सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वीरगन्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री पुन

आइतबार, २५ चैत २०८०, १२ : ०४
आइतबार, २५ चैत २०८०

वीरगन्ज । अर्थमन्त्री वर्षमान पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताएका छन् । वीरगञ्ज उद्योग बाणिज्य संघको विर्तास्थित कार्यालयमा आइतबार राजश्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणाको मागमा आफ्नो समर्थन रहेको बताए ।

मधेस प्रदेश सरकारसँगको समन्वयमा वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको उनको भनाइ थियो । ‘लोकतन्त्रमा सरकारले नागरिकका आवाज सुन्नैपर्छ’ मन्त्री पुनले भने, ‘वीरगञ्ज आर्थिक केन्द्र नै हो ।  औद्योगिक नगरी नै हो ।’
देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको भन्दै मन्त्री पुनले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको समेत बताए । 

निजी क्षेत्रका जायज गुनासोको सम्बोधन बजेटमार्फत गरिने उनले उल्लेख गरे । निराशाको अन्त्य गरी निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकारले प्रयास गरिरहेकाले विश्वास गरिदिन उनको भनाइ थियो ।  सरकारले व्यवसायीलाई काखापाखा नगर्ने र नतर्साउने तथा अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि मन्त्री पुनले व्यक्त गरे ।

मुलुकको आर्थिक अवस्था सुुधारोन्मुख रहे पनि युद्ध र महामारीजस्ता कारणले विश्वव्यापी सप्लाई चेन्ज प्रभावित भएकाले त्यसको नकारात्मक असर बजारमा परेको उल्लेख उनले गरे । यद्यपि उदयीमान अर्थतन्त्र भएका भारत र चीनको आर्थिक वृद्धिदर राम्रो रहेको चर्चा गरेका पुनले क्षेत्रीय अर्थतन्त्रको फाइदा नेपालले लिन सक्नुपर्नेमा जोड दिए ।  

देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यकै लागि प्रधानमन्त्रीले अझै दुई वर्ष ढुक्कले सरकारमा बस्न पाउने वातावरण हुँदा सत्ता सहयात्री परिवर्तन गरेको बताए ।  चालु वर्षमा लक्ष्य निर्धारण गरिएको राजश्व नउठेको उल्लेख गर्दै मन्त्री पुनले संकट देखिँदा राज्यले जोखिम लिएर खर्च बढाउनुपर्नेमा जोड दिए । 

आन्तरिक र बाह्य स्रोत परिचालनमार्फत मुठ्ठी फुकाएर खर्च गर्ने नीति सरकारले लिएको र त्यसले अर्थतन्त्र चलायमान बनाउन योगदान गर्ने विश्वास उनले व्यक्त गरे ।  फरक प्रसंगमा उनले सरकारहरु परिवर्तन भए पनि नीतिगत निरन्तरता हुनुपर्नेमा आफू स्पष्ट रहेको जनाए । ऊर्जा क्षेत्रमा खर्बमा लगानी आउनु र सिमेन्ट निर्यात हुनुको कारण नीतिको निरन्तरता रहेको उनको भनाइ थियो ।

निजी क्षेत्रलाई प्रवद्र्धन र प्रोत्साहन गरी प्रतिस्पर्धाको बजार बनाइदिन सरकार प्रतिबद्ध रहेकाले सहयोग गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप