मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी उत्तीर्ण दर २९ प्रतिशत मात्रै

सोमबार, ०३ वैशाख २०८१, ०६ : ५९
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । स्नातक तह, स्नातकोत्तर तह, एमफील तथा पीएचडी गरेर त्रिभुवन विश्वविद्यालयमा वार्षिक साढे चार लाखभन्दा बढी विद्यार्थी भर्ना हुन्छन् । देशभरका उच्च शिक्षा अध्यापन गराउने १८ वटा विश्वविद्यालय तथा प्रतिष्ठानमध्ये त्रिविमा झण्डै ८० प्रतिशत विद्यार्थी अध्ययन गर्छन् । 

विश्वविद्यालय अनुदान आयोगको तथ्याङ्कअनुसार सन् २०२१/०२२ (२०७८/०७९) मा देशभरका १८ वटा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा पाँच लाख ७९ हजार ४४८ विद्यार्थी भर्ना भएका छन् । तीमध्ये ७८.३६ प्रतिशत अर्थात् चार लाख ५४ हजार ६५ विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा भर्ना भएका थिए । 

उच्च शिक्षा अध्ययन गर्ने जम्मा विद्यार्थीको ७८ प्रतिशत त्रिविमा पढिरहेको भए पनि पास हुने दर भने निकै न्यून देखिन्छ । आयोगको तथ्याङ्क अनुसार सन् २०२१/०२२ मा त्रिविको पास हुने दर २९.३३ प्रतिशत देखिएको छ । 

Student pass rate

जबकि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शतप्रतिशत पासदर छ । त्यस्तै नेशनल स्वास्थ्य विज्ञान प्रतिष्ठान (नेम्स) को ९५ प्रतिशत, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विद्यार्थी पासदर ९२.४४ प्रतिशत रहेको आयोगको तथ्याङ्कले देखाएको छ । 

न्यून पासदर हुनेमा त्रिभुवन विश्वविद्यालयसँगै मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम र नेपाल संस्कृत विश्वविद्यालय रहेका छन् । यी विश्वविद्यालयहरूको नतिजा क्रमशः मध्यपश्चिमको २३.५ प्रतिशत, सुदूरपश्चिमको २०.६६ प्रतिशत र संस्कृत विश्वविद्यालयको ३१.०२ प्रतिशत पासदर छ । 

मेडिकल शिक्षा पढाइ हुने विश्वविद्यालय तथा प्रतिष्ठानको हकमा समेत त्रिविको नतिजा कमजोर देखिन्छ । परीक्षा नियन्त्रण कार्यालयहरू तथा डीन कार्यालयहरूले उपलब्ध गराएको तथ्याङ्कको आधारमा विद्यार्थीको पासदर तयार पारिएको आयोगले जनाएको छ । 

studetn data 1

सन् २०२१/०२२ मा १४ वटा विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानबाट ८८ हजार ९०२ विद्यार्थी दीक्षित भएका थिए । ती मध्ये ६३ हजार २२३ विद्यार्थी त्रिविका थिए । 

सबैभन्दा बढी विद्यार्थी पढ्ने, सबैभन्दा बढी विषयहरूमा अध्ययन गर्ने अवसर प्रदान गरेको त्रिविमा भने विद्यार्थी पासदर निकै कम हो । उक्त पासदरले विश्वविद्यालयमा हुने पढाइको गुणस्तर तथा शिक्षकहरू पढाइप्रति नै प्रश्न उठ्दै आएको छ । 

पासदर कम हुनुका विविध कारण

त्रिविमा विद्यार्थी कम पास हुनुका विविध कारण देखिएका छन् । विद्यार्थीको चापका आधारमा शिक्षकको व्यवस्थापन नहुनु, विद्यार्थीहरू नियमित रूपमा कक्षा कोठामा उपस्थित नहुनु जस्ता कारणले त्रिविको पासदर कम देखिएको विज्ञहरूको भनाइ छ । 

२० जना विद्यार्थी पास भएपछि त्रिविले उनलाई प्रश्न सोध्यो, ‘तपाईंको विषयमा २० जना मात्रै विद्यार्थी पास भए, यसको कारण के हो ?’ १३ जना विद्यार्थी नियमित पढ्न आउने गरेकोमा २० जना पास हुनु भनेको राम्रो भएको जवाफ उनको थियो ।  

त्रिविकै पूर्व डीन गुणनिधि न्यौपानेले अरू विश्वविद्यालयमा विद्यार्थीहरू फुलटाइम पढ्न आउने तर त्रिविमा कहिलेकाहीँ मात्रै आउने गरेको बताए । ‘अन्य विश्वविद्यालयमा फुलटाइम विद्यार्थी हुन्छन् । त्रिविमा भने भर्ना हुन्छन् । पढ्न कलेज आउँदैनन् । प्राइभेट दिन नपाउने भएकाले भर्ना मात्रै हुन्छन् । यहाँ आफैं पढेर परीक्षा दिन मात्रै आउँछन् । अन्य विश्वविद्यालयमा भने नियमित पढ्न जान्छन्,’ न्यौपानेले भने ।   

न्यौपाने कानुन विषयका प्राध्यापक हुन् । उनले कानुन विषय पढाउँदा ५०० जना विद्यार्थी भर्ना भएका थिए । जसमा १३ जना विद्यार्थी नियमित कक्षा कोठामा आउने गरेका थिए । पछि परीक्षा दिएर २० जना पास भए । 

२० जना विद्यार्थी पास भएपछि त्रिविले उनलाई प्रश्न सोध्यो, ‘तपाईंको विषयमा २० जना मात्रै विद्यार्थी पास भए, यसको कारण के हो ?’ १३ जना विद्यार्थी नियमित पढ्न आउने गरेकोमा २० जना पास हुनु भनेको राम्रो भएको जवाफ उनको थियो ।  

विद्यार्थी भर्ना हुने तर नियमित पढ्न नआउँदा समेत विद्यार्थीको पढाइको स्तर कमजोर देखिने उनको भनाइ छ । ‘विद्यार्थीहरूलाई फुलटाइम पढ्ने वातावरण हुँदैन । समय र परिस्थितिले गर्दा उनीहरू नियमित गएर पढ्न सक्दैनन् । त्यसको असर उनीहरूको पढाइमा हुन्छ,’ न्यौपानेले भने ।  

नेपालमा विद्यार्थीलाई पढाइसँगै रोजगारीको अवसर नहुँदा यस्तो समस्या आएको उनको भनाइ छ । ‘विदेश जाने विद्यार्थीहरू क्वालिटी एजुकेशनको लागि जाने होइनन् । उनीहरू त पढाइसँगै रोजगारीका अवसरका लागि जाने हुन् । नेपालमा  न राम्रोसँग पढ्ने वातावरण हुन्छ न त रोजगारी गर्न सकिने अवस्था । जसले गर्दा पढाइमा पनि कमजोर देखिन्छन्,’ उनले भने । 

त्रिविको समग्र नतिजा हेर्दा पासदर कमजोर देखिएको हो । तर कुनै विषयको भने पासदर निकै राम्रो देखिन्छ । जहाँ कम विद्यार्थी छन्, नियमित पढ्न आउँछन्, ती विषयको पासदर बढी देखिन्छ । 

परीक्षा नियन्त्रण कार्यालयका सहायक परीक्षा नियन्त्रक पवन बरालले सबै विषयको नतिजा कमजोर नभएको बताए । ‘केही विषयमा कमजोर नतिजा देखिएको छ । केही विषयमा राम्रै पनि छ । समग्रमा जोड्दा पासदर कम देखिएको हो,’ बरालले भने ।  

त्रिविमा पर्याप्त मात्रामा शिक्षक छैनन् । त्यस्तै गुणस्तरीय शिक्षा दिनका लागि आवश्यक पर्ने पूर्वाधारको समेत अभाव देखिन्छ । जसले गर्दा नतिजा मात्रै नभई शिक्षा प्रणालीमा समेत कमजोर देखिएको न्यौपानेको भनाइ छ । 

नतिजा कमजोर देखिनुमा विद्यार्थी, शिक्षक, विश्वविद्यालय तथा सरोकारवाला निकाय जिम्मेवार देखिन्छन् । त्यस्तै शिक्षकहरूले समेत गुणस्तरीय शिक्षा दिन नसक्दा र विश्वविद्यालयले दुवै पक्षका कमजोरी औँल्याएर समस्याको समाधान गर्न नसकेको देखिन्छ । शिक्षा मन्त्रालय लगायतका सरोकारवाला निकायहरूसमेत गम्भीर नबन्दा कमजोर नतिजा आउने गरेको न्यौपानेको भनाइ छ । 

गुणस्तरीय शिक्षा तथा विद्यार्थीलाई नियमित पठनपाठनको विकास गराउन त्रिविले सेमेस्टर प्रणाली लागू गरेको थियो । उक्त सिस्टम लागू गरे पनि नतिजामा भने सुधार आउने सकेको छैन । 

त्रिविमा पर्याप्त मात्रामा शिक्षक छैनन् । त्यस्तै गुणस्तरीय शिक्षा दिनका लागि आवश्यक पर्ने पूर्वाधारको समेत अभाव देखिन्छ । जसले गर्दा नतिजा मात्रै नभई शिक्षा प्रणालीमा समेत कमजोर देखिएको न्यौपानेको भनाइ छ । 

त्रिविमा जसरी नतिजाबारे प्रश्न उठ्ने गरेको छ, त्यही आधारमा राजनीतिक नेतृत्व तथा सरोकारवालामाथि प्रश्न उठ्ने गरेको छैन । ‘जुन तहमा आइरहेका कुराहरू ती सापेक्षिक रूपमा हेर्नुपर्छ । यसका त्रिविका पनि कमीकमजोरी छन्, तर, त्यो भन्दा बढी कमजोरी सरकार तथा राजनीतिक नेतृत्वको छ,’ न्यौपानेले भने, ‘विद्यार्थी बढिरहेका छन्, शिक्षक घटिरहेका छन् । शिक्षक दरबन्दी बढिरहेको छैन । भौतिक पूर्वाधारको अवस्था पनि कमजोर नै छ । अनि कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ।’ 

  • भिजन २०२०–२०३० कार्यान्वयनमा

समग्र विश्वविद्यालयलाई व्यवस्थित गर्न त्रिविमा भिजन २०२०–२०३० कार्यान्वयनमा छ । सन् २०२३ भित्रमा विश्वविद्यालयमा देखिएका विद्यमान समस्या अन्त्य गर्ने रणनीति छ । त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले ४० वर्ष विभागहरूलाई मर्जर गरेर १७ वटा स्कुलमा परिणत गर्ने योजना रहेको बताए । 

विद्यार्थीको पासदर निकै कम देखिएपछि यो विषयमा शिक्षा मन्त्रालयले चासो व्यक्त गरेको छ ।

‘कुनै विभागमा धेरै विद्यार्थी छन् । कुनैमा शून्य छन् । तर पनि विभाग चलिरहेका छन् । ४० वटा विभागलाई गाभेर १७ वटा स्कुल बनाउने योजना छ । यो भएपछि धेरै समस्याको समाधान हुन्छ,’ सूचना अधिकारी दाहालले भने । 

गुणस्तर सुधारका लागि विश्वविद्यालयले विभिन्न चरणमा काम गरिरहेको उनको भनाइ छ । नतिजा कमजोर हुनुका कारणहरूको पहिचान गर्दै त्यसको न्यूनीकरणका लागि काम भइरहेको बताए । 

  • शिक्षा मन्त्रालयको चासो

विद्यार्थीको पासदर निकै कम देखिएपछि यो विषयमा शिक्षा मन्त्रालयले चासो व्यक्त गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले एक महिने कार्यप्रगति विवरण सार्वजनिक गर्न २०८० चैत २३ गते आयोजित पत्रकार सम्मेलनमा पासदर कम भएको विषयमा चासो व्यक्त गरेकी थिइन् । 

के कति कारणले विद्यार्थी पासदर कम भएको ? सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा मन्त्रीले त्रिविसँग चासो व्यक्त गरेकी हुन् । उनले त्रिविका उपकुलपति प्राडा केशरजंग बराललाई विद्यार्थी कम पास हुनुको कारणबारे जानकारी लिएकी छन् । त्यसमा देखिएका समस्या समाधान गर्न ? के गर्नुपर्छ भन्ने विषयमा समेत मन्त्री श्रेष्ठले उपकुलपतिसमक्ष जवाफ मागेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप