बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

सगरमाथा बेसक्याम्पमा बुद्धिचाल खेलेर विश्व कीर्तिमान बनाउन रुसी टोली नेपालमा

सोमबार, १७ वैशाख २०८१, १७ : ३९
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । सगरमाथा बेसक्याम्पमा बुद्धिचाल खेलेर विश्व कीर्तिमान बनाउने उद्देश्यसहित रुसको २० सदस्यीय टोली हाल नेपाल भ्रमणमा आएको छ । रुसको टोलीले आगामी मे ८ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसक्याम्पमा बुद्धिचाल खेल्ने योजना बनाएको छ ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनका अनुसार, रुसी टोलीमा रहेका खेलाडीलाई दुई समूहमा विभाजन गरेर बेसक्याम्पमा बुद्धिचाल खेलाउने कार्यक्रम छ । उनका अनुसार, रुसी टोलीले नेपाली खेलाडीलाई पनि बेसक्याम्पमा बुद्धिचाल खेल्न प्रस्ताव राखेका छन् ।

तर, आर्थिक समस्याका कारण हालसम्म नेपाल बुद्धिचाल महासंघले यस विषयमा ठोस निर्णय गरिसकेको छैन । ‘हामी यसका लागि प्रयास गरिरहेका छौँ । तर, अहिले नै केही भन्न सकिने अवस्था छैन,’ अध्यक्ष महर्जनले रातोपाटीसँग भने ।   

तर, रुसी टोली सगरमाथा बेसक्याम्पतर्फ प्रस्थान गर्नुअघि मंगलबार नेपाल र रुसका खेलाडीबिच काठमाडौँमा एक दिने मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता खेलिने छ । उक्त खेल मंगलबार काठमाडौँको दरवारमार्गस्थित होटल याक एन्ड यतिमा हुनेछ । 

खेल नेपाली समय अनुसार, साँझ ६ बजे सुरु हुने नेपाल बुद्धिचाल संघले जनाएको छ । प्रतियोगितामा नेपाल र रुसका पाँच–पाँचजना खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको नाम भने ‘एभरेस्ट मैत्रीपूर्ण प्रतियोगिता–२०२४’ राखिएको छ । 

प्रतियोगितामा नेपालको तर्फबाट नेपाल च्याम्पियन रुपेश जैशवाल, फिडे मास्टर क्षितिज भण्डारी , पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठ, क्यान्डिडेट मास्टर मिलन लामा र सजिन महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

सोमवार नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव  धरमबहादुर लमा र प्रतियोगिताका चिफ आर्विटर मिसोम सर्गीबिचको भेटवार्तामा प्रतियोगिता सञ्चालन सम्बन्धी खाका तयार गरेको थियो । 

काठमाडौँमा हुने मैत्रीपूर्ण प्रतियोगितामा रुसको तर्फबाट अलेक्जेन्डर राइज्नासेभ, भ्याल्दिमर सुमिलिन, आन्द्री मिन्कोभ, एनातासा कालिन्चेको र युना कोलोदिन्भाले सहभागिता जनाउने छन् । २० सदस्यीय रुसी टोली त्यसपछि सगरमाथा बेसक्याम्पमा बुद्धिचाल खेलेर विश्व कीर्तिमान बनाउन बुधबार ट्रेकिङमार्फत त्यसतर्फ प्रस्थान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप