आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
कलाकार

अनि बन्यो ‘गाह्रो छ हो मलाई नारायणी...’

सोमबार, २१ जेठ २०८१, ०६ : ४२
सोमबार, २१ जेठ २०८१

काठमाडौँ । ‘गाह्रो छ हो मलाई नारायणी, गाह्रो छ मलाई
कतारमा कृष्णे, साउदीमा श्यामे, दुवैमा हर्केछ
हर्केको बाबुको गएको राति मुन्टो नै फर्केछ’

माथिका शब्द पछिल्लो समयको चर्चित गीत ‘गाह्रो छ हो मलाई’को हो । चर्चित हास्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल (बोके दारी’को नयाँ गीत ‘गाह्रो छ हो मलाई’मा शब्द, सङ्गीत र स्वरसमेत लुइँटेलकै छ ।

गीतले प्रतिदिन चर्चा कमाउन सफल छ । केही अगाडि सार्वजनिक लोकशैलीको गीतलाई सबैले राम्रो तथा नेपालीको वास्तविक कथा भनेका छन् । गीतले रोजगारीको सिलसिलामा युवा विदेश र सहर पस्दा गाउँघरमा देखिएको विकराल समस्या उठाएको छ ।

गीतले वर्तमान समयको गाउँका कथा उठाएको गायक लुइँटेल बताउँछन् । ‘गाउँमा आफ्ना बिरामी हुँदा विदेशबाट फोन गरेर कसैलाई अस्पताल लगिदे न, मेरो घरमा यस्तो समस्या प¥यो गइदे न भन्ने चलन छ’, लुइँटेलले भने, ‘त्यही विषय गीतमा उठाएको हो ।’

गीतमा वर्तमान समयको गाउँको कथा उठाएको उनले सुनाए । ‘कार्यक्रमको सिलसिलामा म धेरै गाउँमा पुग्नुपर्छ । त्यो क्रममा मैले धेरै यस्ता गाउँ भेटेँ, जहाँ केटा र युवा एक जना पनि छैनन् । बुढाबुढी, महिला र केटाकेटीमात्र छन्’, लुइँटेलले अगाडि सुनाए, ‘मलामी जान पनि युवा नभएको गाउँ पुगेँ । गाउँमा कोही बिरामी प¥यो भने अस्पताल लान सक्ने मानिस पनि छैन ।’

गाउँको दर्दनाक अवस्था समेटेर गीत बनाएको उनले सुनाए । ‘अहिले राजनीतिक दलका नेताहरू मिसन ०८४ भन्दैछन् । ०८४ सम्ममा त गाउँ नै खाली हुने अवस्था छ,’ उनले थपे ।

433262720_2080742005658387_5047447901495772843_n

गीतबाट उनले राम्रो प्रतिक्रिया पाएका छन् । कतिपयले त अहिलेको अवस्था जे छ, ठ्याक्कै उतार्नु भएको भन्दै प्रशंसा गरेको उनले सुनाए ।

‘जति गाउँ खाली भए, बचेको गाउँका मानिसलाई सचेत गर्न पनि गीत बनाएको हो’, लुइँटेल भन्छन्, ‘यो फलानो गाउँको हो भनेर अहिले लाग्छ । भोलिको दिनमा यो सबै गाउँको कथा हुन्छ ।’

गीतलाई लिएर कतिले यो मेरो गाउँको कथा हो, यो मेरो छिमेकी गाउँको हो भन्ने पनि भेटेको उनले खुलाए ।

अधिकांश गीतसङ्गीत माया–प्रेमका कुरामा रुमल्लिएका छन् । उनलाई गीतसङ्गीतमा गाउँघर, बाटो, माटो, झरना, छाँगा सबै समेटिनुपर्छ भन्ने लाग्छ रे । त्यसैले पनि उनले अहिलेको ‘गाह्रो छ हो मलाई’ बनाएका हुन् । उनले भने, ‘केही नौलो छाप छोड्न नयाँ प्रयास गर्नु पर्छ नै ।’

नव गायक–गायिका गीत आउनु अगाडि र आएपछि धेरै हल्लाखल्ला गर्छन् । उनले भने ‘गाह्रो छ हो मलाई’ गीत ल्याउँदा न ठुलो हल्लाखल्ला गरे, न मिडियामा धाए । आफ्नै युट्युब च्यानलबाट नर्मल तरिकाले उनले गीत सार्वजनिक गरे ।

आखिर किन ? जवाफमा उनले भने, ‘राम्रो गीतसङ्गीतका लागि हल्लाखल्ला गर्नै पर्दैन । गीत आफैँले हल्ला गर्छ ।’

श्रोता तथा दर्शक धेरै अगाडि पुगिसकेको उनको भनाइ छ । गीतमाथि विश्वास भएकाले पनि आफू हल्लाखल्लातिर नलागेको उनले बताए ।

441454146_2111758705890050_2264233260792635134_n

  • म कहाँ हराए ?

‘ए बा किन्देऊ न भटभटे’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’, ‘कलियुगको धर्म’, ‘साली कमला’, लामिछाने बा’, ‘रावण आयो बुलेटमा’ जस्ता थुप्रै हिट गीत मार्फत साङ्गीतिक क्षेत्रमा अलग पहिचान बनाउन सफल उनी पछिल्लो समय मिडियामा त्यति छाउँदैनन् । त्यसैले कतिले उनी हराएको भन्छन् ।

तर आफू गीत–सङ्गीतबाट बाहिर रहेर हराउन पनि नसक्ने र विदेश पलायन पनि नहुने उनी बताउँछन् । ‘म हराएको छैन । महिना, दुई महिनामा गीत निकालिरहेको छु । गीत सन्देशमूलक नै छन्’, उनले थपे, ‘पछिल्लो समय आएका केही गीत–सङ्गीत दर्शकले मन पराउनु भएन । कोरोनाले केही समय काम गर्न दिएन ।’

त्यसैले हराएकोजस्तो देखिएको हुन सक्ने उनले बताए । अहिले गीत–सङ्गीत र मेला–महोत्सवमै व्यस्त रहेको उनी बताउँछन् ।

अहिले सङ्गीतको लगानी बालुवामा पानीजस्तो हो । किनभने कहीँ कतैबाट फिर्ता हुने अवस्था छैन । लगानी फिर्ता नभए पनि एक दिन सुनौलो भविष्यको कल्पना गर्दै सङ्गीतमा लगानी गर्नुपर्ने सोच उनको छ ।

‘लगानी फिर्ताको कुरो अर्को हो । आफूले जानेको काम त गर्नुपर्‍यो नि’, उनले भने, ‘राम्रो गीत–सङ्गीत भयो भने मेला–महोत्सवबाट लगानी धेरै गुणा उठ्छ ।’

अभिनय अनिवार्य

पछिल्लो समय अधिकांश गायक–गायिका अभिनयमा समेत देखिँदै आएका छन् । उनलाई पनि भिडियो अभिनयमा देख्न सकिन्छ । उनी अरूको भन्दा पनि आफ्नो गीतको म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् ।

गीतको भिडियोमा आफैँले अभिनय गर्दा गायक गायिकालाई धेरै फाइदा हुने उनले बुझेका छन् । ‘गीत एक किसिमको कथा र चरित्र सोचेर गरिएको हुन्छ । अर्कोले अभिनय गर्दा गाह्रो र सुहाउँदो पनि देखिन्न’, उनले अन्य फाइदा खोले, ‘गायकलाई चिनिन सजिलो हुन्छ । पैसा पनि बच्छ ।’

गीत जति नै चर्चित भए पनि अभिनय नगरेसम्म गायक–गायिकाको अनुहार श्रोता दर्शकले नचिन्ने उनको बुझाइ छ । ‘विगतमा गायक–गायिका अभिनय गर्दैन थिए । मोडल राखिन्थ्यो’, उनले भने, ‘धेरैलाई अनुहार नचिनिएको कारण काम कमी भयो ।’ त्यसैले पछिल्लो समय गायक–गायिका भिडियोमा देखिँदै आएको उनको धारणा छ ।

‘बोके दाह्री’ परिचय

२०५६ सालमा ‘सुन ओ साथी मेरो कहानी’ बोलको गीत मार्फत गायनमा प्रवेश गरेका लुइँटेल यो गीतबाट पूर्वी नेपालमा मात्र चिनिएका थिए । त्यसपछि उनले ‘ह्याङमा हो ह्याङ’ गीत निकाले । यो गीतले उनलाई अझ चिनाउने काम ग¥यो ।

जब उनले चौथो गीतको रूपमा ‘बोके दाह्री’ बाहिर ल्याए । त्यसपछि उनी गायनमा सर्वत्र चिनिए । उनको नामको पछाडि ‘बोके दाह्री’ उपानाम झुन्डियो । धेरैले उनलाई ‘बोके दाह्री’ गायकको रूपमा पनि चिन्न थाले ।

त्यसपछि उनको ‘ए बा किन्देऊ न भटभटे’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’, ‘कलियुगको धर्म’, ‘साली कमला’ लगायत एकसे एक गीत आए । केही फिल्मको गीतसमेत गाएका उनलाई फिल्मको गीतबाट भन्दा आफ्नै गीतबाट धेरै चर्चा मिलेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?