को हुन् मोहम्मद युनुस ? जसलाई अन्तरिम सरकारको नेतृत्व दिने भइरहेको छ चर्चा
ढाका । बङ्गलादेश अहिले हिंसाको आगोमा जलिरहेको छ । आरक्षण विरोधी प्रदर्शन र हिंसात्मक झडपबीच देशमा सत्ता पल्टियो । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर सुरक्षा खोज्दै भारत गइन् ।
अहिले देशको कमान्ड सेनाले लिएको छ । यसैबीच, आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई सरकारको प्रमुख सल्लाहकार बनाउने प्रस्ताव गरेका छन् ।
मंगलबार बिहानै फेसबुकमा जारी गरिएको भिडियोमा आन्दोलनकारीका नेताहरूले उक्त प्रस्तावको घोषणा गरेका हुन् । उनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई प्रमुख नियुक्त गर्ने प्रस्ताव गर्दै अन्तरिम सरकारको योजना बनाएका छन् । यसैबीच बंगलादेशका सेना प्रमुख वकार–उज–जमानले दिउँसो आन्दोलनकारीका नेताहरूसँग भेट गरिरहेका छन् ।
को हुन् मोहम्मद युनुस ?
मोहम्मद युनुस बंगलादेशका सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र सामाजिक नेता हुन् । गरिबी उन्मूलनका लागि गरेको विशेष प्रयासका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । गरिबी निवारणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई यो पुरस्कार दिइएको हो ।
युनुसले सन् १९८३ मा ग्रामीण बैंक स्थापना गरेका थिए । यसले गरिबहरूलाई स–सानो ऋण उपलब्ध गराउँथ्यो । ग्रामीण बैंक मार्फत लघु कर्जाको लागि बंगलादेशले विश्वभर नै व्यापक प्रशंसा पाएको छ । यसले ठुलो सङ्ख्यामा मानिसहरूको जीवनस्तर उकास्न सफल भयो । सन् २००९ मा युनुस यूनाइटेड स्टेट्स प्रेसिडेन्शियल मेडल अफ फ्रिडमले सम्मानित भए । सन् २०१० मा उनले कंग्रेशनल गोल्ड मेडल पनि पाए । यसबाहेक पनि उनले अन्य कयौँ अवार्ड प्राप्त गरेका छन् ।
ग्रामीण बैंकको स्थापना
युनुसले सन् १९६१ देखि सन् १९६५ को बीचमा बंगलादेशको चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्रको अध्ययन गरे । उनले वेन्डरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरे । बंगलादेशमा उनले ग्रामीण बैंक स्थापना गरे अनि लघु ऋण कार्यक्रम सुरु गरे ।
सन् २००७ को फेब्रुअरी १८ मा युनुसले नागरिक शक्ति नामक राजनीतिक पार्टी खोले । उनलाई बंगलादेशको एक अदालतले यसै वर्ष श्रम कानून उल्लङ्घनको आरोपमा छ महिनाको जेल सजाय सुनाएको थियो । तर, मार्चमा उनलाई जमानत दिइयो ।
यस्ता छन् उनीमाथि लागेका आरोप
नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसलाई पनि २३ लाख डलर हिनामिना गरेको अभियोगमा जेल सजाय सुनाइएको छ । बंगलादेशको सबैभन्दा ठुलो मोबाइल फोन अपरेटर ग्रामीण फोनमा ग्रामीण टेलिकमको ३४ दशमलव २ प्रतिशत सेयर छ । ग्रामीण फोन नर्वेको दूरसञ्चार कम्पनी टेलिनोरको सहायक कम्पनी हो । यसबाहेक पनि उनीमाथि २५ करोड डलरभन्दा बढीको अपचलन गरेको सम्पत्ति शुद्धीकरण गरेको आरोप पनि लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापान नेपालीको रोजगारीका लागि सुरक्षित गन्तव्य : श्रममन्त्री भण्डारी
-
एक लाख ८० हजार क्याप्सुल ट्रामाडोलसहित ६ जना पक्राउ
-
पाठ्यक्रम परिमार्जनबारे विज्ञहरूसँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
दसैँ अगावै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्न सरकारसँग अध्यक्ष सिंहको माग
-
काठमाडौँका ६ ठाउँ मोटरसाइकल चोरीको ‘हट स्पट’
-
ईपीएस उत्पादनमूलकको सीप परीक्षणको नतिजा प्रकाशित