सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इरान–इजरायल तनावका कारण घट्यो तेलको मूल्य

सोमबार, ०३ वैशाख २०८१, १२ : ५३
सोमबार, ०३ वैशाख २०८१

एजेन्सी । कच्चा तेलको भाउ घटेको छ । सप्ताहान्तमा इरानले इजरायलमाथि जवाफी हमला गरेपछि एसियाली बजारमा बिहानी कारोबारमा तेलको भाउ दबाबमा आएको थियो । सोमबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९० डलर आसपास किनबेच भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार मध्यान्ह १२ बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव २१ प्रतिशतको कमीसहित ८९ डलर ९६ सेन्टमा किनबेच भइरहेको थियो । सोही समयमा यूएस क्रुडको भाउ पनि शून्य दशमलव २८ प्रतिशतले घटेर प्रतिब्यारेल ८५ डलर १८ सेन्टमा आएको थियो । इरानले प्रतिकार गर्ने अपेक्षामा ब्रेन्टको भउ गएको हप्ता ६ महिनायताकै उच्च स्तरमा उक्लिएको थियो ।

इरानसँगको लडाई सकिनसकेको इजरायली रक्षामन्त्री योआभ गलन्टले भनेका छन् । तेलको भाउ ९० डलरभन्दा तलै रहन सक्ने देखिए पनि यतिबेला व्यापारीहरू गाजा र युक्रेनमा चलिरहेको युद्धसम्बन्धी जोखिममा केन्द्रित रहेकोले भाउ धेरै घट्न नसक्ने ऊर्जा विश्लेषक भन्दना हरिले भनेकी छिन् ।

आक्रमणप्रति इजरायलको प्रतिक्रिया आगामी दिन र हप्ताहरूमा विश्व बजारका लागि अहम हुने विश्लेषकहरूले बताएका छन् ।  इजरायलले इरानी कदमप्रति थप प्रतिक्रिया जनाएमा तेलको भाउमा उतार चढाव आउन सक्ने ट्रेडिङ प्लेटफर्म एक्स एम डटकमका पिटर म्याकगुएरले  बताए । 

सोमबार एसिया–प्रशान्त क्षेत्रको शेयर बजार पनि ओरालो लागेको थियो । हङकङमा हाङशेङ, जापानको निक्केई २२५, दक्षिण कोरियाको कोस्पी सबै रंगिएका थिए । चीनको शाङ्घाई स्टक एक्सचेन्ज कम्पोजिट भने १ प्रतिशतभन्दा माथि थियो । सुनको भाउ पनि बढेर कीर्तिमानी स्तर नजिक छ ।

अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको  इरानी वाणिज्य दूतावासमा आक्रमणको प्रतिकारमा इरानले सप्ताहान्तमा इजरायमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । 

सप्ताहान्तमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९२ डलर १८ सेन्ट कायम भएको थियो । यो अक्टोबरयताकै  उच्च थियो । इरान विश्वको सातौँ ठुलो कच्चा तेल उत्पादक देश हो । यो पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन ओपेकको तेस्रो ठुलो तेल उत्पादक पनि हो । होर्मुज स्टेटबाट हुने तेलको ढुवानी प्रभावित हुन्छ कि हुँदैन भन्नेमा तेलको भाउ निर्भर रहने विश्लेषकहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप