मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा सामाजिक सद‍्भाव कायम राख्दै ईद मनाइयो

बिहीबार, २९ चैत २०८०, १७ : ४१
बिहीबार, २९ चैत २०८०

पर्सा । पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद‍्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै पर्व मनाएका हुन् ।

वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा रहेका मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका अन्य समुदायका धर्मावलम्बीले पनि एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

वीरगञ्ज–२ छपकैयाँका शाहिद मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए । “वीरगञ्जमा हिन्दू, मुस्लिम, शिखलगायतका समुदायका मानिस एकापसमा सद‍्भाव कायम गरेर बसोबास गर्दै आइरहेका छौँ”, उनले भने, “मेरा हिन्दू तथा शिख समुदायका साथीहरूले ईदको शुभकामना दिनुको साथसाथै आफ्नो चाडपर्वमा पनि बोलाउनुहुन्छ । हामी पनि ईदमा उहाँहरूलाई बोलाउँछौँ ।” 

दुवै समुदायबिच शुभकामना साटासाट गर्दै आइरहेको सिद्धिकीको भनाइ छ । जुनसुकै चाडपर्वलाई पनि आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्र्नेगरी अघि बढाउन जरुरी रहेकामा उनले जोड दिए ।

वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उमेर समूहका मुस्लिम समुदायका मानिसको उपस्थिति थियो । साथै शारीरिकरूपमा अपाङ्ग तथा अशक्तहरू पनि नमाज गर्नका लागि ईदगाह तथा मस्जिदमा सहभागी भएका थिए ।

“हामीले ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । अब नमाज पढेर रोजा तोडेका छौँ”, मुस्लिम समुदायका अगुवा सहवीर अहम्मदले भने, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा रहेको छ ।” उनका अनुसार मुस्लिम समुदायले आफ्नो आम्दानीको दुई दशमलव पाँच प्रतिशत रकम दुःखी तथा अनाथलाई सहयोग गर्ने परम्परा पनि रहिआएको छ ।

ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान्)सँग आशीर्वाद लिने गर्दछन् ।

वीरगञ्जमा करिब तीस हजारको हाराहारीमा मुस्लिम समुदाय रहेको अनुमान गरिएको छ । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवा अर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना साटासाट गरी यो पर्व मनाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप