बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अर्थ

राष्ट्र बैंकको खुकुलो नीति र तरलता सहज हुँदा बढ्यो घरजग्गा कारोबार

सोमबार, १० असार २०८१, ११ : ५९
सोमबार, १० असार २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट खुकुलो नीति लिएपछि घरजग्गाको कारोबार बढ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार दुई वर्षभन्दा बढी समयपछि घरजग्गा कारोबार बढ्न थालेको हो ।

यसअघि कोरोना महामारी र कित्ताकाट रोक्ने सरकारी नीतिका कारणले घरजग्गाको कारोबारमा शिथिलता आएको थियो । विभागका अनुसार २०८१ सालको जेठ महिनामा ६१ हजार १६१ वटा जग्गा कारोबार भएको छ । केन्द्रीय बैंकले जेठ पहिलो साता मौद्रिक नीति समीक्षा गर्दै घरजग्गा कारोबारमा लिएको कडा नीति खुकुलो बनाएको थियो ।

राष्ट्र बैंकले बैंकहरूमा तरलता अभाव भएपछि घरजग्गामा जाने रकममा कडाइ गर्ने नीति लिएको थियो । राष्ट्र बैंकले घरजग्गा किन्दा मासिक आम्दानीको ५० प्रतिशत किस्ता तिनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थाका कारण घरजग्गा व्यवसाय ओरालो लागेको र समग्र अर्थतन्त्र नै प्रभावित बनेको घरजग्गा व्यवसायी बताउँदै आइरहेका छन् ।

कर्जाको किस्ता मासिक ५० प्रतिशतमा झारेपछि घरजग्गा कारोबारीसहित सेवाग्राहीलाई समस्या प¥यो । यो व्यवस्थालाई सुधार गर्दै तेस्रो समीक्षाबाट केन्द्रीय बैंकले किस्ताको सीमा ७० प्रतिशत पु¥यायो । यही नीतिका कारण जेठ महिनामा घरजग्गाको कारोबार ह्वात्तै सुधार आएको हो । यसबाहेक बैंकहरूमा तरलता रकम बढ्नु र ब्याजदर बिस्तारै ओरालो लाग्नुले समेत कारोबार बढाउन मद्दत पु¥याएको बताइन्छ ।

विभागका अनुसार जेठ महिनामा ७ हजारभन्दा बढी घरजग्गा नामसारी भएका छन् । यो पनि पछिल्लो २ वर्ष यताकै सबैभन्दा धेरै हो । देशभरका १३० मालपोत कार्यालयबाट यो सङ्ख्यामा घरजग्गाको कारोबार भएको हो । यस्तै जेठ महिनामा अवधिमा ३० वटा अपार्टमेन्ट समेत किनबेच भएको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत खुकुलो नीति लिएका कारणले घरजग्गाको कारोबार बढेको बताए । कारोबार बढेसँगै घरजग्गामार्फत उठ्ने राजस्वसमेत बढेको उनले रातोपाटीलाई जानकारी दिए । घरजग्गाको कारोबार बढ्न थालेपछि अर्थतन्त्र चलायमान बन्नुका साथै राजस्व सङ्कलन समेत बढ्ने अपेक्षा सरोकारवालाको छ ।

२०८१ कै वैशाख महिनामा घरजग्गाको कारोबार ४९ हजार ७८२ तथा ४ हजार घरजग्गा नामसारी भएको थियो । यस्तै २८ वटा अपार्टमेन्ट कारोबार भएको थियो । त्यसअघि २०८० चैतमा ५० हजार २५२ वटा घरजग्गा कारोबार हुँदा १८ वटा अपार्टमेन्ट किनबेच भएको थियो ।

तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष (२०८०÷८१) को ११ महिनाको तुलनामा जेठ महिनामा सबैभन्दा धेरै घरजग्गाको कारोबार भएको हो । यसअघि माघ, फागुन र चैत महिनामा मासिक ५० हजार घरजग्गा किनबेच भएको थियो । यस्तै वैशाख महिनामा ४९ हजार घरजग्गा किनबेच भएको थियो ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी राष्ट्र बैंकले खुकुलो नीति लिँदा जेठमा कारोबार बढेको स्वीकार्छन् । ५० लाखदेखि २ करोड रुपैयाँसम्मको घरजग्गा किन्दा ७० प्रतिशतसम्म किस्ता तिर्न मिल्ने व्यवस्था बनेको छ । ‘तर हाम्रो माग भने ८० प्रतिशतसम्म पु¥याउनुपर्छ भन्ने छ,’ लोहनीले रातोपाटीसँग भने । यसो हुन सकेमा झनै कारोबार बढ्ने लोहनीको भनाइ छ ।

बढ्यो राजस्व सङ्कलन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै कर बुझाउने मन्त्रालयको सूचीमा भूमि व्यवस्था मन्त्रालय रहेको दाबी गरेका छन् । उनले गत साता प्रतिनिधि सभाको बैठकमा मन्त्रालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका थिए ।

देशभरका ४ महाशाखा, १३० नापी कार्यालय र १३० वटा मालपोत कार्यालयबाट अर्बौं रुपैयाँ राजस्व सङ्कलन आफ्नो मन्त्रालयले गरेको उनले बताएका थिए ।

उनले भनेका थिए, ‘अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै कर सङ्कलन गर्ने मन्त्रालयमा भूमि मन्त्रालय दोस्रो स्थानमा छ ।’ यस्तै सो मन्त्रालयले देशभरका ३० लाखभन्दा बढी सर्वसाधारणलाई सेवा दिएकोसमेत मन्त्री अधिकारीले बताएका थिए ।

उनले भनेजस्तै मालपोत कार्यालय राज्य स्रोतलाई चाहिने रकम सङ्कलनका लागि अग्रमोर्चामा खटिने कार्यालय हो । देशभर फैलिएका १३० वटा मालपोत कार्यालयबाट मासिक २०औँ करोड राजस्व सङ्कलन भइरहेको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ । यो महिना ३२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको विभागले जनाएको छ । यसबाहेक चैत महिनामा ३१ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने गत वर्ष २०८० को असोज महिनामा ३७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालु वर्षको ११ महिनाको अवधिमा कुल २ अर्ब ९४ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ ।

चालु वर्षको कुन महिनामा कति कारोबार ?

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप