सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एक करोड लगानीमा आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा व्यावसायिक मोटरबोट सुरु

आइतबार, ०२ वैशाख २०८१, २० : ०५
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ ।

मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि  व्यावसायिक मोटरबोट सञ्चालन गरेको  बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले जानकारी दिए । 

ढकालकाअनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो ।  कम्पनीले थप लगानी गरी जलाशय किनारमा 'बिच रेस्टुरेन्ट', फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना बनाएको छ ।

नेपालकै पहिलो र ठुलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

आइतबार मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरि बहादुर चुमानले विभिन्न अप्ठ्यारो छिचोल्दै मोटरबोट सन्चालन गर्न सफल भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा पालिकाहरु अग्रसर हुनुपर्नेमा चुमनले जोड दिए । 

received_447035714466781

तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरी र पहाडकी रानी बन्दिपुर जोड्ने बाटोको स्तरोन्नती गरि यस क्षेत्रको पर्यटन प्रवर्द्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको समेत चुमानले बताए ।

ऐना पहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्न गन्तब्यको प्रवर्द्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागिपरेको आबुँखैरेनीले दुई  वर्षको पहलपछि मोटरबोट सन्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

आइतबारदेखि सञ्चालनका ल्याइएको मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क तोकिएको छ । मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ,  १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क तोकिएको कम्पनीले जनाएको छ । 

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौँतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ । 

स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप