मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘रेशमजीले आफ्नो लागि उपप्रधानमन्त्री मागेपछि गठबन्धन बैठकमा सन्नाटा छायो’

कारागारमा हुँदा मौलाएको पार्टी उहाँ बाहिर निस्केपछि किन तहसनहस भयो ? : रञ्जिता श्रेष्ठ
बिहीबार, २२ चैत २०८०

नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टीको संस्थापक र श्रीमान्–श्रीमतीसमेत रहेका रेशम चौधरी र रञ्जिता श्रेष्ठ नै दुई ध्रुवमा रहेका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि चुलिएको विवाद दुई पक्षबिच कुटाकुटसम्ममा पुगेको छ । पार्टीको संरक्षक रहेका रेशम नेपाली कांग्रेससँगको पुरानो गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा छन् । रञ्जिता भने नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धनलाई साथ दिनुपर्ने अडानमा छिन् । 

पार्टीभित्र देखिएको यही विवादमा केन्द्रित रहेर रोहित दाहालले अध्यक्ष रञ्जिता श्रेष्ठसँग संवाद गरेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश :

  • श्रीमान्–श्रीमतीको झगडा परालको आगो भनिन्छ । तर तपाईंहरूको झगडा त भूसको आगोजस्तो पो भयो त, ननिभ्ने जस्तो देखियो । यस्तो कसरी भयो ?

–राजनीतिमा यस्तो देखिएको छ र भएको पनि छ तर यो केही दिनमै यो मिलिहाल्छ ।

  • पारिवारिक रूपमा त मिल्ला तर पार्टीभित्रको झगडा त मिल्ने देखिँदैन ।

–पार्टीभित्र त्यस्तो झगडा छैन । पार्टीभित्र एकै धार छ  । विशेष गरेर सुदूरपश्चिम सरकारलाई लिएर झगडाजस्तो देखिएको हो तर मिलिहाल्छ ।

  • तपाईंहरू दुई जनाको अहमताले गर्दा पार्टीमा यति धेरै विवाद भयो भन्ने छ नि ?

–पार्टीको वैधानिक अध्यक्ष म नै हुँ र मैले अध्यक्षको भूमिका निर्वाह गरेको मात्र हो । ममा अहमता छैन । पार्टीका साथीहरूलाई त्यस्तो लागेको छ भने म माफी पनि माग्न चाहन्छु । 

  • पार्टीका नेता, कार्यकर्ता, सांसदलाई भटाभट कारबाही गरिरहनु भएको छ । यसलाई के भन्ने ?

–कारबाही गर्ने अवस्था उहाँहरूले नै सिर्जना गर्नुभएको हो । बैठकमा हातपात गर्ने, पार्टीको निर्णय अवज्ञा गर्नेलाई कारबाही भएको हो । कारबाही विधिसम्मत गरिएको छ । 

ranjita shrestha (2)-001

  • विवादको चुरो चाहिँ सत्ता नै देखियो ।

–साथीहरूले सत्तालाई प्यारो मानेर बस्दिनुभयो । अनि समस्या आयो ।

  • साथीहरूलाई सत्ता प्यारो भन्नुभयो तर तपाईंमा पनि त त्यही देखियो नी । 

–मलाइ सत्ता प्यारो भएको भए अहिले तपाईंले पूर्वमन्त्री भनेर होइन मन्त्रीज्यू भनेर सम्बोधन गर्नुहुन्थ्यो ।

  • सत्ता प्यारो नभए प्रचण्ड नेतृत्वको सरकारलाई किन समर्थन गर्नुभएको त ?

–प्रधानमन्त्री प्रचण्डले हाम्रा पार्टीका साथीहरूलाई जेलबाट निकाल्न निकै ठुलो सहयोग गर्नुभएको हो । यति ठुलो सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डलाई हामी नछाडौँ, यसमै सामेल भएर जाऔँ भनेर पार्टीका साथीहरूले नै भनेर यस्तो निर्णय गरिएको हो । गुन तिर्न पनि प्रचण्डजीलाई सहयोग गर्नुपर्छ । त्यही गरेको पनि हो ।

  • रेशमजी मन्त्री बन्ने सम्भावना छैन । अनि तपाईंमा नभएर रेशमजीमा हुन्छ त सत्ता मोह ? 

–अहिलेको समीकरण बनिसकेपछि रेशमजी र मलाई प्रधानमन्त्रीले बालुवाटार बोलाउनुभएको थियो । एमाले अध्यक्ष समेत सहभागी त्यो बैठकमा रेशमजीले आफ्नो लागि उपप्रधानमन्त्री माग्नुभयो । बैठकमा सन्नाटा छायो । अनि ओलीजी हाँस्नुभयो भने प्रचण्डले कानुनी रूपले मिल्दैन भनेपछि उहाँ रिसाएर हिँड्नुभयो । मैले सम्झाउने प्रयास गर्दा पनि मान्नुभएन । विवाद त्यहाँबाट सुरु भएको हो ।

  • रेशमजीलाई खान पनि दिनुभएन रे, ज्यानकै सुरक्षा भएन रे, सुटर लगाएर पार्टी कब्जा गर्छु भन्नुभएछ, यत्रो तागत कहाँबाट प्राप्त गरिरहनुभएको छ ?

–यस्तो गलत कुरा गर्नुहुँदैन । छानबिन गरे भइहाल्यो नि । रेशमजी अलि भावुक हुनुहुन्छ सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदा आँशु झार्नुभयो होला । 

  • तपाईंलाई मन्त्री, पार्टीको अध्यक्ष बनाउनुभयो । आफ्नो श्रीमान् नखाई रुँदै हिँड्नुभएको छ । अरू केही नभए पनि श्रीमतीको हिसाबले भए पनि अलिकति दया पलाउँदैन त ? 

–श्रीमतीको नाताले मान्नुपर्ने कुरा मैले मानिनैरहेकी छु । तर पार्टीको कुरामा मेरो मात्रै चल्दैन । पार्टीका साथीहरूको, जनताको कुरा सुन्नुपर्छ र विधिमा बसेर निर्णय गर्नुपर्छ ।

ranjita shrestha (3)-001

  • पार्टी जन्माएर त्यत्रो सिट जिताएर तपाईंलाई मन्त्रीसम्म बनाउनुभयो । मलाई यो ठाउँमा ल्याउने व्यक्ति त्यसमा पनि श्रीमान्लाई रुँदै हिँड्ने बनाउनु हुँदैन भन्ने अलिकति पनि लाग्दैन तपाईंलाई ?

लाग्छ नि । मलाइ पनि लाग्छ नि ।

  • अनि रुँदै हिँडिरहनुभएको छ त ।

–रेशमजी कारागारमा हुँदा हुनेवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि कसले भेटेन उहाँलाई । तर कारागारबाट निस्किसकेपछि त्यत्रो सम्बन्धलाई किन कायम राख्न सक्नुभएन । त्यसमा चाहिँ मलाई दुःख लाग्छ । अझ उहाँ कारागारमा हुँदा पार्टी मौलाएको थियो तर उहाँ बाहिर निस्केपछि पार्टी किन तहसनहस भयो ? पार्टी झन् बढी झाँगिनुपर्ने होइन र ? सायद यो कुरा सम्झेर रेशमजी रुनुहुन्छ होला ।

यसको मतलब तपाईं नभएको भए रेशमजी कारागारमै हुनुहुन्थ्यो अहिलेसम्म ? ।

–म नभएको र प्रधानमन्त्री प्रचण्डले सहयोग नगर्नुभएको भए सम्भव थिएन ।

  • भनेपछि त रेशमजीलाई बाहिर निकालेकोमा पछुतो पो र छ त तपाईंलाई ।

–आफ्नो श्रीमान्लाई त्यति दुःख गरेर निकालिएको छ पछुतो कहाँ हुन्छ ? गल्ती हुन्छ, तर सम्हालिने काम रेशमजीको नै हो ।

  • ठीकै छ, तपाईंले संघीय सरकारलाई सहयोग गर्ने भन्नुभयो, अब रेशमजीले सुदूरपश्चिम प्रदेश सरकारलाई सहयोग गरौँ भन्नुभएको छ, त्यो मान्दिँदा तपाईंलाई समस्या किन ? 

–सूदुरपश्चिमको सरकार अल्पमतमा छ । हामीले सहयोग गर्दा पनि पुग्दैन । फेरि हामीले मुख्यमन्त्री पाउँदैछौँ । अनि यो अवसर पार्टीले गुमाउँछ त ? तर मुख्यमन्त्री छाडेर साथीहरू लोभ गरेर मन्त्री खान बसिरहनुभएको छ । त्यसले पार्टीलाई कमजोर बनाएको छ । सूदुरपश्चिमका पाँच जना प्रदेश सभा सदस्यका कारण सबै बिग्रिएको हो ।

  • पार्टीमा अल्पमत भएको व्यक्ति अध्यक्ष बसिरहन मिल्छ ? त्यस्तो अध्यक्षले गरेका निर्णय वैध हुन्छ त ?

–हाम्रो पार्टीमा अहिले अध्यक्षसहित २१ जनाको केन्द्रीय समिति छ । त्यसमा सबै मैसँग हुनुहुन्छ । नत्र रेशमजीले मलाई कारबाही गर्न हस्ताक्षर अभियान चलाउँदा उहाँले किन साथ पाउनुभएन त ? 

  • ए तपाईंलाई कारबाही गर्ने प्रयास पनि भयो ?

रेशमजीले प्रयास गर्नुभयो तर असफल हुनुभयो । नत्र म अल्पमतमा भएको भए त कारबाही गरिहाल्नुहुन्थ्यो होला नि ।

  • तपाईंसँग महासचिव पनि हुनुहुन्न ।

हाम्रो पार्टीमा अध्यक्षबाहेक कुनै पदाधिकारी छैन । 

आफैले बैठक बोलाउने तर स्वयं अध्यक्ष नै बैठकमा नआउने । यसको मतलब बैठकमा कुटाकुट हुन्छ भनेर पहिले नै थाहा थियो तपाईंलाई र ज्यान जोगाउन बालुवाटार जानुभएको ?

–नयाँ समीकरणको विषयमै कुरा गर्न बोलाइएको थियो र म गएकी हुँ । पार्टी बैठकमा पुग्दा एक घण्टा ढिलो भएको थियो । तर म पुग्नुभन्दा पहिले नै कुटाकुट भएको रहेछ । तर त्यो सुनियोजित थियो । 

  • तपाईं बालुवाटारबाट चल्नुहुन्छ अहिले भन्ने आरोप छ । 

–म बालुवाटारबाट म चलेको भए सूदुरपश्चिममा चाहिँ कसले चलायो त ?

  • प्रधानमन्त्रीले तपाईं र रेशमजीलाई बोलाउनुभएको थियो त्यहाँ के कुरा भयो ? 

–म त टीकापुरलाई स्मार्ट सिटी बनाउनका लागि त्यहाँको मेयरलाई लिएर गएको हुँ । रेशमजीसँग के कुरा भयो थाहा भएन ।

  • फोन गरेर सोध्नुभएन त ? प्रधानमन्त्रीसँग के कुरा भयो रेशमजी भनेर ?

–अहिले टेलिफोनमा पनि गफ भएको छैन ।

ranjita shrestha (1)-001

  • पार्टी विभाजित भयो भने रेशमजी र रञ्जिताजीबिच श्रीमान् श्रीमतीको रूपमा पनि नरहने सम्भावना छ ?

–पार्टी नै विभाजित हुँदैन भने हाम्रो त झन् कहाँ त्यस्तो हुनु ।

  • तपाईंले अहिलेको गठबन्धनलाई जसरी सहयोग गर्नुभएको छ, यसबाट तपाइलाई के प्राप्त हुँदैछ ? मन्त्री ? उपप्रधानमन्त्री ?

–पार्टीलाई प्राप्त हुँदैछ । मलाई होइन ।

  • पार्टीलाई भनेको तपाईंलाई त हो नि होइन र ?

–रञ्जिता श्रेष्ठ अब मन्त्री बन्दैन । म मन्त्रीमा दोहोरिन्नँ । म पार्टीमा चलाउँछु ।

  • उपप्रधानमन्त्रीसहित पाउँदा चाहिँ जानुहुन्छ ?

–त्यो त रेशमजीले आफ्नो लागि माग्नुभएको हो । तर म जान्न । उपप्रधानमन्त्री नै पाएछ भने पनि पार्टीको अरू साथी जानुहुन्छ । त्यो जति मेरो लागि गौरवको विषय अरू केही हुन्न । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया