शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

निःसन्तानको समस्या के हो ? कसरी जोगिने ? (भिडियो)

आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । पछिल्लो समय निःसन्तानको समस्या बढेको छ । ढिलो विवाह गर्ने, वैदेशिक रोजगारीमा जाने, वंशाणुगत रोगजस्ता कारणले निःसन्तान हुने समस्या बढेको हो । यस्तो समस्या समाधान गर्नका लागि चिकित्सकहरूले आईयूआई र आईभीएफ (टेस्टटुयुब बेबी) प्रविधि अपनाउन थालेका छन् । निजी स्वास्थ्य संस्थाको तुलनामा सरकारी निकायमा सस्तोमा यी प्रविधिबाट सन्तान प्राप्त गर्न सकिने निःसन्तान विशेषज्ञ तथा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) का निर्देशक डा. श्रीप्रसाद अधिकारी बताउँछन् ।

परिवार नियोजनको साधन प्रयोग नगरी कम्तीमा एक वर्षसम्म पनि गर्भ रहेन भने त्यसलाई निःसन्तानको समस्या मानिने डा. अधिकारीले बताए । ‘वर्ष दिनसम्म कुनै अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्बन्ध राख्दा गर्भ बसेन भने निःसन्तानको रूपमा लिन्छौँ,’ उनले भने ।

  • निःसन्तानको समस्या के कारणले हुन्छ ?

डा. अधिकारीका अनुसार ढिलो विवाह गर्ने, वैदेशिक रोजगारीमा जाने, वंशाणुगत रोगजस्ता कारणले निःसन्तान हुने समस्या हुन्छ । ‘मुख्य कारण उमेर हो । २० वर्ष उमेरमा महिलाको अण्डा उत्पादनको क्षमता राम्रो हुन्छ,’ उनले भने, ‘३० वर्ष कटिसकेपछि अण्डा उत्पादन गर्ने क्षमता त्यति हुँदैन, ३५ वर्षपछि झन् घट्दै जान्छ, ४० वर्ष भएपछि झनै रहँदैन ।’

यस्तै, खानपानको कारणले पनि निःसन्तान हुने समस्या देखिने उनले बताए । ‘शारीरिक व्यायाम कम हुने, खानामा जङ्कफुड खाने भएकाले अण्डाको परिमाण ह्रास हुँदै जान्छ,’ उनले भने, ‘उमेर बढ्दै जाँदा पाठेघरको रोग बढ्दै जान्छ, नली ब्लक हुने समस्या बढ्दै जान्छ । धेरै जनासँग यौन सम्बन्ध पनि निःसन्तान हुने एउटा कारण हो ।’

निःसन्तानकोे समस्या भएका करिब ९० प्रतिशतले चिकित्सकको सल्लाह अनुसार सामान्य उपचार, खानपिनमा परिवर्तन, शारीरिक व्यायामको माध्यमबाट पनि बच्चा जन्माउन सक्ने डा. अधिकारीले बताए ।

shree prasad adhikari-001

  • कस्तो अवस्थामा गर्ने आईयूआई ?

पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि नै आईयूआई (इन्ट्रा यूटेरिन इन्सेमिनेशन) हो । शुक्रकीट र पाठेघर स्वस्थ भएमा १० देखि १५ प्रतिशतमा यो विधि सफल हुन्छ । निःसन्तानको समस्या भएकामध्ये ५ प्रतिशत ७ प्रतिशतलाई आईयूआई सेवा दिइने डा. अधिकारीले बताए ।

उमेर बढ्दै जाँदा महिलाको अण्डा समयमा नबन्ने भएकामा अण्डा बन्ने औषधिहरू दिने, शुक्रकीटको मात्रा कम भएकाहरुको शुक्रकिटलाई सफा गरेर स्वस्थ शुक्रकीटलाई पाठेघरमा राख्ने विधिलाई आईयूआई भनिने डा. अधिकारीले बताए ।

उनका अनुसार आईयूआई सजिलो, सस्तो र सरल विधि हुन्छ । प्रसूति गृहमा यो प्रविधि ६ हजार रुपैयाँमा उपलब्ध हुने उनको भनाइ छ ।

  • कस्तो अवस्थामा गर्ने आईभीएफ ?

आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन) प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि पाठेघरभित्र राखिन्छ । ढिलो बच्चा जन्माउने, बच्चा बस्ने नली बन्द भएमा, प्राकृतिक तरिकाले बच्चा नबसे, आईयूआई धेरै पटक असफल भएमा, शुक्रकीटको मोर्टलिटी कम भएमा आईभीएफ प्रक्रियाबाट बच्चा जन्माउन सकिने डा. अधिकारीले बताए ।

यो विधिबाट सन्तान जन्माउनका लागि प्रसूति गृहमा ३५ हजार रुपैयाँ सेवाशुल्क लाग्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया