व्यवस्था रहेको बताइन् । सोही आधारमा महानगरले ऐन नियम कार्यान्वयन गर्न लागेको उनको भनाइ छ । 

काठमाडौँ महानगरभित्र ७७१ निजी विद्यालय छन् । ती मध्ये ३२३ विद्यालयको अङ्ग्रेजी नाम रहेको महानगरले जनाएको छ । उनीहरूलाई सात दिनभित्र महानगरमा आउन भनिएको हो । सात दिनभित्र सम्पर्कमा आएर प्रतिबद्धता जनाउनुपर्ने र ३५ दिनभित्रमा नेपालीपन झल्किने खालको नामकरण गरिसक्नुपर्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप