बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रिद्धि सिद्धि ज्वेलर्सको अफर, केही व्यवसायीले किन पोखे असन्तुष्टि ?

शुक्रबार, ३२ जेठ २०८१, १० : ००
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । राजधानीको विशाल बजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले सुनको ज्याला जर्तीमा विशेष छुट दिनेगरी अफर ल्याएको छ ।  रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र कुमार गुप्ताले बेच्दा पनि जर्ती, फिर्ता लिँदा पनि जर्ती भनेर नहुने बताउँदै आफूहरुले ग्राहकमुखी योजना ल्याएको जानकारी दिए । 

‘पहिला हामी ७ प्रतिशत जर्ती र ५ प्रतिशत ज्याला गरेर १२ प्रतिशत लिन्थ्यौँ । सुन भन्दा बढी १२ प्रतिशत लिनु ठीक होइन भनेर हामीले ७ प्रतिशत मात्रै लिने भनेर भारी छुटका साथ अफर ल्याएका छौँ’, उनले भने, ‘ हामीले अब जर्तीको केही नलिने निर्णय लिएका छौँ ।’

पारदर्शी रूपमा  ज्याला भनेर मात्रै लिनुपर्ने भन्दै उनले रिद्धि सिद्धि ज्वलर्सले असार १५ गतेसम्म ७ प्रतिशत ज्यालामा  सुनका गहना दिने र त्यसपछि पनि सहुलियत दरमै उपलब्ध गराइरहने गुप्ताले बताए  ।

'जर्ती र ज्याला भनेर जुन रकम लिने गरेका थियौँ त्यो हटाएर हामीले क्रान्तिकारी कदम उठाएका छौँ । यो उपभोक्तालाई शिक्षित गर्ने प्रयास पनि हो’, उनले भने, ‘९० लाल सुन दिने १० लाल जर्ती भन्ने अनि देखावटीमा अलिअलि ज्याला लिने होइन । एक तोला सुनका गहना किन्दा ७ प्रतिशत ज्वाला तिर्नुपर्ने हो । अरू कुनै जर्तीसर्ती हुँदैन’, उनले भने। सुनको बढ्दो मूल्य र बिहेको सिजनलाई पनि मध्यनजर गरेर आफूले यस्तो योजना ल्याएको भन्दै अब सबै व्यवसायीले यसै गर्नुपर्ने धारणा राखे । आफूहरुको अफरले उपभोक्तालाई फाइदा पुग्ने उनको दाबी छ । 
तर, गुप्ताको यो अफरविरुद्ध केही व्यवसायीले विरोध समेत सुरु गरेका छन् । संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले विज्ञप्ति नै जारी गरेर विरोध गरेको हो ।

संयोजक विपिन रामुदामुद्वारा जारी विज्ञप्तिमा सुनको मूल्य अत्यधिक बढेकोले ज्याला र जर्ती अव जम्मा ७ प्रतिशत प्रतिशत मात्र लिने रिद्धि सिद्धिको निर्णयप्रति संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको पूर्णतया ध्यानाकर्षण भएको उल्लेख छ । 

 यस्ता प्रकारको सस्तो लोकप्रियताका साथै क्षणिक आकर्षणका नाममा देशभरका २० हजार व्यवसायी र सरदर २.५ लाख कालिगडहरूको काम व्यापार व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पुग्ने विज्ञप्तिमा जिकिर गरिएको छ । 

Capture

यस्तै यो कार्यले आम व्यवसायी व्यवसायी बिचको भाईचारा सम्बन्धमा खलल, व्यवसायीक एकतामा अघात साथै व्यवसायी र कालिगडहरूको दैनिक रोजीरोटीमानै प्रत्यक्ष प्रहार गरी व्यवसायी बिचको आपसी सद्भावमा आँच आउने र निकट समयमै यसको नकारात्मक असर महामारीको रूपमै फैलन समेत विज्ञप्तिमा ठहर गरिएको छ।  यस कारण यस्तो निर्णय फिर्ता हुनुपर्ने समितिले आग्रह गरेको छ । 

तर, गुप्ताले यो निर्णय ग्राहको हितमा रहेकाले ब्याक हुने कारण नै नरहेको बताउँदै आएका छन् । गुप्ताले सुनको भन्सार दरमा भएको वृद्धिको समेत विरोध गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप