आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वकप्तान मोहम्मद हाफिज भन्छन्– पाकिस्तानी घरेलु क्रिकेटप्रति हार्दिक श्रद्धाञ्जली

बुधबार, २८ चैत २०८०, १४ : ४१
बुधबार, २८ चैत २०८०

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको टी–२० क्रिकेट शृङ्खलाका लागि हालै पाकिस्तानी टोलीको घोषणा गरिएको छ । टोलीको घोषणा भएलगत्तै सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को व्यापक आलोचना भइरहेको छ ।

पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान मोहम्मद हाफिज पनि टिम छनोटको विषयलाई लिएर पीसीबीसँग निकै रुष्ट देखिएका छन् । पूर्वकप्तान मोहम्मद हाफिजले सामाजिक सञ्जाल एक्स (यसअघिको ट्वीटर) मार्फत पनि पीसीबीको आलोचना गरेका छन् ।

खासमा न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खलाका लागि घोषित पाकिस्तानी टोलीमा मोहम्मद आमिर र इमाद वसिमलाई पनि समावेश गरिएको छ । मोहम्मद आमिर र इमाद वसिमले यसअघि नै टी–२० क्रिकेटबाट सन्न्यास लिइसकेका थिए ।

तर, यी दुवै खेलाडी आफ्नो सन्न्यास फिर्ता लिँदै पाकिस्तानी टोलीमा फर्किएका हुन् । यही विषयलाई लिएर पूर्वकप्तान मोहम्मद हाफिज पीसीबीमाथि खनिएका हुन् । उनी पीसीबीका पूर्वनिर्देशक पनि हुन् । उनले पाकिस्तानको घरेलु क्रिकेटप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा आफ्नो आक्रोश पोख्दै उनले लेखेका छन्, ‘आरआईपी पाकिस्तानी घरेलु क्रिकेट !’ सन्न्यास लिइसकेका खेलाडीलाई टोलीमा फिर्ता बोलाउँदा त्यसले पाकिस्तानको घरेलु क्रिकेटमा निकै ठुलो असर पार्ने उनको ठम्याई छ ।

सन्न्यास लिइसकेका खेलाडीलाई फिर्ता बोलाउनुभन्दा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका युवा खेलाडीलाई टोलीमा समावेश गर्नु उपयुक्त हुने उनको धारणा छ । हाफिजले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेपछि धेरैले उनको भनाइको समर्थन गरिरहेका छन् ।

मोहम्मद आमिर चार वर्षपछि पाकिस्तानी टोलीमा फर्किएका हुन् । उनले यसअघि पनि आफू टी–२० विश्वकप खेल्न इच्छुक रहेको बताएका थिए । इमाद वसिमले पनि गत नोभेम्बरमा सन्न्यास लिएको घोषणा गरेका थिए । तर, पाकिस्तान सुपर लिगमा इमाद वसिमको टोली विजयी भएपछि पीसीबीले उनलाई पनि न्युजिल्यान्डविरुद्धको शृङ्खलाका लागि टोलीमा स्थान दिएको हो ।

पाकिस्तानले न्युजिल्यान्डसँग पाँचवटा खेलको टी–२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । घोषित पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, इफ्तिखार अहमद, इमाद वसिम, मोहम्मद अब्बास अफरिदी, मोहम्मद रिजवान, मोहम्मद आमिर, मोहम्मद इरफान खान, नसिम शाह, सइम अयूब, शादाब खान, शाहिन शाह अफरिदी, उसामा मिर, उस्मान खान र जमान खान रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप