एमालेभित्र ओलीलाई कसले दिँदैछ ‘गुटगत’ चुनौती ?
काठमाडौँ । ‘डेमोक्रेसीका नाममा जब पार्टीभित्र गुटबन्दी गरिन्छ, पार्टी उँभो लाग्दैन । संसारमा कुनै पनि पार्टी गुटबन्दीले उँभो लागेका छैनन् । स्थिर रहने पार्टीहरूले गुटबन्दी गर्दैनन्, हुँदैन र सहँदैन । पार्टी ओरालो लाग्नु छ भने गुटबन्दीको बाटो समाउँछ’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित नयाँ केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा भनेका वाक्य हुन् यी ।
समयमा गुटबन्दीलाई नियन्त्रण गरेर पार्टीका रूपमा अघि बढाइएन भने पार्टी विभाजित हुने ओलीले बताए । गणतन्त्रपछि एमालेमा मात्र होइन, अन्य पार्टीमा समेत वैचारिक र सैद्धान्तिक विषय कमजोर भएको गुनासो आइरहेका बेला अध्यक्ष ओलीले आफ्नो पार्टीमा कुनै पनि किसिमका गुट स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।
यद्यपि २०७८ साल भदौ ९ यता एमालेमा अध्यक्ष ओलीलाई खुला चुनौती दिने र संस्थागत गुटबन्दी गर्ने कोही नेता देखिएका छैनन् । तर पनि अध्यक्ष ओलीले पार्टीभित्र बेलाबेला गुटबन्दीको चर्चा गर्दै आएका छन् ।
आइतबार पनि अध्यक्ष ओलीले तीन वर्ष अघि पार्टी विभाजनको घटना स्मरण गर्दै नेताहरूलाई गुटबन्दी नगर्न चेतावनीको शैलीमा निर्देशन दिए ।
‘हाम्रो पार्टी विभाजित हुनका पछि पनि त्यही हो, लामो समयदेखि गुटबन्दी थियो’, ओलीले भने, ‘या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततोगत्वा विभाजनमा जान्थ्यो । हाम्रो पार्टी त्यस्तै भयो ।’
जतिबेला माधवकुमार नेपाल र झलनाथ खनालहरूले एमालेमा विद्रोह गरेर २०७८ साल भदौ ९ गते निर्वाचन आयोगमा अलग पार्टी गठन गरे, त्यस यता एमालेमा कोही कसैले गुटगत गतिविधि, भेला, बैठक केही गरेका छैनन् । तर पनि ओली पार्टीभित्र गुटगत प्रवृत्तिको विरोध गरिरहेका हुन्छन् ।
‘म अरु पार्टीहरूको बारेमा केही भन्न चाहन्नँ, हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन’, ओलीले भने ।
_n0tZMMluWK.jpg)
अध्यक्ष ओलीलाई एमालेमा चुनौती दिने नेता प्रत्यक्ष कोही देखिँदैन । तर अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको कार्यशैलीप्रति असन्तुष्ट नेताहरूको समूह भने ठुलै छ । तर उनीहरू बाहिर बोल्न सक्ने अवस्थामा भने छैनन् ।
राजनीतिक विश्लेषक झलक सुवेदीको बुझाइमा ओली पार्टीमा सर्वेसर्वा भए पनि केही न केही असन्तुष्टि हुनसक्छ भन्ने शङ्का गरेर गुटको कुरा गरेको हुनसक्ने बताउँछन् ।
‘केही न केही शङ्का भएरै अध्यक्ष ओलीले गुट स्वीकार्य छैन भनेको हुनसक्छ वा भित्रभित्रै केही खिचडी पाकिरहेको पो छ कि ?’, सुवेदीको भनाइ छ ।
सुवेदीले केन्द्रमा एमालेभित्र खासै गुट नदेखिए पनि प्रदेश र जिल्लातिर देखिएको गुटलाई नियन्त्रण गर्न ओलीले त्यस्तो निर्देशन दिएको हुनसक्ने बताए ।
‘प्रदेश र जिल्लातिर लक्षित हुनसक्छ’, सुवेदीले रातोपाटीसँग भने, ‘नयाँ समीकरणपछि हालै लुम्बिनीको मुख्यमन्त्री चयनका सवालमा देखिएको विवाद र लीला गिरीले राजीनामा दिएको घटना सङ्ग्रहित हुन नपाओस् भन्ने ओलीको आशय हुनसक्छ ।’
कतिपयले ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चा र एमालेभित्रका १० बुँदे पक्षधर लक्षित अभिव्यक्ति दिएको समेत टिप्पणी गर्ने गरेका छन् । तर विश्लेषक सुवेदी ती दुवै पक्षले ओलीलाई चुनौती दिने सम्भावना आफूले नदेखेको बताउँछन् ।
‘पूर्वराष्ट्रपति विद्या भण्डारी ओलीलाई च्यालेन्ज गरेर र भिडन्त गरेर आउने अवस्था रहन्छ भन्ने लाग्दैन । यदि आएको खण्डमा पनि ओलीसँगको सहमतिमै आउने हो’, सुवेदीले रातोपाटीसँग भने, ‘बेलाबखत तलतिर देखिने परिदृश्यलाई तर्साउन ओलीले बेलैमा सतर्क गराउन खोजेको हुनसक्छ ।’

उनले एमालेभित्रका दश बुँदे पक्षधर भनिएका नेताहरूबाट पनि ओलीलाई कुनै खतरा नरहेको टिप्पणी गरे ।
‘दश बुँदे पक्षधर नेताहरू पनि अहिले ओलीलाई चुनौती वा खतरा दिन सक्ने अवस्थामा देखिँदैनन् । दश बुँदे पक्षधर संगठित पनि छैनन् र उनीहरू आफू जसरी सुरक्षित हुन सकिन्छ, त्यतैतिर लागेका छन्’, सुवेदीले भने ।
तर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य कुनै पनि पार्टीमा गुट तलबाट नभई माथिबाटै सिर्जना हुने बताउँछिन् । पुष्पलालका भनाइ उद्धृत गर्दै शाक्यले भनिन्, ‘पार्टी नीति प्रधान हुनुपर्छ न कि व्यक्ति प्रधान । यस्तो भए कुनै समस्या आउँदैन ।’
उनले विचार बलियो बनाएर वैचारिक ढङ्गले अघि बढ्न जरुरी रहेको पनि बताइन् । ‘कहिलेकाहीँ न्यायोचित मूल्याङ्कन नभएपछि पनि पार्टीमा समस्या आउँछ । कामको आधारमा न्यायोचित मूल्याङ्कन गर्नुपर्छ’, शाक्यले भनिन्, ‘मेरो वा आफ्नो मान्छे हेर्न थालेपछि काम गर्ने मान्छेलाई अन्याय नै पर्छ ।’
शाक्यले गुटबारे ओलीका अभिव्यक्ति आफूले नसुनेको भन्दै सामान्य असमझदारी हुने भए पनि अध्यक्षलाई अहिले सबैले मानेकाले निर्धक्क ढङ्गले काम गर्न सुझाव दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण