महिला एसिया कप क्रिकेट : यूएईलाई सजिलै हराउँदै पाकिस्तान सेमिफाइनल नजिक
काठमाडौँ । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा टेस्ट राष्ट्र पाकिस्तानले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)लाई १० विकेटको फराकिलो अन्तरले हराएको छ ।
जितसँगै पाकिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । समूह ‘ए’ मा दुई खेल खेलेको भारत चार अंकसहित पहिलो स्थानमा छ । तीन खेल खेलेको पाकिस्तान चार अंकसहित दोस्रो स्थानमा छ । नेट रन रेटमा पाकिस्तानभन्दा भारत अगाडि छ ।
दुई खेलबाट दुई अंक बटुलेको नेपाल तेस्रो स्थानमा छ । नेपालले मंगलबार राति बलियो भारतसँग आफ्नो अन्तिम खेल खेल्दैछ । लगातार तीन खेलमा पराजित भएको यूएई भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
मंगलबार हुने खेलमा नेपाली टोली पराजित भए भारत र पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । तर, नेपालले भारतलाई पराजित गरे तीनवटै टोलीको चार–चार अंक हुनेछ । यस्तोमा नेट रन रेटका आधारमा अघिल्लो चरणमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । यद्यपि, हाल नेट रन रेटमा नेपाल निकै पछाडि छ ।
मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने १४.१ ओभरमा कुनै पनि विकेट नगुमाई एक सय सात रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
पाकिस्तानको जितमा गुल फिरोजाले अर्धशतकीय योगदान गरिन् । उनले अविजित ६२ रन बनाइन् । उनले ५५ बलको सामना गरी आठ चौका पनि हिर्काइन् । अर्की ओपनर मुनिबा अलीले पनि अविजित ३७ रनको योगदान गरिन् । उनले ३० बलको सामना गरी चार चौका पनि हिर्काइन् ।
त्यसअघि पहिलो ब्याटिङ गरेको यूएईका लागि ओपनर थिरथा सतिषले सर्वाधिक ४० रन बनाएकी थिइन् । उनले ३६ बलमा पाँच चौका पनि प्रहार गरिन् । कप्तानसमेत रहेकी अर्की ओपनर एसा ओजाले १६ रन जोडिन् ।
खुसी शर्माले टोलीको खातामा १२ रन थपिन् । यूएईका अन्य ब्याट्सले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानी टोलीका बलर सादिया इक्वाल, नासरा सन्धु र तुबा हसनले दुई–दुई विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण