सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस

बुधबार, १२ वैशाख २०८१, ०७ : १४
बुधबार, १२ वैशाख २०८१

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विना विभागीय मन्त्री व्यवस्थापन गर्न सकस भएको छ । दलगत रुपमा मन्त्रालय भागबण्डाको विषय मिल्न नसक्दा तीन साताभन्दा लामो समयदेखि बागमतीमा एक मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् ।

मुख्यमन्त्री जम्कट्टेलले संसदबाट चैत १९ गते विश्वासको मत लिइ सरकार सुरक्षित गरेसँगै प्रदेश सरकारमा एकीकृत समाजवादीकी सांसद रमा आले मगरलाई मन्त्री नियुक्त गरेका थिए । चैत २० मा शपथ ग्रहण गरेकी उनले अहिलेसम्म मन्त्रालय पाउन सकेकी छैनन् ।

मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रीपरिषदमा चैत २० मा एमालेबाट थप ४ मन्त्री नियुक्त गरेका थिए । एमालेका ४ जनाको विभाग तोकिँदा मन्त्री आले मगर भने जिम्मेवारीविहीन बनिन् । एक सातामा विभाग तोक्ने शर्तसहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदभार ग्रहण गरेकी मन्त्री आले मगरले भागबण्डा र पावर सेयरिङमा सत्ता गठबन्धन दलमा सहमति जुट्न नसक्दा विभागीय जिम्मेवारी पाउन नसकेकी हुन् ।

प्रदेशमा १२ मन्त्रालय रहे पनि १३ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री जम्कट्टेलले मन्त्री व्यवस्थापनका लागि सत्तारुढ दलहरूबिच सहमति जुटाउन सकिरहेका छैनन् । २ विकल्पसहित सत्ता साझेदार दल एकीकृत समाजवादीलाई प्रस्ताव गरे पनि सो विषयमा समेत ठोस निर्णय हुन सकेको छैन ।

प्रदेशको १२ मन्त्रालयमा एक मन्त्रालय थप्ने मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावलाई एकीकृत समाजवादीले सोझै इन्कार गरेको थियो भने रोजेको २ मन्त्रालयको विषयमा पनि समान हैसियत अनुसार भागबण्डा हुनुपर्ने माग गरेको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले गत साता रोजेको मन्त्रालयमा २ मन्त्री लिएर एक फिर्ता गर्न वा मन्त्रालय विभाजन गरेर ३ मन्त्री लिन एकीकृत समाजवादीलाई प्रस्ताव गरेका थिए । तर, सो प्रस्तावमाथि औपचारिक छलफल भने हुन सकेको छैन ।

प्रदेशको १२ मन्त्रालयमा एक मन्त्रालय थप्ने मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावलाई एकीकृत समाजवादीले सोझै इन्कार गरेको थियो भने रोजेको २ मन्त्रालयको विषयमा पनि समान हैसियत अनुसार भागबण्डा हुनुपर्ने माग गरेको थियो । एकीकृत समाजवादीले पावर सेयरिङमा कमजोर बनाउने कोसिस भइरहेकाले मन्त्रालय हेरफेर गरेर मन्त्रीहरूको विभाग तोकिनुपर्ने माग गरेको थियो । उक्त मागका सन्दर्भमा सत्ता गठबन्धन दलहरूबिच सहमति जुट्न नसक्दा विना विभागीय मन्त्रीको व्यवस्थापन जटिल बनेको हो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार मन्त्री व्यवस्थापनका विषयमा कुनै निर्णय हुन सकेको छैन । सरकारबाट पेस गरिएको विकल्पसहितको प्रस्तावमा सहमति हुन नसकेपछि थप छलफल नभएको उनले बताए ।

मन्त्री व्यवस्थापन र सरकारको न्यूनतम साझा कार्यक्रम तयारीका लागि गठित कार्यदलको बैठक समेत बस्न नसकेको प्रमुख सचेतक ढकालको भनाइ छ । केही दिनमै सो कार्यदलको बैठक बसेर छलफलसहित निष्कर्षमा पुग्ने उनले बताए ।

यता मुख्यमन्त्री जम्कट्टेलले गत साता नै विना विभागीय मन्त्रीको व्यवस्थापन गरिने बताएका थिए । प्रदेशमा १२ मन्त्रालय राख्ने वा १३ मन्त्रालय बनाउने भन्नेबारे दलहरूबिच छलफल भइ अन्तिम रुप दिन बाँकी रहेकाले निर्णय छिटै हुने र सोही अनुसार मन्त्रीको विभाग तोकिने उनको भनाइ थियो ।

उता एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सरकार र मन्त्री व्यवस्थापनका विषयमा कुनै छलफल नभएको बताए । मुख्यमन्त्री जम्कट्टेलले मन्त्री व्यवस्थापन तथा मन्त्रालय बाँडफाँटका विषयमा छलफल नगरेको उनको भनाइ थियो ।

मुख्यमन्त्रीले एक मन्त्री फिर्ता गर्ने वा मन्त्रालय बढाएर अघि बढ्ने प्रस्ताव अघि सारेको उनले प्रस्ट पारे ।

पद छाड्न तयार छु : मन्त्री आले मगर

मन्त्री आले मगरले मुख्यमन्त्रीले तत्काल जिम्मेवारी नतोके आफू पद छाड्न पनि तयार रहेको बताएकी छन् । रातोपाटीसँगको कुराकानीमा उनले अहिलेसम्म विभाग नतोक्नु र भएका सहमति कार्यान्वयन नभए पदमा बसिरहन जरुरी नरहेको बताइन् ।

उनका अनुसार मुख्यमन्त्री जम्कट्टेलले वैशाख १२ गतेका लागि मन्त्रीपरिषद बैठक आह्वान गरेका छन् । तर, मन्त्रीपरिषद बैठकबारे आफूलाई जानकारी नदिइएको उनले बताइन् । सो क्याबिनेट बैठक अघि नै मुख्यमन्त्रीले जिम्मेवारी तोक्ने भने पनि कुनै सङ्केत नदेखिएको उनको भनाइ छ ।

‘अहिलेको सरकारको पहिलो क्याबिनेट १२ गते बस्दैछ । त्यो क्याबिनेट बैठकको विषयमा मलाई जानकारी आएको छैन । आन्दोलन भएको भए नबोलाए पनि जान्थेँ । क्याबिनेट बैठक हो, जानकारी नआएसम्म जाँदिनँ,’ उनले भनिन्, ‘त्यस अघि नै मुख्यमन्त्रीले जिम्मेवारी तोक्ने जानकारी आएको छ । कसरी तोक्ने, त्यो उहाँको विषय हो । त्यसपछि पनि जिम्मेवारी नपाए मैले पदमा बसिरहन पर्छ जस्तो लाग्दैन ।’

विभागीय जिम्मेवारी र मुख्यमन्त्रीले भनेका विषयमा पार्टी र संसदीय दलको नेतालाई जानकारी गराएको उनले बताइन् । आफूलाई थप २ दिन धैर्य गर्न सुझाव दिइएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप