कैलालीमा अझै हटेन पशु चौपाया छाड्ने प्रवृत्ति
कैलाली । कैलालीमा पशु चौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन । पशु चौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ ।
पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशु चौपायाको स्याहारसुसार गर्ने र काम नलाग्ने भएपछि जथाभाबी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताए । “काम नलाग्ने भएपछि छाडा छाड्ने गाई गोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ । धनगढीको छ लेन सडकमा दैनिकजसो एक/दुई गाई गोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन् । हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ”, उनले भने ।
केही वर्ष पहिले यहाँका स्थानीयले घरघरमा दूधका लागि गाई पाल्ने गर्थे । गाईबाट जन्मिएका गोरुलाई खेत जोन्नका लागि प्रयोगमा ल्याउँथे । कृषिको आधुनिकीकरणसँगै आएका कृषि औजारका कारण गोरुको प्रयोग गरेर खेती गर्ने कार्य विस्थापित हुँदै गएको छ । घरमा गाई पालेर दूध खाने चलन पनि बिस्तारै हराउँदै छ । पाल्नेहरूले पनि दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्ति छ ।
स्थानीय अगुवा शेरबहादुर विष्टले पशु चौपाया छाड्ने प्रवृत्ति कायमै रहेकाले यसबाट किसान सबैभन्दा बढी मारमा परेको उनले बताए । छाडा पशु चौपायाका कारण किसानलाई खेतमा लगाएको खाद्यान्न बाली जोगाउनै समस्या भएको विष्टको गुनासो छ ।
कृषक दुर्गा जोसीले छाडा चौपायाबाट अन्नबाली जोगाउनै मुस्किल भएको दुखेसो पोखे । “अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु । थुप्रै पैसा खर्च गरेर धान रोपेको थिए । केही जमिनमा तरकारी लगाएको छु तर रातको समयमा पशु आएर खाइदिनाले जोगाउन निकै सकस भएको छ”, उनले भने ।
छाडा पशु चौपाया दिनभर बजार क्षेत्रमा डुल्ने र रात परेपछि खेतबारीमा आएर बालीनाली नोक्सान गर्ने गरेका छन् । किसानलाई मात्रै होइन स्थानीय तहलाई पनि यसरी छाडेका पशु चौपाया व्यवस्थापनमा समस्या भएको छ । धनगढी उपमहानगरपालिकाद्वारा छाडा पशु चौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरिएको छ ।
धनगढी–३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला सञ्चालनमा छ । धनगढीको फूलबारी र बेहडाबाबामा पनि गौशाला सञ्चालनमा ल्याइएका छन् भने कतिपय स्थानहरूमा ‘काञ्जी हाउस’समेत निर्माण गरिएका छन् । तर धनगढीसँग जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण विभिन्न स्थानबाट चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको छ ।
गौ संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले धनगढीका साथै खुला सीमा नाका कारण अन्य क्षेत्रबाट चौपाया भित्रिने गरेकाले व्यवस्थापनमा चुनौती रहेको बताए । “यहाँका विभिन्न ठाउँमा गौशाला र काञ्जी हाउस बनाइएका छन् तर पनि बजारमा समस्या कायमै छ । छाडा चौपायाको व्यवस्थापनका लागि स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन”, उनले भने ।
त्यसैले यहाँ छाडा पशु चौपायाको व्यवस्थापन गर्न स्थानीय तह मात्रै नभई प्रदेश र सङ्घीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने अवस्थीलगायत स्थानीय सरोकारवालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामसुङको मोबाइलमा 'बाइ नाउ पे लेटर' सेवा उपलब्ध
-
यसरी गरिँदैछ इन्द्रजात्राको तयारी
-
पूर्वमुख्यमन्त्री कार्की बसे आमरण अनशनमा
-
आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान
-
इन्डोनेशियाले बालीमा नयाँ होटल बनाउन लगायो प्रतिबन्ध
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशी प्रदेश सभाका सांसदहरूलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण