‘मूल नेतृत्वले नै जनार्दनले पार्टी फुटाउँदै छ भनिदियो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मूल नेतृत्वले नै 'जनार्दनले पार्टी फुटाउँदै छ' भन्ने हल्ला फैलाएको आरोप लगाएका छन् ।
मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू रहेको उल्लेख गर्दै शर्माले नेतृत्व ती प्रश्नको उत्तरहरू दिन नलागी ध्यान अर्कोतिर मोड्न लागिपरेको जिकिर गरेका छन् ।
‘पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा’ शीर्षकमा स्थायी समिति बैठकमा एक लिखित धारणा प्रस्तुत गर्दै शर्माले आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको उल्लेख गरेको एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए ।
उनले शनिवारको बैठकमा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा सुरुमा खुमलटारबाट एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई प्रचण्ड प्रधानमन्त्री भएर बालुवाटार पुगेपछि थप तीव्रता दिइएको आरोप लगाएको ती सदस्यको भनाइ छ ।
‘उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टीलाई फुटतिर उन्मुख छ, कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो’, शर्माको धारणालाई उद्धृत गर्दै ती सदस्यले भने, ‘देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आम आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।’
यस विषयमा देशभरबाट दैनिक सयौँले फोन गरेर फुटबारे सोध्ने गरेको पनि शर्माले बताएका थिए । यो कुरा अन्य राजनैतिक दल, सुरक्षा निकाय र ब्यूरोक्रेसीसमेतमा चासोको विषय बनेको भन्दै शर्माले यसमा स–साना अन्तर्विरोध समाधान गर्न झन् ठुलो अन्तर्विरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको आरोप लगाएको ती सदस्यको भनाइ छ ।
शर्माले विभिन्न समयमा आफूले लिएको अडान र प्रश्नकै कारण आफूविरुद्ध अनेक हल्ला चलाइएको जिकिर गरेको ती सदस्यको भनाइ छ ।
शर्माले आठौँ महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर महाधिवेशनको महत्वलाई हलभित्रै समाप्त पारेको सम्बन्धमा प्रश्न गरेका थिए ।
यस्तै पार्टीलाई विधि र पद्धतिमा लैजाने सङ्कल्पको रूपमा आयोजना गरिएको विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अस्वीकार गरिएकोबारे पनि त्यतिबेला प्रश्न गरेका थिए । सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन त कहिले वर्षमानकाविरुद्ध गरिएका दुश्प्रचारसम्बन्धी प्रश्न, प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्तिको प्रयोग गर्न खोजेको बारे प्रश्न, पार्टीभित्र विभिन्न तहका नेताहरूलाई जुटाउन हैन फुटाउनको लागि गरिने मेहेनतबारेको विभिन्न समयमा प्रश्न गर्दा आफूविरुद्ध दुष्प्रचार गरिएको धारणा शर्माले राखेको ती नेताको भनाइ छ ।
यस्तै नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको, सरकारको गठबन्धन बारम्बार फेरिरहेकोबारे गरिएको प्रश्नमा पनि प्रचण्डले नरुचाएको शर्माको धारणा थियो ।
प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट फेरबदल गर्नेसम्मको प्रश्न पनि शर्माले उठाएका थिए । जसबारे समीक्षा, स्पष्ट छलफल, आलोचना–आत्मालोचनातिर नलागी पार्टी फुट्दैछ भनेर आम पङ्क्तिलाई भ्रमित गर्ने, त्रसित गर्ने, सांसदहरुले आफूविरुद्ध विरुद्ध हस्ताक्षर गरिसके भनेर अफवाह फैलाउने जस्ता गतिविधिले पार्टी र नेतृत्वलाई नै ठुलो क्षति पुर्याइरहेको शर्माले धारणा राखेको ती सदस्यको भनाइ छ ।
‘शंकाले लंका जलाउने, चियाको कपमा तुफान सृजना गर्ने भनेझैँ पार्टीलाई नै क्षति हुनेगरी सार्वजनिक रूपमा भ्रम सृजना गर्ने, मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पङ्क्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ?’ शर्माको प्रश्न छ । यसबारे गम्भीर समीक्षा हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण