शुक्रबार, २८ भदौ २०८१
ताजा लोकप्रिय
संगीत

छवि सुधारेका दुर्गेश फिल्मतिर लम्किन खोज्दै

आइतबार, २७ साउन २०८१, २० : ४५
आइतबार, २७ साउन २०८१

काठमाडौँ । ‘दुर्गेश जति बिग्रिनु बिग्रियो, अब सुध्रियो,’ केही दिन अगाडि एक कार्यक्रममा गायक दुर्गेश थापाले भनेका थिए । ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक गर्दै उनले आफू सुध्रिएको दाबी गरे ।

तिजलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो गीतको शब्द, तथा भिडियोमा दुर्गेशका विगतका गल्ती (द्विअर्थी शब्द र अश्लिल भिडियो) दोहोरिएको छैन । कति कन्ट्रोभर्सी गरेर चर्चामा रहनु, अब त सकारात्मक सन्देश दिनुपर्छ भनेर यो गीत ल्याएको हुँ,’ दुर्गेशले ‘झुम्का हरायो’ गीत ल्याउनुको उद्देश्य प्रस्ट पार्दै भनेका थिए ।

‘आफ्नो गीत परिवारका सदस्यसँग बसेर हेर्न मिल्दैन भने त्यस्तो सिर्जना गर्नु उचित रहेनछ’, उनले भने, ‘म सुध्रिनुमा विवाह, बच्चा र पारिवारिक वातावरणको हात छ ।’

पहिले अल्लारे र अविवाहित भएकाले पनि गल्ती दोहोरिएको उनले बताए । ‘झुम्का हरायो’मा दुर्गेशकै शब्द र सङ्गीत छ । स्वर भने पशुपति शर्मा र शान्तीश्री परियारको छ ।

गीतको भिडियो दुर्गेशले नै निर्देशन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दुर्गेशले अभिनेत्री प्रियंका कार्कीसँग र मोडल तथा तिब्बती गायक पेमा लामाले अभिनेत्री गरिमा शर्मासँग कम्मर मर्काएका छन् ।

विगतमा दुर्गेशको तिज गीत आउँदा विवाद निम्तिन्थ्यो, नकारात्मक टिप्पणी र आलोचना थुप्रै हुन्थ्यो । यो पटक त्यस्तो केही नहुँदा चर्चा भएन कि भन्ने लाग्न सक्छ । तर उनको गीतको चर्चा र भ्यूज राम्रो छ । कतिपयले त दुर्गेशले पनि राम्रो गीत बनाउँदो रहेछ भनेर आश्चर्य प्रकट गर्दै प्रशंसा गरेका छन् ।

‘राम्रो गीत बनाएपछि आफैँ चल्दोरहेछ । यसले आत्मबल बढायो’, उनले भने, ‘नराम्रोभन्दा राम्रो कारणले चर्चा आउनु ठुलो उपलब्धि रहेछ ।’

आफूले राम्रो सिर्जना चल्छ कि चल्दैन भनेर जान्नका लागि गरेको प्रयोग सफल भएको दुर्गेशले सुनाए । उनले भने, ‘बिच्च बिच्चमा–७ ल्याउने तरखरमा रहेकाले मैले यो गीतमा स्वर नदिएको हो । नत्र म आफैँ दिन्थेँ ।’

दुर्गेश परिवर्तन भयो भन्दा धेरैले शङ्का गर्न सक्छन् । उनी भने अब बिग्रिएर के गर्नुछ र भन्छन् । ‘बिग्रिएर जेल, नेल भोगियो । अब बाँकी के छ र ?’, उनले भने, ‘वर्षमा ५ गीत नचलोस्, केही छैन । अब राम्रो गीतमात्र गर्छु ।’

राम्रो गीत एउटा चल्दा केही वर्ष गायकलाई पुग्ने उनको बुझाइ छ ।

गायक बन्न काठमाडौँ छिरेका थिए दुर्गेश

IMG_6477

दुर्गेश २०६२ सालमा गायक बन्ने हुटहुटीले बागलुङबाट काठमाडौँ छिरेका थिए । गाउँमै गायक बसन्त थापा, विष्णु खत्रीलगायतसँग संगत गरेका उनलाई त्यही संगतले गायक बन्ने रहर जागेको थियो ।

काठमाडौँमा केही वर्ष सङ्घर्ष गरेपछि २०६६ मा उनले एउटा गीत बनाए ‘माया लाएर के भो, कसम खाएर’ ।

त्यो समय अडियो क्यासेटको जमाना भएकाले अडियो कम्पनीले विमलराज क्षेत्री, खुमन अधिकारी राखे गीत चल्छ भनेर सुझाए । भिडियोमा खेल्ने आश गरेका उनको त्यो आश पनि पूरा भएन ।

त्यसपछि डान्स सिक्ने, कोरस नाच्ने गरेका उनलाई ४/५ सय गीतमा कोरस डान्स गरेपछि मोडल बन्न मन लाग्यो । गायक रामचन्द्र काफ्लेको एक गीतमा ५० हजार लगानी गरेर उनले अभिनय गरे । त्यो गीत तथा भिडियो दुवै हिट भयो । टेलिभिजन लगायत सबैतिर बज्न थालेपछि उनी गाउँदेखि सहरसम्म चिनिए ।

त्यसपछि उनले लोकदोहोरी गीतको म्युजिक भिडियो अभिनयमा तिरन्तरता दिए । अहिलेसम्म ३ हजारभन्दा बढी म्यूजिक भिडियोमा उनले अभिनय गरिसके ।

भिडियो अभिनय चल्दै थियो, एक दिन एउटा मेलामा उनी जाँदा एक दिग्गज गायक गाइरहेका थिए । उनको गीत सबैले शान्त भएर सुनिरहेको दुर्गेशले देखे । दुर्गेशले भने, ‘त्यो समय मलाई लाग्यो– मेला महोत्सवमा मानिस रमाइलो गर्न आउने हुन् । उनीहरूलाई गीतसङ्गीत मार्फत उफार्नु, नचाउनुपर्छ ।’

दुर्गेशले अडियन्सलाई उफार्ने र नचाउने उद्देश्यले पहिलो गीत ‘मुद्दा हाल्दिन्छु’ बनाए । उनले भने, ‘गीतमा बबाल प्रस्तुति हुनुपर्यो भनेर हनी सिंह, जस्टिन बिबरको धेरै कन्सर्ट हेरेँ ।’

‘मुद्दा हाल्दिन्छ’, गीत एउटै स्टेजमा १७ चोटीसम्म फर्माइसमा पर्यो । त्यसपछि उनले गीतसङ्गीतले राम्रो हुँदारहेछ भनेर ‘यो यो दुर्गेश थापा’, ‘कि दुर्गेश रेलमा कि जेलमा’, ‘रातोरातो खुर्सानी पिरो छ’, ‘डन आयो डन हिट’, ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’, ‘बमबम भोले’ जस्ता गीत ल्याए ।

यी सबै गीतले दुर्गेशलाई विवादित बनाउँदै चर्चा दिलाइरह्यो । सबै गीत हिट भएपछि उनी कार्यक्रममा पनि व्यस्त हुन थाले ।

दुर्गेशले भने, ‘जोसको तालमा नयाँ नयाँ गीत बनाउँदा विवादमा परिरहेँ ।’ जब विवाह भयो, बच्चा भयो । भोलि छोराले बाउ यस्तो नभएको भए हुन्थ्यो, किन यस्तो भयो होला भन्छ कि भनेर सोच्न थालेपछि आफूमा परिवर्तन आएको उनले बताए ।

अबको लक्ष्य हिरो

A7M07817

गायक बन्न काठमाडौँ छिरेका दुर्गेश यतिबेला गायक र मोडलको रुपमा चर्चित छन् । अबको उनको लक्ष्य फिल्मको हिरो बन्ने हो । त्यसको लागि तयारी पनि गर्दैछन् । हिरोका लागि केही फिल्मका अफर पनि छन् उनीसँग । डेब्यु गरिहाल्न उनलाई स्क्रिप्ट चित्त बुझिरहेको छैन रे ।

‘दुर्गेश गीतसङ्गीत र मोडलिङका लागि एउटा ब्राण्ड हो । फिल्ममा पनि यस्तै ब्राण्ड कायम राख्ने इच्छा छ’, उनी भन्छन्, ‘अहिले बजारमा आएकाभन्दा भिन्न खालको फिल्म खेल्छु ।’

दुर्गेशको भन्ने बित्तिक्कै हरेकको मनमा एक किसिमको छाप पर्ने खालको हिरो बन्ने इच्छा रहेको उनले सुनाए ।

आफ्नो इच्छा अनुसारको फिल्म अफर आए बाहिरको प्रोजेक्ट र नत्र आफैँ निर्माण गरेर पनि फिल्ममा अभिनय गर्ने सोचमा छन् उनी ।

‘विवादै भए पनि मेरो गीत आउँदा एकपटक हेर्नुपर्छ भन्ने सबैमा हुन्छ’, उनले थपे, ‘फिल्म पनि त्यस्तै हुनेछ ।’

डान्समा पहिलेदेखि नै परफेक्ट उनी फिल्म अभिनय फाइनल भएपछि कम्तीमा एक वर्ष अन्डर ग्राउण्ड बस्छन् रे । कारण खोल्दै उनले भने, ‘फिल्मका लागि सबै प्लानिङ गरेर आउँछु । भिडियोमा देखिएको दुर्गेश र फिल्मको दुर्गेश फरक हुनुपर्‍यो नि ।’

फिल्ममा पनि संगीत

IMG_2662

फिल्म अभिनय डेब्यु गर्ने सोचका दुर्गेश फिल्मकर्ममा भने केही वर्ष अगाडि ‘छ माया छपक्कै’ मार्फत जोडिएका थिए । यो फिल्मको प्रमोसनल गीत ‘बिच्च बिच्चमा’ उनले तयार गरेका थिए । त्यसपछि ‘ए मेरो हजुर २’का लागि उनले एक गीत बनाए ।

अहिले भने ‘ह्रस्व दीर्घ’का दुई गीत बनाएका छन् । गीतसङ्गीतका लागि अफर धेरै आए पनि ब्राण्डका फिल्ममा मात्र आफू जोडिँदै आएको दुर्गेशले बताए ।

‘फिल्म चल्नुमा ५० प्रतिशत मेरो गीतले काम गरोस् भन्ने लाग्छ’, उनले भने, ‘थोरै गरौँ, राम्रो गरौँ । मेरो कोसिस रहन्छ ।’

‘ह्रस्व दीर्घ’मा प्रमोसनल र भजन एक–एक गीत बनाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप