बुधबार, ०२ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, २४ साउन २०८१, २१ : ५९
बिहीबार, २४ साउन २०८१

आज मिति २०८१ साल साउन महिनाको २४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ ।

१. समितिबाट टुंगियो टीआरसी विधेयक

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक लामो विवादपछि बिहीबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले पारित गरेर पठाएको छ । २०७९ फागुन २५ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो ।

दर्ता भएको करिब एक वर्षपछि २०८० मा मात्र समितिमा उक्त विधेयक पुगेको थियो । विधेयकमा पहिलो चरणमा सामान्य छलफलपछि उपसमिति गठन गरिएको थियो । उपसमितिले केही समय छलफल गरेर चार विषय थाँती राख्दै २०८० माघमा प्रतिवेदन बुझायो । उपसमितिले आफ्नो प्रतिवेदनमा विवादित विषयमा शीर्ष नेताबिच छलफल हुनुपर्ने भनेर सुझाव दिएको थियो ।

२. कांग्रेस बैठक

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रदेश सभापतिहरूले प्रदेशको अधिकारमा केन्द्रले हस्तक्षेप गरेको भन्दै हस्तक्षेपले संघीयता कार्यान्वयनमा अप्ठेरो पर्ने गुनासो गरेका छन् ।

बैठकको दोस्रो दिन ११ एजेण्डामाथि धारणा राख्ने क्रममा प्रदेश सभापतिहरूले केन्द्रले हस्तक्षेप गरेको गुनासो गरेका हुन् ।

३. अर्थ समिति बैठक

बिहीबार संसदीय समिति अन्तर्गतको अर्थ समितिमा धितोपत्र बोर्डका अध्यक्ष महेश बराल र सांसदहरूबिच सवालजवाफ भएको छ । खासगरी नयाँ सरकार आएसँगै एकाएक पुँजी बजारमा आएको उतारचढाव, नेप्से सूचकमा अस्वाभाविक वृद्धिले बजारमा ल्याएको तरङ्गको मुद्दामा सांसदहरूले सम्भावित चलखेलका विषयमा बोर्डका अध्यक्षलाई प्रश्न राखेका थिए ।

४. सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश दिएको हो ।

५. शव परीक्षण सुरु

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा सर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

७. मिटरब्याजको जालो

विराटनगर–१८ लावाघाटका ५८ वर्षीय महेशलाल मण्डलले विराटनगर–१८ कै मिटरब्याजी सुनिल साहसँग २०६८ सालमा चार कट्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ कर्जा लिएका थिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरिसके पनि जग्गा फिर्ता भएन ।

अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने सुनिलले बताएर जग्गा कब्जा गरेपछि महेशलाल सङ्घर्षमा उत्रिए ।

मण्डलले आफ्नो जग्गा फिर्ता ल्याउन एक वर्ष अगाडिदेखि न्यायिक निकायको घरदैलो चहारिरहे । स्थानीय जनप्रतिनिधिदेखि प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसम्म मिटरब्याजीले हडपेको जग्गा फिर्ताको लागि उनी कयौँ दिन धाए ।

मण्डलसहित लावाघाट र दमादिगीका आधा दर्जनभन्दा बढीले मिटरब्याजी सुनिलको विरुद्धमा प्रशासनमा उजुरी पनि दिए । उजुरी दिएपछि उनै महेशलालको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफल भयो ।

पीडित महेशलालको नाममा धेरै समाचार पनि बने । उनीसहितले गरेको पहल र सङ्घर्षकै परिणाम उनकोसहित दमादिगी र लावाघाटका ६ जना पीडितले मिटरब्याजी सुनिल साहबाट गत आइतबार धनीपुर्जा फिर्ता पाए ।

८. गाईजात्राको तयारीमा कलाकार

‘गाईजात्रा’ नजिकिँदै गर्दा हाँस्य कलाकारको चटारो बढेको छ । उनीहरू गाईजात्राका लागि डिजिटलदेखि भौतिक कार्यक्रमको तयारीमा व्यस्त छन् ।

‘गाईजात्रा’ मौलिक पर्व हो । कलाकारले यो पर्वलाई मनोरञ्जनात्मक कार्यक्रम गर्ने मञ्चका रूपमा लिने गर्दछन् । उनीहरू वर्षभरिका राजनीतिक, सामाजिक, आर्थिक लगायत हरेक विकृति, विसङ्गतिप्रति खुलेर व्यङ्ग्यको झटारो हान्छन् । गाईजात्रालाई वाक स्वतन्त्रताको रूपमा रुपमा समेत लिइन्छ ।

९. महसुल विवाद

नेपाल विद्युत् प्राधिकरणले लेखा समितिमा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा बुझाएको छ । लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।

१०. रंगलाशालाई मान्यता

राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको हो ।

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप