आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
रङ्गशालाबारे प्रश्न

दशरथ रङ्गशालाको अवस्थाप्रति फिफा र एएफसीको चासो

मङ्गलबार, २५ वैशाख २०८१, ११ : ०५
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको छ । दशरथ रङ्गशाला नेपालको एकमात्र अन्तर्राष्ट्रिय रङ्गशाला हो । 

फुटबलका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता यही रङ्गशालामा आयोजना हुँदै आएको छ । पछिल्लो समय फिफा र एएफसीले दशरथ रङ्गशालाको विभिन्न पक्षमा प्रश्न उठाउँदै एन्फालाई स्तर सुधार गर्न सुझाव दिएको हो ।

‘यो नयाँ विषय होइन । निकै अघिदेखि फिफा र एएफसीले पटक–पटक दशरथ रङ्गशालाको विषयमा प्रश्न उठाउँदै आएको छ । सोही विषयमा अहिले फेरि पत्राचार गरेको हो । खासगरी उनीहरूले सुरक्षा र फ्लड लाइटको विषयमा बढी चासो देखाएका छन्,’ एन्फाका महासचिव किरण राईले रातोपाटीसँगको कुराकानीमा भने । 

फिफा र एएफसीले दशरथ रङ्गशाला निकै पुरानो भएकाले खेलका क्रममा दर्शकको सुरक्षाको विषयमा प्रश्न उठाएको हो । ‘फ्लड लाइट’ को विषयमा पनि प्रश्न गरिएको छ ।

 दशरथ रङ्गशालामा रात्रिकालीन खेलका लागि जडान गरिएको ‘फ्लड लाइट’ को प्रकाश (उज्यालो) पर्याप्त नहरेको गुनासो आएपछि फिफा र एएफसीले यसप्रति चासो देखाएका हुन् । 

सन् १९९९ मा नेपालमा आयोजित आठौँ दक्षिण एसियाली खेलकुदका क्रममा चीन सरकारले दशरथ रङ्गशालामा ‘फ्लड लाइट’ जडान गरिदिएको हो । आठौँ दक्षिण एसियाली खेलकुदलाई नै ध्यानमा राखी चीन सरकारले सातदोबाटोस्थित खेलकुद परिसरमा पौडी पोखरी र सुटिङ रेन्जलगायतका पूर्वाधार पनि निर्माण गरिदिएको थियो ।

‘फिफा र एएफसीले पटक–पटक प्रश्न उठाएपछि हामी यसप्रति संवेदनशील बनेका छौँ । यस विषयमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग पनि छलफल गरिरहेका छौँ,’ महासचिव राईले भने ।

यस विषयमा छलफल गर्न युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई मन्त्रालयमा बोलाएको मन्त्रालय स्रोतले जानकारी दियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप