समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस् : सांसद भुषाल
शुक्रबार, २८ वैशाख २०८१, १८ : ०१

काठमाडौँ । राष्ट्रियसभा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुषालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने किसिमका हुनुपर्ने बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद भुषालले नागरिकले उठाएका प्रश्नहरूको जवाफ दिनसक्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए । उनले सरकारको अदलाबदली र अस्थिरताका कारण देशमा जनमुखी कार्यक्रमहरू हुन नसकेको जिकिर गरे । उनले राजनीतिक दलहरू सत्ताका लागि मात्रै केन्द्रित भएको आरोप लगाए ।
सांसद भुषालले आगामी अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रूपले परिवर्तनका लागि दिशा निर्देश गर्ने खालका नीति कार्यक्रम आउनुपर्नेमा जोड दिए ।