मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा श्रम दिवसका अवसरमा पाँच दिन बिदा

बुधबार, १९ वैशाख २०८१, ११ : ४६
बुधबार, १९ वैशाख २०८१

चीन । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चीन सरकारले  देशभर पाँच दिनको छुट्टी (बिदा) दिएपछि चिनियाँ नागरिक आन्तरिक पर्यटन प्रवर्द्धनका लागि घुम्न निस्केका छन् । यो हप्ता चिनियाँहरू ‘सुनौलो सप्ताह’ मनाउँदै घुमफिरमा हिँडेका हुन् ।  

बुधबार (आज) अन्तर्राष्ट्रिय श्रमिक दिवस रहेकाले एक दिनमात्र सार्वजनिक बिदा थियो । तर, सरकारले बिहीबार, शुक्रबारसहित बिदा थपेको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार पाँच दिनको छुट्टीमा करिब २५ देखि ३० करोड नागरिक घुमफिरमा निस्कने अनुमान गरिएको छ।  

कम्युनिस्ट शासित मुलुक चीनमा वर्षमा ११ दिनमात्र सार्वजनिक बिदा हुन्छ । सरकारले सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई अन्तरिक पर्यटन प्रोत्साहन गर्दै आएको छ । सन् २०१४ देखि चीन सरकारले यस्तो सापटी बिदाको चलन सुरु गरेको हो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा यस खालको सापटी बिदाले आन्तरिक अर्थतन्त्रमा निकै राम्रो प्रभाव पारेको छ । त्यसैबिच, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं  चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले देशभरका श्रमिक जनतालाई बिदाको शुभकामना दिएका छन् ।

राष्ट्रपति सीले यो वर्ष चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव र १४ औं पञ्चवर्षीय योजनाको लक्ष्य र कार्यहरु पूरा गर्ने महत्त्वपूर्ण वर्ष रहेको जनाएका छन् । दिवसको अवसरमा सीले श्रमजीवी जनसमुदायलाई पार्टीमा आवद्ध भएर मेहनत र निस्वार्थ भावले जनताको सेवा, आफनो श्रम, सिपले देश विकासको काममा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आन्तरिक भ्रमणमा निस्किए चिनियाँहरू  
मध्यवसन्त ऋतुको अवसरमा पाँच दिनको छुट्टी पाएका चिनियाँहरू घुम्न निस्केका छन् । श्रम दिवसको अवसरमा एक दिन सार्वजनिक बिदा भए पनि सरकारले आइतबारसम्म बिदा दिएपछि चिनियाँहरू घुम्न निस्केका हुन् ।

रोचक पक्ष, के छ भने यो हप्ताको बिहीबार र शुक्रबार पनि सट्टा बिदा हो । बिहीबारको  बिदा बापत चिनियाँहरू गत आइतबार छुट्टीको दिन काम गरिसकेका छन् । शुक्रबारको छुट्टीको काम आगामी मे ११ तारिख शनिबार गर्नुपर्ने हुन्छ ।

चीनमा हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्दछ । त्यसबाहेक चिनियाँ नयाँ वर्षमा वसन्त पर्वमा तीन दिन, पितृ पुर्खा दिवसमा एक दिन, श्रमिक दिवसमा एक दिन, ड्रागन (ढुङ्गा) दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्ष अर्थात् जनवरी १ गरी जम्मा ११ दिन सार्वजनिक बिदा हुने गर्दछ ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि, नागरिक यात्रामा नयाँ कुरा देख्ने, सिक्ने र नयाँ प्रान्तको खानाको स्वादका लागि यात्रा गरुन् भनेर सापटी बिदाको चलन सुरु भएको हो ।

चिनियाँहरू पछिल्लो समयमा अर्थतन्त्र मजबुत भएपछि घुमन्ते भएका छन् । चिनियाँहरूले नेपालमा मनाइने दसैँजस्तै वसन्त पर्वमा निकै खर्च गर्दछन् । पाँच दिनको  बिदामा पनि तीस करोडभन्दा बढी चिनियाँ घुम्न निस्कने अनुमान छ ।  चीनको सरकारी टेलिभिजन सीजीटीएनले देशभरका घुम्ने ठाउँ र घुम्नका लागि उपयुक्त स्थानको बारेमा प्रचारप्रसार गरिरहेको छ ।

एक अर्ब चालिस करोड जनसङ्ख्या रहेको चीनमा २३ वटा प्रान्त, ५ वटा स्वायत्त प्रदेश, ४ वटा केन्द्र शासित शहर र दुई वटा विशेष प्रशासनिक क्षेत्र छन् । त्यसमध्ये मंगोलिया, सिन च्याङग युगुर, क्वाङ्ग सि च्वाङ्ग जातीय, निङ्ग स्या ही जातीय र तिब्बत स्वशासित प्रदेश छन् । केन्द्र शासित सहर राजधानी बेङजिङग, शाङ्गहाई, थ्येनचिङ र छोङछिङ छन् ।

चीनमा हङकङ र मकाउ २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । ३४ वटा प्रान्तीयस्तरका प्रशासनिक क्षेत्र छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप