बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

अर्थमन्त्री गुरुङले माफी मागेपछि सुरु भयो गण्डकी संसद् बैठक

शुक्रबार, ०७ असार २०८१, १२ : ५१
शुक्रबार, ०७ असार २०८१

पोखरा ।  अर्थमन्त्री डा.टंकराज गुरुङले संसद्‌बाटै माफी मागेपछि गण्डकीको प्रदेशसभा बैठक सुरु भएको छ । बजेट वक्तव्यमा बिग्रिएको हिसाब मानवीय त्रुटि भएको भन्दै अर्थमन्त्री गुरुङले माफी मागेपछि शुक्रबार प्रदेशसभा बैठक सुरु भएको हाे ।

एमाले उपनेता लीलाबहादुर थापाले बिहीबार बजेटको पूरा अङ्क र खर्च व्यहोर्ने स्रोतको शीर्षक नमिलेपछि संसद् चल्न नदिने चेतावनी दिएका थिए ।  उनको चेतावनीपछि प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध गरे ।

त्यसपछि संसद् बैठक रोकिएको थियो । प्रतिपक्षीले सरकारबाट प्रष्टीकरण नआएसम्म संसद् चल्न नदिने बताएका थिए । शुक्रबार अर्थमन्त्री गुरुङले सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदानको रकम संशोधन गरेपछि सदन अघि बढेको हो ।

 ‘बजेट वक्तव्यको बुँदा १३८ को कूल व्ययको अनुमान र १३९ को कूल आयको अनुमानको स्रोतगत योगफलमा भिन्नता रहेको भनी औँल्याउनुभएको ब्यहोरा र सुझावप्रति कृतज्ञता व्यक्त गर्दछु । मनसायरहित रूपमा भएको मानवीय त्रुटिका लागि गल्ती स्वीकार गर्दै सो बुँदालाई थप स्पष्टताका साथ अद्यावधिक गरी सोको विवरण माननीय सदस्यहरूले प्राप्त गर्ने गरी पिजन होलमा उपलब्ध गरिएको ब्यहोरा अनुरोध छ,’ उनले भने ।

सरकारले बजेट वक्तव्यको बुँदा नम्बर १३९ अर्थात् खर्च व्यहोर्ने शीर्षकको बुँदामा सशर्त अनुदान थप गरेको छ । यसअघि ३ अर्ब १० करोड मात्रै रहेकोमा त्यसलाई थपेर ३ अर्ब ५९ करोड पुर्‍याइएको हो । ग्रामीण सडक सञ्जाल सुधार कार्यक्रम र पहाडी काष्ठफल परियोजनाको रकम आर्थिक वर्षको मध्यतिर आउने भएकोले बजेट वक्तव्यमा उल्लेख नगरिएको डा.गुरुङको भनाई थियो । तर त्यसलाई सशर्त अनुदानको शीर्षकमा थप गरेर संशोधन भए बजेट वक्तव्यमाथिको छलफल अघि बढ्न दिने सहमति जनाएको थियो ।

वक्तव्यको बुँदा १३९ लाई थप स्पष्टताका साथ व्याख्या गरिएको छ । ‘आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि वित्तीय समानीकरण अनुदानतर्फ ७ अर्ब ६३ करोड ८८ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ५९ करोड ९३ लाख, समपूरक अनुदानमा १ अर्ब १९ करोड र विशेष अनुदानमा ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान गरिएको छ,’ संशोधित वक्तव्यमा भनिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप