एमाले पर्वतमा राष्ट्रिय सभा पूर्व अध्यक्ष तिमिल्सिना र कानुनमन्त्री गिरी समूह भिड्दै
काठमाडौँ । नेकपा एमाले पर्वतको १० औँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि हेभीवेटहरुको प्रतिस्पर्धा चलिरहेको छ । निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र हालका कानुन मन्त्री पदम गिरी समूहबिच प्रतिनिधि ल्याउनेदेखि नेतृत्वमा रस्साकस्सी चलिरहेको छ ।
आफ्नो पक्षलाई नेतृत्वमा ल्याउन तिमिल्सिनाले ठूलै जोडबल गरिरहेका छन्। उनको समूहलाई सघाउन एमाले नेता पृथ्वी सुब्बा गुरुङ यतिबेला पर्वतमा छन्। उनीसँगै तिमिल्सिना समूहको पक्षमा संविधान सभा सदस्य कल्पना चापागाईँ, पूर्व प्रदेश पर्यटनमन्त्री विकास लम्साललगायत कम्मर कसेर लागेका छन् ।
युवा टिमको नेतृत्व गर्दै मन्त्री गिरी हालका सचिव गोविन्द पहाडीको पक्षमा लागिपरेका छन्। यो दुई समूहबीच प्रतिनिधि छनौटदेखि नै रस्साकस्सी चल्दै आएको छ । गिरी समूहले तिमिल्सिना समूहलाई कडा टक्कर दिइरहेको गिरी निकट एक नेताले बताए ।
तिमिल्सिना समूहमा नेतृत्वका लागि अझै सहमति जुटेको छैन। गिरी समूहबाट पहाडी एक्ला प्रतिस्पर्धी बन्दा तिमिल्सिना पक्षबाट राजु पौडेल र पदमपाणी शर्माबीच होडबाजी छ ।
वर्तमान अध्यक्ष पौडेलले नेतृत्वमा दोहोरिने चाहाना राखेका छन् र वर्तमान उपाध्यक्ष शर्माले पनि स्वाभाविक रूपमा नेतृत्वको दाबी पेस गरिरहेका छन् । तिमिल्सिना पक्षले कुश्माको रोयल कुस्मा होटललाई सचिवालय बनाएर चुनाव केन्द्रित तयारी गरिरहेको छ । यो पक्ष वर्तमान अध्यक्ष पौडेललाई नै सकेसम्म सर्वसम्मत गर्ने प्रयासमा छ ।
हालसम्म एमाले पर्वतमा गुट नभए पनि गत फागुन २० गते राष्ट्रियसभा अध्यक्षको पदावधि सकिएर जिल्ला फर्किएका तिमिल्सिना पालिका दौडाहामा हिँडेपछि गिरी पक्षले पनि नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न बलियो तयारी गरिरहेको छ ।
यद्यपि एमाले पर्वतका अध्यक्ष पौडेलले आफ्नो नेतृत्वमा एमाले पर्वतले धेरै सफलता पाएकाले पुनः नेतृत्वको दौडमा होमिएको बताए । ‘म अध्यक्ष भएपछि एमाले पर्वतले धेरै सफलता पाएको सबैलाई छर्लङ्गै छ’ पौडेलले भने, ‘९ महिना बाँकी रहदै अधिवेशन गर्न लागेका छौ, यसले पनि मैले धेरै भन्न परेन ।’ उनले सकेसम्म सर्वसम्मत गर्ने प्रयास आफू रहेको बताए । ‘सर्वसम्मत नै गर्छौ, सर्वसम्मत सबैभन्दा लोकतान्त्रिक विधि हो, होइन भने आन्तरिक प्रतिस्पर्धा हुन्छ,’ उनले भने ।
यता शर्माले आफु तल्लो पदबाट क्रमिक रूपमा उपाध्यक्षसम्म आएकोले अध्यक्षका लागि आफ्नो दाबी स्वाभाविक भएको दाबी गरे। उनले आफूलाई नेता-कार्यकर्ताले न्याय गर्नेमा विश्वस्त रहेको बताए ।
पहाडीले एमाले पर्वत हाँक्नसक्ने व्यक्ति आफू नै भएको दाबी गरे। प्रतिनिधि चयन भएपछि हौसिएका पहाडीले प्रतिस्पर्धा गर्ने गरी आफूले तयारी गरेको बताउँछन्। राजु पौडेललाई अध्यक्ष बनाउने बेला नै १० औ अधिवेशनमा पहाडीलाई नेतृत्व हस्तान्तरण गर्ने भनेर तिमिल्सिनाले बोलेको गिरी पक्षको दाबी छ । तिमिल्सिनाले पछिल्लो समय आफ्नो वचनविपरीतको सक्रियता बढाएको पहाडीले बताए ।
अधिवेशनमा भाग लिन ६१ वटै वडा, जिल्ला कार्य समिति, पालिका समिति, जनबर्गिय संगठन गरी तीन सय ८३ जना प्रतिनिधि सहभागी छन् । विवादका कारण कुस्मा नगरपालिका ११ पकुवाको भने प्रतिनिधि टुंगो लाग्न सकेको छैन । तिमिल्सिना समूहले होटललाई तयारी स्थल बनाएको छ भने गिरी पक्षधरले पार्टी कार्यालय र अधिवेशन स्थलमा बसेर आफ्नो रणनीति बनाइरहेको छ। अधिवेशनको उद्घाटन एमाले नेता विष्णु पौडेलले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण