बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, ३२ जेठ २०८१, २१ : ५५
शुक्रबार, ३२ जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको मसान्त अर्थात ३२ गते । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. गृहमन्त्रीको १०० दिन

पछिल्लो ३ महिनामा १५ जिल्लामा व्यक्तिगत रूपमा कब्जा गरिएको जग्गा ठुलो परिमाणमा फिर्ता ल्याइएको गृह मन्त्रालयले जनाएको छ । पहाडमा ७४ रोपनी र तराईमा ६ सय ३३ बिघा सार्वजनिक जग्गा फिर्ता ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालय समालेको एक सय पुरा भएको अवसरमा सो विवरण सार्वजनिक गरेका हुन् ।

२. टी–२० विश्वकप

आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार, विहान ०५ः१५ बजे सुरु हुनेछ ।

३. प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्र्तगत विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

विधेयकमाथि जारी छलफलअन्तर्गत आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल भएको छ ।

४. काठमाडौँ महानगरको नीति तथा कार्यक्रम

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार आयोजित १५ औँ नगरसभामा महानगरपालिका प्रमुख बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

५. एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले आसन्न दसौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन कम्तीमा ३ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । जबकि पार्टी गठन भएको जम्मा ३३ महिना मात्र भएको छ ।

२०७८ साल भदौमा एमालेबाट विद्रोहपछि गठन भएको नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा दसौँ महाधिवेशन गर्दैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटबारे ३ वर्षे पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने प्रस्ताव सङ्गठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा बेदुराम भुसालले प्रस्ताव गरेका हुन् ।

६. देवकोटामाथि कारबाही

नेकपा माओवादी केन्द्रको सिफारिसमा गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले नेसपा नेता तथा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही गरिएको जानकारी गराएका छन् ।

धितालले शुक्रबारको प्रदेशसभा बैठकमा ह्वीप उलंघन गरेको कारण माओवादीको सिफारिसका आधारमा देवकोटामाथि कारबाही भएको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।

७. प्रशारण लाइन उद्घाटन

मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको सबस्टेशनको आज उद्घाटन गरिएको छ ।

८. अदालत

सर्वोच्च अदालतले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमार्फत साढे दुई अर्ब रुपैयाँ बराबरको सुन तस्करी गरेको अभियोगमा थुनामा गरेका पाँच प्रतिवादीलाई थुनामै राख्ने निर्णय सदर गरेको छ ।

उक्त प्रकरणमा १२ जना पक्राउ परेका थिए भने उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत पाटनले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

९. नयाँ ब्याजदर घोषणा

वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनामा लागि पछिल्लो महिनाको मसान्तमा नयाँ ब्याजदर अनिवार्य सार्वजनिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम २० वटै वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

१० . अपराध

बाराको आदर्श कोतवाल नगरपालिका –३ मा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुरिया टोलका हरि भूषण कुशवाहाको मृत्यु भएको हो ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप