जब शरणार्थी खेलाडीले पदक जितेर इतिहास रचिन्
काठमाडौँ । फ्रान्सको राजधानी सहर पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा दुई सय ६ राष्ट्रका खेलाडीले सहभागिता जनाएको भनिएको छ । खासमा, यो ओलम्पिकमा दुई सय चार राष्ट्रका खेलाडीले मात्र सहभागिता जनाएका छन् ।
बाँकी दुई टोलीको अवस्था भने फरक हो । त्यसमध्ये एउटा टोली हो, इन्डिभिडुअल नेचुरल एथलिट्स (एआईएन) । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले युक्रेनमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै रुस र बेलारुसलाई पेरिस ओलम्पिकमा सहभागी हुनबाट रोक लगाएको छ ।
यस्तो स्थितिमा आईओसीको प्रतिबन्धमा परेका राष्ट्रका खेलाडीले यही नामको अधीनमा रहेर व्यक्तिगत रूपमा पेरिस ओलम्पिकमा सहभागिता जनाएका छन् । जारी ओलम्पिकमा यस्ता खेलाडीको राष्ट्रियता तटस्थ रहन्छ ।
यसैगरी अर्को हो, रिफ्युजी ओलम्पिक टिम (ईओआर) । राजनीतिक कलह, आन्तरिक कलह वा युद्धको अवस्थाजस्ता कारणले आफ्नो देश छाडेर अन्य राष्ट्रमा शरण लिएर बसेका खेलाडीले यो नामको अधीनमा रहेर पेरिस ओलम्पिक खेल्दैछन् । यस्ता खेलाडीले व्यक्तिगत रूपमा ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।
यसअघिका ओलम्पिकमा पनि यस्तो परम्परा रहँदै आएको थियो । पेरिस ओलम्पिकमा शरणार्थीको टोलीबाट खेल्ने एक खेलाडीले पनि पदक जित्ने पक्का भइसकेको छ । मुक्केबाज सिन्डी नगाम्बाले शरणार्थीको टोलीबाट पदक पक्का गरेकी हुन् ।
उनी ओलम्पिक खेलकुदको इतिहासमा पदक जित्ने पहिलो शरणार्थी खेलाडी बन्दै इतिहास रच्न पनि सफल भएकी छन् । २५ वर्षीया सिन्डीले महिला बक्सिङको ७५ केजी तौल समूहको सेमिफाइनलमा स्थान बनाउँदै कांस्य पदक पक्का गरेकी हुन् । बक्सिङको सेमिफाइनलमा पराजित हुने दुवै खेलाडीले कांस्य पदक प्राप्त गर्ने प्रावधान छ ।
‘हो, म पनि तपाईंहरुजस्तै मान्छे हुँ । अहिले म राज्यविहीन अवस्थामा छु । तपाईंहरुको आफ्नै देश छ तर, मसँग आफ्नो देशको पहिचान छैन । मेरो परिचय शरणार्थी मात्र होइन । अब मैले नयाँ परिचय पनि बनाएकी छु, ओलम्पिक पदक विजेताका रूपमा । मेरो शरीरमा पनि तपाईंहरुजस्तै रगत बगिरहेको छ । किनभने म पनि मान्छे नै हुँ ।’
यद्यपि, उनले सेमिफाइनल खेल्न बाँकी नै छ । सेमिफाइनलमा विजयी भए उनको रजत पदक पक्का हुनेछ । यस अर्थमा उनले जारी ओलम्पिकमा स्वर्ण पदक जित्ने सम्भावना पनि छ । सेमिफाइनलमा उनले पानामाकी खेलाडी अथेयना बाइलोनसँग भिडन्त गर्नेछिन् ।
सिन्डी क्वार्टरफाइनल खेलमा आयोजक राष्ट्र फ्रान्सकी डाभिना माइकललाई ५–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । डाभिना छैटौँ वरीयताप्राप्त खेलाडी हुन् । खासमा सिन्डीको जन्म मध्य अफ्रिकी राष्ट्र क्यामरुनमा भएको हो ।
उनी केवल १० वर्षको उमेरमा बेलायत पुगेकी थिइन् । हालसम्म उनी शरणार्थीकै रूपमा रहँदै आएकी छन् । उनले हालसम्म बेलायतको राहदानी प्राप्त गर्न सकेकी छैनन् । त्यसैले उनले शरणार्थीको टोलीबाट ओलम्पिक खेलेकी हुन् ।
‘म पनि अरूजस्तै मान्छे नै हुँ,’ आफूभित्र राज्यविहीन भएर बस्नु पर्दाको पिडा लुकाउँदै आएकी यी प्रतिभाशाली मुक्केबाजले ओलम्पिकमा ऐतिहासिक पदक पक्का गरेपछि सञ्चारकर्मीसँग भनेकी छन् । उनले विश्वले आफूलाई केवल शरणार्थीको रूपमा पहिचान दिएकोमा चित्त दुखाएकी छन् ।
‘हो, म पनि तपाईंहरुजस्तै मान्छे हुँ । अहिले म राज्यविहीन अवस्थामा छु । तपाईंहरुको आफ्नै देश छ तर, मसँग आफ्नो देशको पहिचान छैन । मेरो परिचय शरणार्थी मात्र होइन । अब मैले नयाँ परिचय पनि बनाएकी छु, ओलम्पिक पदक विजेताका रूपमा । मेरो शरीरमा पनि तपाईंहरुजस्तै रगत बगिरहेको छ,’ उनले भनेकी छन् ।
शरणार्थीको टोलीले सन् २०१६ को रियो ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएको थियो । तर, यसअघि ओलम्पिकमा शरणार्थी टोलीको कुनै पनि खेलाडीले पदक जित्न सकेको थिएन । टोकियो ओलम्पिकमा शरणार्थी टोलीका तेक्वान्दो खेलाडी पाँचौँ भएका थिए ।
सिन्डीले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा शरणार्थी टोलीको झण्डा बोकेर मार्च पास्ट पनि गरेकी थिइन् । ‘कांस्य मेरो अन्तिम लक्ष्य होइन । अब म रजत पदकका लागि सक्दो प्रयास गर्नेछु,’ उनले भनेकी छन् । उनको सेमिफाइनल खेल बिहीबार हुनेछ ।
सिन्डीको जीवनसँग अर्को एउटा रोचक पक्ष पनि जोडिएको छ । त्यही पक्षले उनलाई आफ्नो जन्मभूमि क्यामरुन फर्कन रोकिरहेको छ । खासमा, सिन्डी समलिङ्गी हुन् । अफ्रिकी राष्ट्र क्यामरुनमा समलिङ्गी हुनु निकै गम्भीर अपराध मानिन्छ । क्यामरुन फर्किएका उनलाई पाँच वर्षको कारावास सजाय हुनेछ ।
शरणार्थीका रूपमा इङ्ल्यान्डमा बस्न थालेको १५ वर्ष बितिसके पनि उनी अझै त्यहाँको नागरिक बन्न सङ्घर्ष गरिरहेकी छन् । आफू देशविहीन अवस्थामा रहेको जानकारी दिन हस्ताक्षर अभियान सञ्चालन गर्दा पाँच वर्षअघि उनी जेलसम्म जानु परेको थियो ।
पक्राउ गरेको केही समयपछि सिन्डी र उनका भाइलाई म्यानचेस्टरबाट लन्डन पठाइएको थियो । त्यसपछि उनलाई शरणार्थी क्याम्पमा आश्रय दिइएको थियो । उनले आईओसीबाट ओलम्पिकका लागि छात्रवृत्ति समेत पाएकी थिइन् ।
उनले बोल्टन विश्वविद्यालयबाट अपराधशास्त्रको अध्ययन पनि गरेकी छन् । नागरिकता नभए पनि उनले बेलायतको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँछिन् । उनी ब्रिटिस एमेच्योर च्याम्पियनसिपमा तीन छुट्टाछुट्टै तौल समूहकी च्याम्पियन पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी लोक मार्गअन्तर्गत ‘डेउढी-भर्याङभुरुङ’ खण्ड अवरुद्ध
-
एक वर्षमा भ्रष्टाचारका २७ हजार उजुरी फर्छ्यौट, ९३२ वटा उजुरीमा विस्तृतमा अनुसन्धान
-
‘कम्पनीहरूले मूल्य बढाएर आईपीओ जारी गर्ने परिपाटीले साना लगानीकर्ता मारमा’
-
यी हुन् बढी उजुरी परेका प्रदेशका १० मन्त्रालय (सूचीसहित)
-
‘नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्नुपर्छ’
-
‘६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी धितोपत्र बोर्ड जिम्मेवार हुनुपर्छ’