बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

जसपाले माओवादीसँग मधेसको बदला लुम्बिनीमा लियो

आइतबार, ०९ वैशाख २०८१, १६ : ४७
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले माओवादी केन्द्रसँग मधेस प्रदेशको बदला लुम्बिनी प्रदेशमा लिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैशाख ४ गते विश्वासको मत लिन लाग्दा माओवादी केन्द्रले दुई वटा मन्त्रालय पाए मात्र मत दिने अडान लिएको थियो । त्यतिबेला माओवादी केन्द्र एउटा मन्त्रालय लिएर जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी थियो ।

माओवादी केन्द्रले मुख्यमन्त्री सरोज यादवलाई थप मन्त्रालयका लागि दबाब दिइरहेको थियो । मधेस प्रदेश माओवादी संसदीय दलका नेता भरत साहले पटकपटक दबाब मात्र होइन, एक पटक त तत्कालीन मन्त्री सुनिता यादवलाई फिर्ता नै बोलाएका थिए । माओवादी केन्द्रले जसपा नेतृत्वको सरकार छाड्ने निर्णय पनि गरिसकेको थियो । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशनपछि माओवादी केन्द्रले सो निर्णय फिर्ता लिएको थियो ।

गत फागुन ६ गते मुख्यमन्त्री सरोज यादवले तेस्रो पटक विश्वासको मत लिन लाग्दा माओवादी केन्द्रले पुनः जसपासँग बार्गेनिङ गरेको थियो । माओवादीलाई मुख्यमन्त्री वा दुई वटा मन्त्रालय चाहियो भनेर संसदीय दलका नेता साहले बार्गेनिङ गरेका थिए ।

तर जसपाका मुख्यमन्त्री यादवले एउटा मन्त्रालयबाहेक अरू केही दिन सकिँदैन भनेपछि नेता साहले जसपा नेतृत्वको सरकार ढाल्नका लागि भारतको सुरसन्डमा माओवादीसहित लोसपा, जनमत र कांग्रेसका प्रदेश सांसदहरूको बैठक राखेका थिए । तर त्यो बैठक अगाडि बढ्न सकेन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाले एकभन्दा बढी मन्त्रालय दिन नसक्ने प्रस्ट पारेपछि जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिरले राजीनामा दिएको जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवले बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रबाट हस्तक्षेप गरेपछि नेता भरत साह पछाडि हटेका थिए र मुख्यमन्त्री यादवले विश्वासको मत पाएका थिए ।

वैशाख ४ गते विश्वासको मत लिन लाग्दा माओवादी केन्द्रको उही पुरानो अडान दोहोरियो । मुख्यमन्त्री या दुई वटा मन्त्रालय पाए मात्र सरकारलाई विश्वासको मत दिने, नभए नदिने अडानमा नेता भरत साह उभिएका थिए । उनले माओवादी केन्द्रबाट मन्त्री बनेकी सुनिता यादवलाई राजीनामा दिन भनिसकेका थिए ।

तर यसपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा हस्तक्षेप गरेनन् । जसपाले माओवादीलाई दुई वटा मन्त्रालय दिने सहमति गरे पनि सधैँ आलटाल गर्दै आइरहेको थियो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पनि यसमा हस्तक्षेप नगरेपछि जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई दुई वटा मन्त्रालय दिन तयार भए ।

यसको बदला जसपाले लुम्बिनी प्रदेशमा लिएको छ । जसपाले मधेस प्रदेशमा माओवादीलाई दुई वटा मन्त्रालय दिएपछि लुम्बिनी प्रदेशमा उसले पनि माओवादी केन्द्र नेतृत्वको सरकारमा दुई वटा मन्त्रालय माग्न थाल्यो ।

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आफूहरूलाई दुई वटा मन्त्रालय दिने सहमति गरेको भन्दै जसपाका नेताहरूले दुई मन्त्रालय माग गरे । जबकि महरा नेतृत्वको सरकारमा जसपाबाट एक जना मन्त्री सहभागी भइसकेका थिए ।

मधेस प्रदेशमा माओवादीले जबरजस्ती दुई वटा मन्त्रालय लिएपछि जसपाले लुम्बिनी प्रदेशमा पनि दुई वटा माग्न थाल्यो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाले एकभन्दा बढी मन्त्रालय दिन नसक्ने प्रस्ट पारेपछि जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिरले राजीनामा दिएको जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवले बताए ।

उनले भने, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले जसपालाई दुई वटा मन्त्रालय दिने सम्झौता गर्नुभएको छ, एउटा थप मन्त्रालय नदिएको कारण हाम्रो पार्टीका मन्त्रीले राजीनामा दिनुभएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप