शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

३ महिनाकै उच्चस्तरमा उक्लियो मकैको भाउ

आइतबार, २३ वैशाख २०८१, १४ : २४
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । कमोडिटिज बजारमा मकैको भाउ बढेर ३ महिनायताकै उच्च स्तरमा उक्लिएको छ । सिकागो बोर्ड अफ ट्रेड (सीबीओटी)मा  यूएस कर्न फयूचर शुक्रवार प्रति बसेल ४ डलर ६० सेन्टमा पुगेको छ । उक्त दिन कर्न फ्युचर्स ४ डलर ६८ सेन्टसम्म पुगेको थियो । यो जनवरी २६ यताकै उच्च हो ।

सीबीओटीमा शुक्रवार सोयाबिन फयूचरको भाउ पनि शून्य दशमलव १६  सेन्टले बढेर प्रति बसेल १२ डलर १५ सेन्टमा पुगेको थियो । गहुँको भाउ पनि बढेको छ । सीबीओटीमा ह्विट फयूचर्सको भाउ पनि शून्य दशमलव १८ सेन्टले बढेर प्रति बसेल ६ डलर २२ सेन्टमा पुगेको थियो ।  

ब्राजिलको रियो ग्रान्डे दू सुलमा बाँध भत्किएर आएको भीषण बाढीका कारण भाँच्ने बेला भएको मकै र काट्ने बेला भएको भट्मास नष्ट भएपछि कमोडिटिज बजारमा मकै र भटमास दुबैको भाउ बढेको हो । रियो ग्रान्डे दू सुल ब्राजिलको दोस्रो ठुलो भटमास उत्पादक र छैटौँ ठुलो मकै उत्पादक राज्य हो ।

मकैमा लागेको रोगका कारण र प्रतिकूल मौसमका कारण यस वर्ष अर्जेन्टिनाको मकै उत्पादन ३० लाख मेट्रिक टनले घटेर ४ करोड ४५ लाख मेट्रिक टनमा आउने अनुमान गरिएको छ । अर्जेन्टिनामा श्रमिकहरूको हडतालका कारण पनि भाउ प्रभावित हुन सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप