शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

ओलीले अझै स्वीकारेनन् अदालतको आदेश

भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
शनिबार, ०८ वैशाख २०८१, १३ : ४३
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले गरेको संसद विगठन र सरकारमा बहुमत नपुगेर सरकार छोडेको कुरालाई संविधानको अपव्याख्या गरेर हटाएको बताएका छन् । 

गोदावरीमा चलिरहेको नेकपा एमालेले प्रतिनिधि परिषद् बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उनले विगतका ‘संविधानको अपव्याख्याका आधारमा सरकारबाट विस्थापन’ गरिएको उल्लेख गरेका छन् । 

पार्टीको समीक्षा गर्दै उनले १० औँ महाधिवेशन अराजकता र अवसरवादको सङ्गठनात्मक विजयको महाधिवेशन रहेको बताए । 

अध्यक्ष ओलीले भने– ‘पार्टी विभाजनका दुष्प्रयास, संविधानको अपव्याख्याका आधारमा सरकारबाट विस्थापन, चौतर्फी घेराबन्दी र आक्रमणका बिचमा २०७८ असोज १५–१७ मा विधान महाधिवेशन तथा मङ्सिर १० गतेदेखि १४ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरिएको थियो । आज फर्केर हेर्दा हामी स्पष्टसँग भन्न सक्छौँ, ती महाधिवेशनहरू दक्षिणपन्थी अवसरवाद र अराजकतामाथि सङ्गठनात्मक विजयको रूपमा रहेको थियो ।’

उनले विभाजनको मनोविज्ञानलाई चिर्न, क्रान्तिका सिद्धान्त, कार्यदिशालाई अद्यावधिक गर्न एवं पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र अग्रगति दिन ती महाधिवेशनहरू अत्यन्तै सफल रहेको बताए । 

उनले नेपाली कम्युनिस्ट आन्दोलनमा पहिलो पटक नीति र विधिमा मात्र बहस गर्ने गरी पहिलो पटक विधान महाधिवेशन आयोजना गरिएको बताए । ६ हजार ३ सय भन्दा बढी प्रतिनिधि सहभागी भएको सो महाधिवेशनले एमालेको एकता अक्षुण्ण रहेको पार्टी विभाजनका शक्ति कमजोर रहेको र पार्टी मजबुत रहेको अवगत गराएको उल्लेख गरे ।  

उनले भने– ‘विगतमा नीति र नेतृत्वको विषय एकै ठाउँमा छ्यासमिस हुँदा नीतिमाथिको छलफल ओझेलमा परेको, वस्तुनिष्ठ, स्वस्थ र नीतिकेन्द्रीत बहस हुन नसकेको र कहिलेकाहीँ नेतृत्वको आकांक्षा पूर्तिका लागि मात्रै कृत्रिम ढङ्गले नीतिको विवाद सिर्जना गरिएका नमिठा अनुभव समेत बोक्दै आयौँ । त्यसबाट पाठ सिक्दै आयोजना गरिएको नीति महाविधेवशनले नीतिका प्रश्नमा खुलस्त, जीवन्त, स्वस्थ ढङ्गले प्रस्तुत हुन प्रोत्साहित गर्‍यो ।’

दक्षिणपन्थी अराजकता र अवसरवादलाई परास्त गरेको र जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने नाराका साथ आयोजना गरेको विधान महाधिवेशनले जनताको बहुदलीय जनवादको सान्दर्भिकता, औचित्य र महत्वलाई पुनर्पुष्टि गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप