सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय
अमेरिका

अमेरिका जानु छ भने कानुनले चिन्ने गरी जानुस्

शनिबार, २९ वैशाख २०८१, १२ : ३३
शनिबार, २९ वैशाख २०८१

अहिले विश्वकै आकर्षणको केन्द्र बनेको छ, अमेरिका । त्यसमा पनि गरिब मुलुकका कतिपयका लागि अमेरिका सपनाको देश बन्दै गएको छ । 

ठुलो देश र आबादी कम भएकाले जति नै मानिसको ओइरो लागे पनि केही समस्या पर्दैन अमेरिकालाई । बरु विभिन्न किसिमका जनशक्तिको आवश्यकता पर्ने भएकाले ईडीभी र अन्य माध्यमबाट अमेरिका प्रवेश गर्नेहरूको अहिले लर्को नै चलेको छ । कानुनी तथा गैरकानुनी जसरी भए पनि अमेरिका छिर्नका लागि जिउ–ज्यानकै जोखिम मोल्नेहरू पनि देखिन्छन् । यसरी विश्वका कुना–काप्चामा बस्नेका लागि समेत आकर्षण हुन गएको छ अमेरिका । 

मानिसले धेरै कुरा बुझ्न, जान्न र देख्न चाहन्छ । यद्यपि अहिले विज्ञान र प्रविधि सबै देशमा एउटै हो । शिक्षा, स्वास्थ्य, प्रविधि, व्यावहारिक ज्ञान उस्तै हुन् । केवल सञ्चालन र व्यवस्थापन मात्र फरक हो । उस्तै भए पनि अमेरिकाको उत्पादन र प्रविधि बढी गुणस्तरीय र विश्वसनीय हुन्छन् । 

अमेरिकालाई हामी अर्कै ग्रहजस्तो ठान्छौँ । यो बुझाइ पनि गलत हो । मानिसले हात बाँधेर प्रगति गर्न सक्दैन । उनीहरू हात बाँधेर बस्दैनन् र काम गरेकै हुन्छन् । विकासका लागि अनेक उपाय निकाल्छन् । व्यक्तिलाई भन्दा यहाँ कामको मूल्याङ्कन गरिन्छ, त्यसो हुँदा कामको उत्पादकत्व र गुणस्तरमा उच्चता पाउन सकिन्छ । देश विकास एकैचोटि हुने होइन । यसका लागि त निरन्तरता हुनैपर्छ ।

विकासलाई तीव्रता दिन नसकेका कारण मात्र हामी पछि परेका हौँ । विकासका लागि आवश्यक पर्ने संरचनाहरू भने सबै मुलुकका लागि उस्तै हुन् र विकास गर्नै नसकिने होइन । यसका लागि राजनीतिक प्रतिबद्धता आवश्यक हुन्छ । अल्पविकसित मुलुकमा यसको अभाव भएकाले नै विकासमा धेरै मुलुकपछि परेका हुन् । तीव्र गतिमा विकास गर्दै गएको हुनाले अन्य मुलुकलाई विभिन्न किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पारिरहेकै छ अमेरिकाले । 

बढी आम्दानी गर्नका लागि मानिसले अमेरिकामा दुई–तीन ठाउँमा पनि काम गर्छन् । तपाईं कानुनले चिनेको व्यक्ति हो र तपाईंसँग कुनै क्षेत्रमा विज्ञता छ भने राम्रै आम्दानी गर्न सक्नुहुन्छ ।

यहाँ सन्दर्भ छ अमेरिकाकै । अमेरिकामा जसरी पनि छिर्ने र छिरेपछि ह्वाह्र्वार्ती डलर आउँछ भन्ने सोच कदापि गर्नु हुँदैन । पैसा त्यसै आउने भए अमेरिकाले किन बाहिरका मानिसलाई लैजान्थ्यो ? उत्पादन बढाउनका लागि नै उसले बाहिरबाट मानिस लैजाने हो । 

तपाईं हाम्रो साधारण शिक्षाले ठुलो आम्दानी गर्नै सक्दैन । रोजगारीबाट मनग्गे आम्दानी गर्नका लागि विशेष शिक्षाको आवश्यक हुन्छ, जुन ज्ञान तथा शिक्षाले आम्दानीमा तीव्रता दिएको हुन्छ । अमेरिकामा आम्दानी गर्ने शिक्षा भनेको प्राविधिक तथा व्यावहारिक शिक्षा नै हो । अहिले त आईटी तथा अनलाइन शिक्षाको विकासले धेरै मानिसले गर्ने काम थोरै मानिसबाट सम्भव भएको छ । यसले गर्दा पनि त्यहाँ साधारण शिक्षा प्राप्त गर्नेहरूलाई रोजगारीको अवसर न्यून हुँदै गएको छ । 

अमेरिकामा मात्र होइन, धेरै मुलुकमा मानिसले लामो समय लगाएर गर्ने कामलाई एआईले क्षणभरमै सम्पन्न गरेर चकित पारेको छ । यसको निर्माण गर्ने पनि मानिस नै हुन् तर तिनीहरूमा विशेष दक्षता भएको हुन्छ । त्यसकारण साधारण ज्ञान लिएर तपाईं जहाँ गए पनि त्यसबाट हुने आम्दानीबाट सन्तुष्ट हुनै सक्नुहुन्न । राम्रो काम र मामका लागि त उपयुक्त शिक्षा, ज्ञान र दक्षता हासिल गर्नैपर्छ ।

तपाईं थोरै आम्दानीबाट पनि सन्तुष्ट हुनुहुन्छ भने सामान्य शिक्षा र ज्ञान भए पनि पुग्छ । जहाँ पनि यस प्रकारको शिक्षाले तुलनात्मक रूपमा राम्रो रोजगारी दिँदैन । 

अहिले बढी आवश्यक भएको क्षेत्र भनेकै आईटी हो । यस क्षेत्रको ज्ञान तपाईंसँग पर्याप्त छ भने तपाईंले घरै बसेर पनि राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।

अमेरिकामा जुन हैसियतबाट प्रवेश गरे पनि तपाईंले कुनै आपराधिक काम गर्नु हुँदैन भने तपाईंले चाहेजति बस्न सक्नुहुन्छ । तेरो भिसा छैन भनेर घोँक्र्याएर देश फिर्ता गर्दैन । यसो गर्नु मानवता विरोधी हुन सक्छ । यहाँ सानोतिनो (घन्टाका आधारमा पारिश्रमिक दिइने) काम पाउने सम्भावना भने बढी हुन्छ । अर्को धेरै घन्टा काम गर्छु भन्दा पाइँदैन । जो–कोहीलाई पनि हप्तामा दुई दिन आराम गर्नैपर्छ भन्ने मान्यताले गर्दा पाँच दिनमा ४० घन्टासम्म काम गर्न सकिन्छ । पारिश्रमिकका सम्बन्धमा पनि त्यति भिन्नता हुँदैन, किनभने निश्चित मापदण्ड निर्धारण भएको हुन्छ ।

अर्को राम्रो पक्ष भनेको तपाईंसँग कुनै विषयको राम्रो दक्षता अथवा सीप छ भने राम्रै आम्दानी पनि गर्न सक्नुहुन्छ । मानौँ कुनै कृषि फर्ममा कुनै कृषिको ज्ञान भएको कामदारको आवश्यकता प¥यो भने कृषि विषय पढेकै हुनुपर्छ भन्ने पनि केही छैन । तपाईंमा कृषिको ज्ञान छ भने रोजगारी पाउन सक्नुहुन्छ । रोजगारदातालाई काम चाहियोको हो न कि प्रमाणपत्र । सरकारी कार्यालयमा प्रमाणपत्र चाहिन्छ, त्यो क्षेत्र अर्कै हो । काम गर्दै जाँदा कर्मचारीले धेरै कुरा सिकेका हुन्छन् । रोजगारदाताहरु सन्तुष्ट भए भने कामदारलाई माथिल्लो तहमा लैजाँदा पनि रहेछन् । त्यसकारण आम्दानी गर्नका लागि पढाइभन्दा पनि कामबाट हुन सक्ने उपलब्धिलाई बढी महत्त्व दिइएको हुँदो रहेछ ।

वैधानिक रूपमा प्रवेश गर्ने र शारीरिक रूपमा तन्दुरुस्त भएकाका लागि भने अमेरिकामा रोजगारीका अवसर प्रशस्तै देखिन्छन् । कामका आधारमा प्रतिफल पाउने हुँदा जीविका चलाउन जो–कसैलाई सजिलै हुँदो रहेछ ।

अमेरिकामा घरभाडा भने अलि महँगै छ । यसका लागि कतिपय मानिस जसको आम्दानी कम छ, सेयर गरेर पनि बस्छन् । कुनै एउटा फ्ल्याट सेयर गर्दा अवश्य नै सस्तो पर्ने हुन्छ । यसरी आफ्नो कमाइलाई केही हदसम्म किफायत गरेर जीवन चलाउने पनि गर्छन् । 

बाहिरबाट त्यहाँ जानेका लागि केही महँगोको अनुभव त अवश्य नै हुन्छ, तर त्यहाँ बसेर कमाउनेका लागि त महँगीको असर पर्ने कुरै भएन । स्वदेशको तुलना गरेर कुनै पनि सामान किन्दा एकदमै महँगोजस्तो लाग्छ । एकमुठा साग किन्दा पाँच डलर पर्छ । त्यो सागलाई नेपालमा ५० रुपैयाँभन्दा त पक्कै बढी पर्दैन । राम्रो पारिश्रमिक छ भने महँगीबाट त्यति चिन्ता लिनु पनि पर्दैन ।

तपाईं वैधानिक बाटोबाट अमेरिका जानुभएको छ भने तपाईंलाई धेरै कुरामा सहज हुन्छ र कुनै प्रकारको चिन्ता लिनुपर्दैन । ग्रिनकार्ड, सामाजिक सुरक्षा नम्बर, रोजगारी, बिमा, औषधि उपचारजस्ता विषयमा सजिलो हुन्छ । गलत किसिमले गएकाहरूलाई भने यी सबै कुरामा समस्या हुन्छ । त्यसकारण असुरक्षित किसिमले अमेरिक नजानु नै वेश ।

बढी आम्दानी गर्नका लागि मानिसले अमेरिकामा दुई–तीन ठाउँमा पनि काम गर्छन् । तपाईं कानुनले चिनेको व्यक्ति हो र तपाईसँग कुनै क्षेत्रमा विज्ञता छ भने राम्रै आम्दानी गर्न सक्नुहुन्छ । राम्रो वित्तीय विवरण तयार गर्ने र तिनीहरूको विश्लेषण गर्न सक्ने क्षमता भएको व्यक्तिले रामै्र पारिश्रमिक पाउन सक्छ किनभने यो काम सामान्य ज्ञान भएको मानिसले गर्न सक्दैन । राम्रो आय गर्नका लागि सानो अवधिको आईटीको तालिम लिएर पनि घरैबाट काम गर्न सकिन्छ । यसरी आफ्नो क्षमता छ भने राम्रो आयआर्जन गर्न सक्ने विभिन्न अवसर अमेरिकामा देखिन्छन् । मुख्य कुरो आफूले ती अवसरलाई ग्रहण गर्न सक्नुप¥यो ।

यहाँ कामलाई सानो र ठुलो भनेर छुट्ट्याइएको हुँदैन । काममा कुनै हीनताबोध गर्नुपर्दैन । त्यसैले पारिश्रमिक धेरै लिने र थोरै लिने भनी फरक गरिएको हुँदैन । धेरै तलब खानेले पनि कुचो लगाउँछन्, हाई–हेल्लो भन्छन् र हात मिलाउने गर्छन् । यसरी कुनै पनि सङ्गठनको काममा सहयोग बन्ने वातावरण त्यसभित्र काम गर्नेबाटै निर्माण भएको हुन्छ ।

ठुलो भूगोल, ठुलो जनसंख्या, विज्ञान र प्रविधिको विस्तारले गर्दा दक्ष जनशक्तिको आवश्यकता परेकै हुन्छ । अमेरिकाले विभिन्न भिसा जारी गरेर सस्तोमा जनशक्ति लिँदै आएको छ । यो तरिकाले उसले विकासमा गति लिएको देखिन्छ ।

अमेरिकामा बस्न यस कारण पनि सजिलो छ कि कुनै मानिस अवैधानिक भए पनि उसले राम्रो आचरण देखाउँछ भने लामो अवधिसम्म बस्न कुनै समस्या पर्दैन । विद्यार्थी भिसामा आउनेका लागि भने निकै राम्रो रहेछ । छात्रवृत्तिमा जाने विद्यार्थीलाई अमेरिकामा बस्न खानका लागि सहयोग नै हुँदो रहेछ । पढाइ राम्रो गर्दै गएमा विभिन्न अवसर उपलब्ध हुने र ग्रिनकार्डको अवसर पनि मिल्ने हुन्छ । 

वैधानिक रूपमा प्रवेश गर्ने र शारीरिक रूपमा तन्दुरुस्त भएकाका लागि भने अमेरिकामा रोजगारीका अवसर प्रशस्तै देखिन्छन् । कामका आधारमा प्रतिफल पाउने हुँदा जीविका चलाउन जो–कसैलाई सजिलै हुँदो रहेछ । सजिलो छ भन्दैमा अवैधानिक बाटो भएर प्रवेश गर्दा भने धेरै कुराको जोखिम नै मोल्नुपर्छ । त्यसकारण अमेरिका आउनु छ भने कानुनले चिन्ने गरी प्रवेश गर्नु नै एक मात्र राम्रो उपाय हुनेछ ।

(लेखक पराजुली नेपाल सरकारका पूर्वउपसचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णमणि पराजुली
कृष्णमणि पराजुली
लेखकबाट थप