बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्वदेशीलाई रुवाएर विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न आऊ भनिँदैछ’

शनिबार, १५ वैशाख २०८१, १६ : ३८
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । पुँजी बजार सङ्घर्ष समितिको आह्वानमा शनिवार काठमाडौँको माइतीघर मण्डलामा पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षा गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरिएको हो । 

पुँजी बजारमा खर्बौँको स्वदेशी लगानी डुबिराख्दा पनि सरकारले वास्ता नगरेकाले त्यसको विरोधमा सङ्घर्ष गर्नुपरेको नेपाल सेयरधनी संघका महासचिव सुरक्षा खडकाले बताए । उनले स्वदेशी लगानीकर्ताहरू मारमा परेका बेला सरकारले नेपालमा लगानी सम्मेलन आयोजना गरेर हास्यास्पद काम गरेको जिकिर पनि गरेका हुन् ।

महासचिव खडकाले भने, ‘स्वदेशी लगानीको संरक्षण गर, होइन भने स्टक मार्केट बन्द गर भन्ने नाराका साथ हामीले आजबाट शान्तिपूर्ण रूपमा आन्दोलन सुरु गरेका छौँ । हामीले मोटरसाइकल र्‍याली पनि आयोजना गर्नेछौँ । राष्ट्र बैंकको नीति, जुन ३ वर्ष अघि लिएको थियो । त्यसले धेरै लगानीकर्ताहरूको खर्बौँ रकम डुबिसकेको अवस्था छ । अनि उसको त्यो खराब नीतिको कारणले जुन सङ्कटको बेला लिएको नीति थियो । तर त्यो नीति तरलता सहज हुँदा पनि लिइराख्नु हामी लगानीकर्ताहरूलाई ठुलो मारमा पारी राख्नु हो । अनि, स्वदेशी लगानीकर्ताहरूलाई मारेर, स्वदेशी लगानीकर्ताहरूलाई रुवाएर विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न आऊ भनेर जुन सम्मेलन गर्दैछ । त्यो चाहिँ एकदमै हास्यास्पद कुरा छ । त्यो जुन अहिले अर्थ मन्त्रालयले लगानी सम्मेलन गर्दैछ । स्वदेशी लगानीकर्ताहरू यहाँ रोइराखेका छन् । स्वदेशी लगानीकर्ताहरूको सुरक्षा छैन । स्वदेशी लगानीकर्ताहरू यहाँ लगानीको वातावरण नदेखेर विदेश पलायन भइराखेका छन् । यो सरकारको नीति के हो ?’

उनीहरूले पुँजी बजार सुधारका लागि आवश्यक नीति, नियम, प्रविधि, पूर्वाधारको तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएका छन् । पुँजी बजारमा स्वदेशी लगानीकर्ताहरूको उद्धार गर्न सरकारलाई दबाब दिन सडक सङ्घर्ष पुनः सुरु परेको अर्को सेयरधनी तिलक कोइरालाले बताए ।

उनले भने, ‘सरकारले यो पुँजी बजारमा गर्नुपर्ने सुधार बिस्तारका कामहरू नगरेर पुँजी बजार डुबाउने काम गरेको हुँदा खेरी यो नीति, नियम, प्रविधि, पूर्वाधारको तत्काल व्यवस्था गर्न र पुँजी बजारलाई उद्धार गर्ने काम तत्काल गरोस् भनेर लगानीकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन । एकातिर स्वदेशी लगानीकर्ताहरूलाई डुबाउने, अर्कोतिर विदेशी लगानीकर्ताहरूलाई ल्याउँछौँ भनेर करोडौँ खर्च गर्ने फजुल खर्च  गरेर नेपाली राजस्वबाट उठेको पैसा दुरुपयोग गर्ने काम सरकारले गरिरहेको छ । त्यसको पनि खबरदारी हो । र, यो हाम्रो निरन्तरको कार्यक्रम अघि बढिराखेको छ ।’

प्रदर्शनीको क्रममा उनीहरूले स्वदेशी लगानीको सुरक्षा गर्न दबाब दिने खालको प्लेकार्डहरू पनि प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप