शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘यस्तो कुरा गर्‍यो भने रविजीका मान्छे बुरुक्क उफ्रिन्छन् र गालीगलौजमा उत्रिन्छन्’

मोबाइलमा पठाएको सूचनाले केपी ओली कुनै कार्यक्रममा जानुहुन्छ होला ? :  डा. भीम रावल
सोमबार, १० वैशाख २०८१, १२ : ४३
सोमबार, १० वैशाख २०८१

नेकपा एमालेका नेता डा. भीम रावल अहिले बनेको सत्ता समीकरणले सम्बन्धित दल र व्यक्तिका लागि भलो गरे पनि देश र जनतालाई भलो नगर्ने दाबी गर्दछन् । यो गठबन्धन स्वार्थ समूहको गठजोड भएकोले स्वार्थ नमिल्ने बित्तिकै भत्किने उनको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले सहकारीको अर्बौँ रुपैयाँ घोटाला गरेर, ब्रह्मलुट गरेर लाखौँ जनताको आँसुको धारा बगाउने स्थिति आउनु भनेको अर्थतन्त्रको एउटा खम्बा ढाल्ने देशद्रोही काम रहेको पनि प्रस्ट पारे ।

पछिल्लो समय नेकपा एमालेभित्र सामान्य हैसियतमा रहेका रावलसँग समसामयिक राजनीतिका बारेमा रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, रावलसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • पछिल्लो सत्ता समीकरणबारे तपाईंको प्रतिक्रिया के हो ?

चाहे हिजोका हुन् या आजका, प्रत्येक सत्ता समीकरण केवल सत्ता स्वार्थमा केन्द्रित हुन् । यी समीकरण राष्ट्र हितलाई ध्यानमा राखेर, राष्ट्र र जनताका गम्भीर र ज्वलन्त समस्याहरू समाधान गर्ने कुनै लक्ष्य र उद्देश्य राखेर बनेको वा बनाइएका होइनन् ।

अमूकअमूक व्यक्तिलाई पदमा पुर्‍याउने, राज्यका विभिन्न निकाय नियन्त्रणमा लिएर सुविधा लिने र राज्यको जुन मान्यता र चरित्र हो, त्यसलाई ध्यानमा राखेर मुलुकलाई कुनै गन्तव्यमा पुर्‍याउने देखिँदैन ।

  • तर एमाले अध्यक्ष केपी ओलीले नयाँ समीकरणपछि राजनीति केही अनुकूल बनेको, जनतामा आशा र भरोसा पुनर्जागृत भएको भन्नुभएको छ नि त ?

सम्बन्धित पार्टी र व्यक्तिको लागिचाहिँ अनुकूल भएको छ ।

  • राष्ट्र र जनताले चाहिँ केही पाउँदैनन् ?

राष्ट्रका लागि के अनुकूल भयो, भन्न सक्नुपर्‍यो नि त ! हामीले असमान सन्धि–सम्झौताबाट देशलाई मुक्त गर्न खोज्यौँ कि, बिदेसिने युवालाई रोक्ने ठोस योजना ल्यायौँ कि, विदेशी हस्तक्षेप नाङ्गो छ, त्यसलाई रोक्ने कुरा केही छ कि ! त्यो केही छैन । अनि के पाउँछ ?

  • शङ्काको लाभ नै दिने हो भने पनि निश्चित विचार, सिद्धान्त, कार्यक्रम भएका दलहरू एक ठाउँमा आए, अब राजनीति सही दिशातर्फ फर्किन्छ भनेर आशा गर्न पनि सकिँदैन त ?

घोषणासहित आएको भए मिल्थ्यो । जस्तो एउटा समाजवादी मोर्चा बन्यो । इलाम र बझाङको उपनिर्वाचनमा के भइरहेको छ ? मोर्चामा रहेका माओवादी र एकीकृत समाजवादी नै एक ठाउँमा छैनन् । अनि अहिलेको समीकरणमा रवि लामिछाने, उपेन्द्र यादवजीहरू कुन वामपन्थी भएर समावेश हुनुभएको हो ?

विदेशी राजदूत, आईएमएफ, विश्व बैंकका प्रतिनिधिसँग भेटेर अर्थमन्त्रीले  ‘तपाईंहरूले जे भन्नुहुन्छ, हामी त्यहीँ मान्छौँ’ भनिरहनु भएको छ । अनि कहाँनेर वामपन्थी भयौँ हामी ? अहिलेको समीकरणमा रहेका दलहरूले जारी गरेको न्यूनतम साझा कार्यक्रमको एउटा बुँदामा नागरिकता सहज बनाइने छ भन्ने छ । नागरिकता कसका लागि सहज बनाउने हो ? नेपालीका लागि त सहजै छ नि !

कसैको गार्ड बसेको भरमा आठ नम्बरको व्यक्तिलाई एक नम्बरमा लगेर प्रहरीमा बढुवा गरियो । सीआईबीमा व्यापक सरुवा गरियो । यस्तो बेथिति कसले गर्दैछ ?
  • यसो गर्दा पनि हुँदैन, उसो गर्दा पनि हुँदैन भन्नुहुन्छ । यसको मतलब एमाले–कांग्रेस मिलेर सरकार बनाउने विकल्प बाँकी छ, त्यही गर्दा राम्रो हुन्छ भन्ने तपाईंको भनाइ हो ? साना दलका कारण अस्थिरता भयो भन्ने पनि छ नि ?

२०४८ सालमा बनेको बहुमतको सरकार ढालेर राजनीतिक अस्थिरता सिर्जना गर्ने गिरिजाप्रसाद कोइराला होइनन् ? दश वर्षसम्म देशलाई हिंसामा लगेर खर्बौँ खर्बको क्षति गर्ने, अनि ४० सूत्रीय माग राखेर जसमा एकदेखि ९ नम्बरसम्म राष्ट्रियताका माग राख्ने व्यक्ति नै आज प्रधानमन्त्री छन्, होइन ? अनि ती माग आगोले खायो कि, माटोले पुर्‍यो कि, पानीले बगायो कि ? अनि संसद् भङ्ग गर्ने शेरबहादुर देउवा होइनन् ? ०७४ सालमा झण्डै दुई तिहाइको सरकार भङ्ग गर्ने केपी ओली होइनन् ? अनि साना दलहरूका कारण अस्थिरता भएको हो ?

  • यसको मतलब पुराना असफल भए, अब नयाँ दलको भरोसा गरौँ भन्ने हो त ?

कुनै चिज नयाँ हुँदैमा गजब हुने, पुराना हुँदैमा नगजब भन्ने हुँदैन । अहिलेसम्म राष्ट्रिय हित सर्वोपरि हो भन्ने कुरालाई विचार गरेर तदनुकूलका विचार, सिद्धान्त र व्यवहार एकरूप गरेर जनताका अघि स्पष्ट विकल्प ल्याएको देखिँदैन ।

कसैको गार्ड बसेको भरमा आठ नम्बरको व्यक्तिलाई एक नम्बरमा लगेर प्रहरीमा बढुवा गरियो । सीआईबीमा व्यापक सरुवा गरियो । यस्तो बेथिति कसले गर्दैछ ? अनि के तात्त्विक भिन्नता भयो त ?

अस्थिर बनाउने नै ठुला दलका ठुला नेता हुन् । साना दल त त्यही अस्थिरताभित्र स्वाट्ट–स्वाट्ट छिरेर खाने हुन् ।
  • एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा स्थिरता हुन्छ कि भनेर त्यो विकल्पको खोजी गरिँदैछ भन्ने छ, के यो सही बाटो हुन सक्छ ?

२००७ सालदेखि अहिलेसम्म नेपालमा गरिएका सबै प्रयोगलाई समाप्त पारिदिने । अनि सम्पूर्ण प्रयोग असफल भएपछि त देशै असफल हुने भयो । कांग्रेस र एमाले मिल्ने भनेको देशलाई असफल बनाउने कुरा हो ।

  • राजनीतिक स्थिरता हुन्छ भने कांग्रेस र एमाले मिल्दा तपाईंलाई आपत्ति किन ?

अस्थिर बनाउने नै ठुला दलका ठुला नेता हुन् । साना दल त त्यही अस्थिरताभित्र स्वाट्ट–स्वाट्ट छिरेर खाने हुन् । अनि समानुपातिक निर्वाचन प्रणाली र सङ्घीयता पनि अस्थिरताका कारक हुन् ।

  • भएकाबाट नचल्ने भयो । नेता आयात गर्न पनि मिलेन । विकल्प के त ?

कहिलेकाहीँ स्थितिले विकल्प जन्माउन सक्छ ।

  • तपाईं त्यसको तयारीमा हो कि ?

म अहिले त्यसको तयारीमा छैन । तयारीमा भएको भए अहिले यहीँबाटै घोषणा गरिहाल्थे नि !

रविजीका दुई वटा नागरिकता, दुई वटा पासपोर्ट त प्रमाणित नै भए । हुन त यस्तो कुरा गर्‍यो भने मर्ममै लाग्छ अनि रविजीका मान्छे बुरुक्क उफ्रिन्छन् र गालीगलौजमा उत्रिन्छन् ।
  • त्यो कस्तो शक्ति हुन्छ ? यसले व्यवस्था नै परिवर्तन गर्छ कि ?

त्यसले समानुपातिक निर्वाचन प्रणाली र अहिलेकै अवस्थाको सङ्घीयता खारेज गर्छ ।

  • अहिले सहकारीको विषय जोडतोडले उठेको छ । गृहमन्त्री रवि लामिछाने पनि प्रश्नको घेरामा छन् । यसमा तपाईंको भनाइ के हो ?

रविजीका दुई वटा नागरिकता, दुई वटा पासपोर्ट त प्रमाणित नै भए । हुन त यस्तो कुरा गर्‍यो भने मर्ममै लाग्छ अनि रविजीका मान्छे बुरुक्क उफ्रिन्छन् र गालीगलौजमा उत्रिन्छन् । त्यस्ता गालीगलौजले केही हुन्न । सहकारीमा पनि त्यस्तै देखियो ।

अर्बौँ रुपैयाँ घोटाला गरेर, ब्रह्मलुट गरेर लाखौँ जनताको आँसुको धारा बगाउने स्थिति आउनु भनेको एकातिर अर्थतन्त्रको एउटा खम्बा ढाल्ने देशद्रोही काम हो र अर्कोतिर जनता ठग्ने ठग हो । यस्तो कुरामा सरकार छानबिन गर्न मान्दैन ।

  • रवि लामिछानेले सहकारीमा बदमासी गरेकै हुन् भन्नु हुँदैछ ?

म पुष्पकमल दाहालजस्तो रवि निर्दोष हो भनेर टोपी लगाइदिने न्यायाधीश बन्दिनँ । तर स्वार्थ बाझिने ठाउँमा बस्न मिल्दैन, मार्ग प्रशस्त गरिदिनुपर्छ ।

  • रविजीले राजीनामा गर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?

यो न्यूनतम नैतिकताको कुरा हो । अनि उहाँले गृह नै चाहियो किन भनिरहनु भएको रहेछ भने यस्तो पो रहेछ कारण भनेर ९९ प्रतिशत मानिसले भनिरहेका छन् ।

  • यो गठबन्धनचाहिँ कति समय टिक्ला ?

यो बनाउने काममा म नभएकाले यत्ति नै समय भनेर भन्न त सक्दिनँ तर स्वार्थ समूहको गठजोड भएकोले स्वार्थ नमिल्ने बित्तिकै यो भत्किन्छ ।

  • कसले बनाइदिएको हो यो गठबन्धन ?

यस्ता परिवर्तनमा बाह्य शक्तिले चलखेल गर्ने कुरा अनेकौँ चरणमा, रूपमा देखिने गरेकै कुरा हो । अब अहिले कसले चलखेल गर्‍यो, मलाई थाहा छैन ।  

  • नेकपा बनाउँदा जुन शक्ति सक्रिय थियो, अहिलेको समीकरण बनाउन पनि त्यही शक्ति सक्रिय भयो भन्ने कतिपयको भनाइ छ । तपाईंं नेकपा बनाउन सक्रिय भएको व्यक्ति भएकाले थाहा होला नि, कुन शक्ति हो त्यो ?

नेकपा बनाउन म सक्रिय होइन । निर्वाचन आउँदै थियो । अध्यक्ष ओलीले स्थायी समितिमा एउटा प्रस्ताव ल्याउनुभयो । निर्वाचनमा जहिले पनि कांग्रेसले खेल्ने, वामपन्थी शक्ति एक हुनुपर्‍यो भन्नुभयो । पछि त्यही भयो । तर पार्टी नै एक हुने समयमा दुई अध्यक्षको प्रस्तावचाहिँ मैले मानिनँ । तर दुई वटा अध्यक्षले सहमति गरेर आउनुभयो । त्यहाँ प्रधानमन्त्रीमा आधा–आधा कार्यकालको सम्झौता गरिएको रहेछ । जसको साक्षी विष्णु पौडेल र जनार्दन शर्मा हुनुहुँदो रहेछ । जुन कुरा मैले डेढ वर्षपछि थाहा पाएँ । त्यसकारण बनाउन त म सक्रिय होइन, पछि बचाउनचाहिँ सक्रिय थिएँ ।

  • तर बचाउन सक्नुभएन नि ?

बालुवाटार बैठकमा त्यत्तिबेलै नेकपा नाम नराखौँ, अर्कोसँग जुध्छ । कानुनी रूपले मिल्दैन भन्दा कसैले मानेनन् । पछि दुर्घटनामा पर्‍यो । मैले नेपाली कम्युनिस्ट पार्टी नाम राखौँ भन्ने प्रस्ताव गरे पनि सुनुवाइ भएन ।

म पार्टी सदस्य पनि हो । उहाँहरूले त्यस्तो व्यवहार गरे पनि जाने विचारमा थिएँ । त्यसका लागि प्रवेश परिचयपत्र त चाहियो । त्यो नभएपछि ढोकामै रोकिने सम्भावना पनि हुने भयो ।
  • अब प्रसङ्ग बदलौँ, महाधिवेशन प्रतिनिधि परिषद् भेलामा किन जानुभएन ?

म जान इच्छुक थिएँ । तर यसबारेमा मलाई औपचारिक जानकारी केही पनि भएन । तर आम रूपमा आउने सूचनाचाहिँ आएको थियो ।

  • सबै प्रतिनिधिलाई जसरी निम्ता गयो, तपाईंलाई पनि त्यसरी नै गयो होला नि त ? के सबै प्रतिनिधिलाई पत्र काटेर बोलाएको हो र ?

यस विषयमा नेताहरूबिच छलफल भएन होला ? व्यवस्थापन समिति बनेन होला ? त्यहाँ के प्रबन्ध गर्ने ? कसलाई कहाँ राख्ने, बोल्न दिने, केही भएन होला ? अध्यक्षले घरबाट एउटा सूचना जारी गरिदियो अनि भयो ? मोबाइलमा पठाएको सूचनाले केपी ओली कुनै कार्यक्रममा जानुहुन्छ होला ? कि चाहिँ नेता हुनलाई काठमाडौँ वा त्यसको वरपर जन्मिनुपर्ने हो ? सबै उस्तै हुन् भने वार्ता समिति किन बनाएको ? ओलीले च्यासलमा दुई घण्टा किन वार्ता गरेको ?

  • यसको मतलब निमन्त्रणा नपाएर नजानु भएको ?

त्यतिमात्र पनि होइन । म पार्टी सदस्य पनि हो । उहाँहरूले त्यस्तो व्यवहार गरे पनि जाने विचारमा थिएँ । त्यसका लागि प्रवेश परिचयपत्र त चाहियो । त्यो नभएपछि ढोकामै रोकिने सम्भावना पनि हुने भयो ।

  • एमालेको कार्यक्रममा जान भीम रावललाई परिचयपत्र चाहिन्छ त ?

भीम रावललाई कुनै सूचना दिनुपर्दैन त ? अरू सरह होस् भनेपछि रोक्दैनन् भन्ने छ त ? तयारी त गरेर जानु परेन ? अनि मैले साथीहरूलाई परिचय पत्र, बस्ने ठाउँबारे सोधेँ तर परिचयपत्र नै बनेको रहेनछ । परिचयपत्र बनेको छैन भन्ने थाहा पाएपछि कार्यक्रम सकिने दिन बिहान ९ बजेर १४ मिनेटमा परिचयपत्र मोबाइलमा आयो । मैले त अघिल्लै दिन भनेको थिएँ, मेरो छैन भनेर । यदि बनाएको थियो भने त अघिल्लै दिन तत्कालै आइहाल्थ्यो नि । पछि हतार हतार बनाएर पठाइयो । यो त अपमानको पनि हद भयो । केही साथीहरूले नआउँदा नै राम्रो हुन्छ भन्ने सल्लाह पनि दिनुभयो ।

संविधान सभाबाट संविधान बनाउने बेला विदेशी दूतावासबाट धम्की आएर कम्प्युटरमा टाइप गर्ने व्यक्ति रोएको मैले देखेको छु ।
  • यस्तो किन भयो होला ?

दशौँ महाधिवेशनमा केपी ओलीसँग प्रतिस्पर्धा गरेको कारण ममाथि प्रतिशोध साँध्ने र निषेध गर्ने एमालेको वर्तमान नेतृत्वले प्रस्ट चरित्र देखायो ।

  • यस्तो पीडा र अपमान सहँदासहँदै कतै बरु उपाध्यक्ष दिएकै थियो, त्यही खाएर बसेको भए हुनेरहेछ भन्ने लाग्न थाल्यो होला अब त, होइन ?

छैन, यदि त्यस्तो लाग्यो भने यो देशका लागि बोलेको कुरा नक्कली हुन्छ । महाधिवेशन त चुन्न र चुनिन पाउने वैधानिक थलो हो ।

  • अब तपाईंको राजनीतिक भविष्य के हुन्छ ? कसरी अघि बढ्ने विचार गर्नुभएको छ ?

संविधान सभाबाट संविधान बनाउने बेला विदेशी दूतावासबाट धम्की आएर कम्प्युटरमा टाइप गर्ने व्यक्ति रोएको मैले देखेको छु । ‘ती नेताले जे–जे भन्यो त्यही–त्यही लेख्ने ? जागिर खान मन छैन ?’ भनेर धम्की आएको थियो । सुवास नेम्वाङ त हुनुहुन्न तर अग्नि खरेल अहिले पनि साक्षी हुनुहुन्छ । यस्ता धेरै चुनौती सहेर आएको मान्छे हुँ । अहिले त के छ र ?

  • तपाईंको पार्टी कुन हुन्छ अब भनेको ?

एमाले भएर देशभक्त हुन पाउँदैनस्, देशको हितमा कुरा गर्न पाउँदैनस्, हामी हलो जोतौँ कि छाता ओढौँ कि, हाम्रो यही सिद्धान्त हो भनेर मलाई हटाउनुभयो भने त्यही बेला सोचौँला ।

  • तपाईं एमालेमा के हुनुहुन्छ र हटाउनु ?

साधारण सदस्य छु । परिचयपत्र त नदिनेले त्यो पनि नसहन सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप