मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

व्यायाम गरेर घटाउन सकिन्छ बुढ्यौलीपन ? के भन्छन् वैज्ञानिक ?

बुधबार, ०५ वैशाख २०८१, १२ : ५४
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । हामी किन बुढो हुन्छौँ ? बुढ्यौलीको विज्ञान अहिलेको जल्दो बल्दो विषय पनि हो । हाम्रो क्रोमोजोम, कोशिकाहरूमा पर्ने दबाब र हाम्रो व्यवहार र वातावरणले गराउने परिवर्तनका कारण जिनको कार्यसम्पादनको तरिकामा पर्ने असर आदि बुढ्यौली निम्त्याउने कारक हुन् । यी परिवर्तनलाई उपचार गरेर पनि सुधार्न वा उल्ट्याउन सकिन्न । तर बुढ्यौली सुस्त पार्ने कुनै तरिका छन् त ?

अप्रिल १२ मा नेचर एजिङ जर्नलमा प्रकाशित एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले बुढ्यौलीमा मुख्य भूमिका निर्वाह गर्ने विशेष खालको फ्याट अर्थात् लिपिडको पहिचान गरेका छन् । बीस(मोनोअसिलग्लिसरो)फस्फेट (बीएमपी) भनिने यो लिपिड युवा भन्दा बुढा मानिसको मांसपेशीमा उच्च मात्रामा पाइन्छ । छोटो समय व्यायाम गर्दा पनि यसमा कमी आउन सक्ने देखिएको छ । अहिलेसम्म बुढ्यौलीबारे भएका अध्ययनमा लिपिडबारे विस्तृत अध्ययन भएको छैन । यो अध्ययनमा वैज्ञानिकहरूले मुसा र मानवको कयौँ तन्तुमा भएको परिवर्तनहरूको व्यापक विश्लेषण गरेका थिए ।

कोलेस्टेरोल जस्ता सामान्य बोसोले बुढ्यौली र कोरोनरी आर्टरीसम्बन्धी रोग गराउँछ भन्ने त वैज्ञानिकहरूले बुझेका छन् । तर लिपिड  जस्ता जटिल बोसोबारे खासै धेरै थाहा थिएन । अनुसन्धाताहरूले युवा र बुढो मुसामा पाइने बोसोको विश्लेषण गरेर बुढ्यौली र लिपिट बोसोबीचको सम्बन्ध बुझ्ने कोसिस गर्न थाले । लिपिडोमिक्स प्रविधि प्रयोग गरेर १० फरक फरक तन्तुको अध्ययन गर्दा १ हजार २०० भन्दा धेरै खालको लिपिड भेटियो । अधिकांश तन्तुको अध्ययनको क्रममा बुढा मुसामा बीएमपीको स्तर लगातार बढेको पाइयो ।

त्यसपछि विविध उमेर समूहका मानवबाट सङ्कलन गरिएको तन्तुको विश्लेषण गरियो । यसमा पनि बुढा तन्तुमा बीएमपीको मात्रा धेरै भेटियो । बीएमपीका कारण बुढ्यौली बढेको हो कि बुढ्यौलीसँगै यो थुप्रिएको हो भन्नेबारे थप अनुसन्धान हुन आवश्यक रहेको बताइएको छ । तर अध्ययनमा दैनिक रूपमा छोटो समय मात्रै गरिने व्यायामले  पनि मानवको छिट्टै मृत्युको खतरा घटाउने प्रमाणले देखाएका छन् । व्यायाम र लामो आयुबिच निकट सम्बन्ध रहेको यस अघि भएका कयौँ अध्ययनहरूले पनि देखाइसकेका छन् ।

अध्ययनको दोस्रो चरणमा अनुसन्धानकर्ताहरूले लगातार चार दिनसम्म व्यायाम गरेको एक घण्टा अघि र पछि मान्छेको मांसपेशीमा जम्मा भएको लिपिडको मात्रा केलाए । अनि यसलाई सोही अवधिमा अधिकांश समय बसिरहेका मानिसको मांसपेशीमा थुप्रिएको लिपिडसँग तुलना गरिएको थियो । अचम्मको कुरा छोटो अवधिमा व्यायाम गर्दा पनि बीएमपी स्तरमा निकै घटेको पाइएको छ । उमेरसँगै मुसा र मानव दुबैमा बोसोको मात्रा बढेको पाइएको छ । तर व्यायामले उमेरका कारण शरीरमा थुप्रिने बोसो कम गर्न सकिने अध्ययनले देखाएको छ ।

बुढ्यौलीलाई उल्ट्याउन सकिन्छ भन्ने अवधारणा लामो समयदेखि साइन्स फिक्शनको ठानिदैं आएको छ । तर पछिल्लो अध्ययनबाट फेला परेको तथ्यहरूले भने बुढ्यौलीको प्रक्रियाबारे कयौँ कुरा बुझ्न मद्दत गरेको छ । वैज्ञानिकहरुले बीएमपी किन थुप्रिएर बस्छ र यसलाई घटाउन व्यायामबाहेकका अन्य कुनै तरिका छन् कि भनेर थप अध्ययन गर्ने भएका छन् । तर अहिलेका लागि छरछिमेक आसपास साँझ बिहान एक छिन डुल्दा वा दौडिँदा पनि हामी अलि धेरै बाँच्न मद्दत गर्ने रहेछ भन्ने बुझौँ न ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप