मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय समिति

अन्तर्राष्ट्रिय समितिको बैठक छाडेर हिँडे परराष्ट्रमन्त्री श्रेष्ठ

मङ्गलबार, ०४ वैशाख २०८१, ११ : २७
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । तोकिएको समयमा बैठक सुरु नगरेपछि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक छाडेर हिँडेका छन् । 

मंगलबार सिंहदरबार स्थित समितिको हलमा साढे १० बजे समितिको बैठक बोलाइएको थियो । मन्त्री श्रेष्ठ १० बजेर २८ मिनेटमा अर्थात् २ मिनेट अगाडि नै बैठक हलमा आइपुग्दा एक जना मात्र सांसद सुनिता बराल रहेकी थिइन् । 

समिति सभापति राजकिशाेर यादव मन्त्री बैठक कक्षमा आएको ८ मिनेटपछि हलमा प्रवेश गरेका थिए । 

मन्त्री श्रेष्ठले १०:४५ बजेसम्म सांसदहरूको प्रतीक्षा गरे तर बैठक सञ्चालनका लागि १४ जना सांसद नपुगेपछि उनले आफ्नो अरू पनि काम भएकाले सांसदहरूलाई कुरेर बस्न नसक्ने भन्दै बैठक छाडेर मन्त्रालयतिर लागे । 

मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव तथा कर्मचारीहरू पनि समितिबाट बाहिरिए । 

मन्त्री श्रेष्ठ निस्किएपछि नेमकिपा सांसद प्रेम सुवाल लगायतका केही सांसद आएपनि बैठक स्थगित भयो । समितिका सभापति र सांसदहरू समय पालनामा अनुशासित नहुँदा तयारीका साथ संसदीय समितिमा आएका मन्त्री फिर्ता हुनुपरेको छ । 

आजको बैठकमा मन्त्रीस्तरबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण माग्ने, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेश स्थित नेपाली नियोगहरूको विवरण, तिनको वर्तमान अवस्था, भोग्नुपरेको समस्या र सुधारका पक्षहरू बारे छलफल गर्ने कार्यसूची राखिएको थियो । 

बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप