मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

बुधबार, ०५ वैशाख २०८१, ११ : ३७
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार लामा बुधबार काठमाडौँबाट पक्राउ परेका हुन् । 

लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 

पुनरावेदन अदालत पाटनको उक्त निणर्यविरुद्ध दावा पुनरावेदन लिएर सर्वोच्च अदालत गएका थिएनन् । सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौँ जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको थियो । यससँगै लामा उच्च अदालतको फैसला कार्यान्वयनका लागि जेल जानुपर्ने निश्चित भएको थियो । यससम्बन्धी समाचार रातोपाटीमा प्रकाशित भएको थियो ।

यो पनि

  • यस्तो थियो घटना

२०६१ साल साउन ८ गते काठमाडौँको वनस्थलीबाट ५ ग्राम खैरो हिरोइनसहित दावा लामा पक्राउ परेका थिए । साबिकको सर्लाही जिल्ला साखापुर गाविस वडा नम्बर १ घर भएका लामालाई काठमाडौँको वनस्थली चोकबाट पक्राउ गरिएको थियो । 

तत्कालीन समयमा २० वर्षका रहेका भनिएका दावाको साथबाट खैरो हिरोइन बरामद भएको र बयानमा उक्त खैरो हिरोइन बेचबिखनका लागि लिई हिँडेको भनेर बयान दिएपछि प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दावालाई लागु औषध नियन्त्रण ऐन अन्तरगत कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बयान गर्ने क्रममा दावाले आफ्ना नजिकका नाता पर्ने नवीन लामा र हरि पाठक भन्ने व्यक्तिसँग मिलेर खैरो हिरोइनको बेचबिखन गर्ने गरेको बयान दिएका थिए । 

प्रहरीले मिसिलसाथ पेश गरेको लागु औषधको परीक्षण प्रतिवेदनमा नमुना जाँच परीक्षण गर्दा उक्त नमुनामा लागु औषध हेरोइन (डाईएसिटाल मर्फिन) पाइयो भन्ने प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा लामालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ देहाय (घ) (ङ) र (च) को कसुर अपराधमा सोही ऐनको दफा १४ (१) (छ) (१) बमोजिम सजाय हुन माग दाबी लिइएको थियो । 

तर, लामाले काठमाडौँ जिल्ला अदालतमा पुगेर बयान गर्दा भने कारोबारमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । दावा लामाले नवीनको साथबाट बरामद भएको तर नवीनलाई कुटपिट गरी छाडिदिएको र आफूलाई मात्रै पक्राउ गरेको भने पनि अदालतले समेत सो कुरालाई पत्याएन । 

अनि सुरुमा काठमाडौँ जिल्ला अदालतले लामालाई तत्काल प्राप्त प्रमाणबाट उनी निर्दोष हुन् भनी भन्न नसकिने भन्दै थुनामा पठायो । अदालतमा साक्षी बकपत्र हुँदा दावका साक्षी फुर्सङ लामाले दावाले खैरो हिरोइनको विक्री वितरणका लागि हिँडेको होइन र सेवन गरेको पनि थाहा छैन भनी बयान दिए । बुझिएका व्यक्ति होम विक्रम कार्कीले बकपत्र गर्दा दावाको साथबाट खैरो हिरोइन बरामद भएको हो, तर कहाँबाट ल्याएका हुन् थाहा छैन भनी बकपत्र गरिदिए ।

सो मुद्दामा १० महिनापछि २०६२ जेठ १० गते काठमाडौँ जिल्ला अदालतले फैसला सुनाउँदै ५ ग्राम खैरो हिरोइन विक्री वितरणका लागि पर्याप्त होइन भन्दै दावालाई लागुऔषधको सेवनमा दोषी ठहर गरी ६ महिना कैदको फैसला सुनाइयो । 

काठमाडौँ जिल्ला अदालतको फैसलामा भनिएको थियो, ‘बरामद भएको ५ ग्राम लागु औषध कारोबारको लागि पर्याप्त हो भनी भन्न नसकिने र प्रतिवादीले कहिले काहीँ सेवन गर्ने गरेको भन्ने कुरा समेत निजको बयानबाट देखिएकोले यी प्रतिवादीको सेवन सम्मको कसुर कायम हुन सक्ने यी प्रतिवादीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (छ) को कसुरमा ऐ को दफा १४ (१) (ङ) बमोजिम ६ महिना कैद हुने ठहर्छ ।’

अदालतको फैसलासँगै १० महिना कैद भुक्तान गरिसकेका लामा थुनामुक्त भए । तर सरकारी वकिललाई काठमाडौँ जिल्ला अदालतको फैसला चित्त बुझेन । सरकारी वकिल कार्यालय पुनरावेदनको निवेदन लिएर तत्कालीन पुनरावेदन अदालत पाटन पुग्यो । पुनरावेदन अदालत पाटनले दावा लामालाई सेवनमा मात्रै दोषी कायम गरी गरिएको फैसला प्रमाणको रोहमा नमिली फरक पर्न सक्ने भएकाले प्रत्यर्थी झिकाउने आदेश भयो ।

२०६४ जेठ २० गते फैसला सुनाउँदै दावा लामाले सेवनका लागि नभई विक्री वितरणकै लागि लागु औषध बोकेको र विक्री वितरण गर्ने गरेको बयान समेत दिएको कारण उनलाई विक्री वितरणमै दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनायो ।

पुनरावेदन अदालत पाटनले फैसलामै बाँकी कैदको कुरा उल्लेख गरी पुनरावेदनको म्यादसमेत दिन भनेको थियो । यसरी प्रतिवादी दावा लामामाथि लागु औषध कारोबारको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सेवनमा मात्रै ठहरी ६ महिना कैद सजाय गरेकामा पुनरावेदन अदालत पाटनले भने कारोबारी रहेको भन्दै ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । 

२०६४ जेठ २० गते भएको फैसलाको पूर्ण पाठ आएपछि २०६४ कात्तिक १२ गते उच्च अदालत पाटनले पुनरावेदनको म्याद जारी गरेको थियो । पुनरावेदनको म्याद रीतपूर्वक तामेल भएको र उक्त म्याद दावाका एकाघरका दाजु केशव लामाले बुझेको मिसिलबाट देखिएको छ । तर, त्यसपछि दावा पुनरावेदन लिएर सर्वोच्च गएको देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप