सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल क्रिकेट

१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली

बुधबार, १२ वैशाख २०८१, ११ : १९
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बुधबार गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदैछ । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो दिल्लीको घरेलु मैदान हो ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४०औँ खेल हो । यो सिजनको आईपीएलमा दिल्ली र गुजरात दुबैले आफ्नो नवौँ खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलिएको आठमध्ये चारमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । गुजरात आठ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

सन् २०२२ को विजेता गुजरातले जारी आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र पञ्जाब किङ्सलाई हराएको छ । गुजरातको टोली चेन्नई सुपर किङ्स, पञ्जाब किङ्स, लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।

दिल्लीले भने यसअघि खेलिएको आठमध्ये तीन खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । दिल्लीको टोली पञ्जाब किङ्स, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

दिल्ली क्यापिटल्सले यो सिजनको इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स, लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सलाई भने पराजित गरेको छ । दिल्ली क्यापिटल्स ६ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।

जारी सिजनको दोस्रो भिडन्त

जारी सिजनको इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच दोस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि यी दुई टोलीबिच खेलिएको पहिलो खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले हराएको थियो । त्यो खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिएको थियो ।

त्यो खेलमा घरेलु टोली गुजरातले ज्यादै निराशाजनक प्रदर्शन गरेको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले १७.३ ओभरमा अलआउट हुनुअघि ८९ रनमात्र बनाउन सकेको थियो । जवाफमा दिल्लीले ८.५ ओभरमै केवल चार विकेट गुमाएर जित हात पारेको थियो ।

त्यसैले बुधबारको खेलमा गुजरात टाइटन्स दिल्लीसँग यसअघि घरेलु मैदानमा भोगेको नमिठो हारको बदला लिने धुनमा रहने छ । अर्कोतिर, दिल्ली भने आफ्नो घरेलु मैदानमा पनि गुजरातलाई हराएर मनोबल उच्च बनाउने योजना बुन्न देखिन्छ ।

हेड टु हेडमा दुबै बराबर

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच हालसम्म कुल चार खेलमात्र खेलिएको छ । त्यसमध्ये दुई खेलमा दिल्लीले गुजरातलाई हराएको थियो । बाँकी दुई खेलमा भने गुजरातले दिल्लीलाई पराजित गरेको छ ।

ऋषभ पन्तको नाममा दिल्लीको सर्वाधिक रन

जारी सिजनको इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान ऋषभ पन्त हुन् । उनले हालसम्म आठ खेल खेल्दै दिल्लीका लागि कुल दुई सय ५४ रन बनाइसकेका छन् ।

दिल्लीका लागि ट्रिस्टन स्टब्सले पनि एक सय ९९ रन बनाएका छन् । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने कुलदीप यादब र खलिल अहमद हुन् । यी दुबै बलरले हालसम्म टोलीका लागि १०–१० विकेट लिइसकेका छन् ।

गुजरातलाई मोहितसँगै गिल र सुदर्शनको भर

इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा कप्तान शुभमन गिल र बायाँहाते ब्याट्सम्यान साई सुदर्शन लयमा देखिएका छन् । यी दुबै ब्याट्सम्यानले दुई सय ५० भन्दा बढी रन बनाइसकेका छन् । कप्तान गिलले कुल दुई सय ९८ रन बनाएका छन् ।

साई सुदर्शनले पनि आठ खेल खेल्दै कुल दुई सय ६९ रन बनाइसकेका छन् । बलिङतर्फ मोहित शर्मा र राशिद खानको प्रदर्शन उत्कृष्ट देखिएको छ । मोहितले १० विकेट लिइसकेका छन् । राशिद खानले पनि आठ विकेट हात पारेका छन् ।

ब्याट्सम्यानलाई साथ दिने पिच

गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिच बुधबारको खेल हुने अरुण जेट्ली स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियमको पिचमा खेलको प्रारम्भमा नयाँ बलका कारण तिब्रगतिका बलरले पनि केही राम्रो गर्न सक्छन् ।

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८५ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ३८ खेलमा जित हात पारेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने ४६ वटा खेल जितेका छन् । यो स्टेडियममा आईपीएलको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

वर्षाले खेल रोकिने सम्भाना निकै कम

दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच खेल हुने दिन बुधबार दिल्लीको मौसम सफा रहने बताइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, बुधबार दिल्लीमा वर्षाको कुनै सम्भावना छैन । खेल हुने दिन दिल्लीको तापक्रम २६ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने समाचारमा बताइएको छ ।

सम्भावित टोली

दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), पृथ्वी शा, ज्याक फ्रेजर, शाई होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, सुमित कुमार, कुलदीप यादब, मुकेश कुमार, ईशान्त शर्मा र खलिल अहमद । इम्प्याक्ट प्लेयर : अभिषेक पोरेल ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह (विकेटकिपर), साई सुदर्शन, डेभिड मिल्लर, अभिनव मनोहर, राहुल तेवतिया, राशिद खान, मोहित शर्मा, नुर अहमद, स्पेन्सर जोन्सन र सन्दीप वारियर्स । इम्प्याक्ट प्लेयर : साई किशोर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप