बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बजेट भाषणको भोलिपल्टै किन सरुवा गरिए आर्थिक मामिला मन्त्रालयका सचिव ?

आइतबार, ०९ असार २०८१, २१ : ५१
आइतबार, ०९ असार २०८१

धनगढी । सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव कमानसिंह खत्रीको सरुवा भएको छ । असार १ गते प्रदेश सरकारको बजेट कार्यक्रम आएको भोलिपल्ट नै प्रदेश सचिव खत्रीको सरुवा भएको हो ।

करिब तीन महिना अगाडि मात्रै सुदूरपश्चिम आएका खत्रीको बजेट कार्यक्रम आएको दोस्रो दिन नै सरुवा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनको सरुवालाई नियमितभन्दा पनि राजनीतिक कारणले भएको बताइएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारलाई पूर्णता दिन नसक्दा लामो समयसम्म आफूमार्फत नै आर्थिक मामिला मन्त्रालय राखेका थिए । मन्त्री नहुँदा उनै सचिव खत्रीको नेतृत्वमा बजेट निर्माण भयो ।

बजेट कार्यक्रम आउने समयको पूर्वसन्ध्या अर्थात् जेठ २८ गते सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री सोडारीले आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्र पाललाई नियुक्त गरे । विशेष गरी बजेट निर्माणको चरणमा कर्मचारी संयन्त्रबाट असहयोग भएको आरोप लगाउँदै सचिव खत्रीलाई हटाइएको स्रोतको दाबी छ । मुख्यमन्त्री सोडारीका साथै बजेटको पूर्वसन्ध्या नियुक्त भएका मन्त्री पाल र कर्मचारीबिच बजेट निर्माणमा अन्तरद्वन्द्व हुँदा प्रदेश सचिव खत्री निशानामा परेको बताइएको छ ।

रातोपाटीसँगको कुरा गर्दै सचिव खत्रीले भने, ‘हामीले विधि र पद्धति अनुसार काम गर्ने हो । बजेट निर्माणको बेला स्वाभाविक रूपमा प्रेसर हुन्छ नै । राजनीतिक नेतृत्वहरूको आफ्नो क्षेत्रमा सकेसम्म बढी कार्यक्रम लैजाने उद्देश्य सबैको हुन्छ । तर हामी चाहिँ विधि पद्धति अनुसार काम गर्नुपर्ने हुन्छ ।’

बजेटको दोस्रो दिन मात्रै आफ्नो सरुवा भएको जानकारी पाएको बताउँदै उनले आफ्नो सरुवालाई भने नियमित प्रक्रियाको रूपमा लिएको बताएका छन् । तर सरुवा भएको पत्र हालसम्म प्राप्त नभएको उनको भनाइ छ ।

उनको सरुवा कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयमा भएको छ । उनको ठाउँमा नेपाल ट्रस्टमा कार्यरत झलकराम अधिकारी आउन लागेको आर्थिक मामिला मन्त्रालय स्रोतले बतायो । 

असार १ गते प्रदेश सरकारले बजेट कार्यक्रम ल्याए पनि हालसम्म कार्यक्रम पुस्तिका ल्याउन सकेको छैन । साथै प्रदेश सभामा बजेट कार्यक्रममाथिको छलफल समेत अघि बढेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप